जेलबाट रिहा भएका यादवलाई पार्टी कार्यालयमा गरियो स्वागत

जेलबाट रिहा भएका यादवलाई पार्टी कार्यालयमा गरियो स्वागत

काठमाडौं । झुठा मुद्दामा २ बर्ष २ महिना जेल सजाय काटेर रिहा भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तत्कालीन मधेस प्रदेश सदस्य तिर्थ नारायण यादवलाई पार्टी कार्यालय कुपण्डोल ललितपुरमा भव्य स्वागत गरिएको छ । पार्टी महासचिव सीपी गजुरेल गौरव र स्थायी समिति सदस्यहरुको उपस्थितिमा खादा लगाइदिएर भव्य रुपमा स्वागत गरिएको हो ।

महोत्तरीको बर्दिबास–१०, खैरमारा निवासी यादवलाई लागू पदार्थको झुठा मुद्दामा फसाइएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पोलिटब्यूरो सदस्य महेश यादवले दिएको जानकारी अनुसार तिर्थ नारायण यादवलाई झुठा मुद्दामा फसाउने नेपाल प्रहरीका तत्कालीन डिएसपी नहकूल पोखरेल हुन् ।

डिसएपी पोखरेलले निज तिर्थ नारायण यादवसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि डिएसपी पोखरेलमाथि प्रहरी संगठनले कारबाही समेत गरेको थियो । उनलाई सोही मुद्दामा डिएसपीबाट घटुवा गरेर इन्स्पेक्टर बनाइएको थियो । तर उनका काका तत्कालीन नेकपा (माओवादी) केन्द्रका नेता गिरिराजमणि पोखरेलका कारण छाटो समयमै पुनः डिएसपीमा बढुवा भएर महोत्तरी जिल्लामा नै पुगेका पोखरेलले प्रतिशोधपूर्ण रुपमा षड्यन्त्र गरी तिर्थनारायण यादवलाई झुठा मुद्दामा पक्राउ गरी जेल पठाएका थिए । उनले त्यसअघि विभिन्न षड्यन्त्र गरी इन्काउन्टर समेत गराउने कोशिस गरेको दावी पनि यादवले गरे ।
रिहा भएका तिर्थनारायण यादवले पुनः पार्टी आन्दोलनमा जोडिएर पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।