गोप्य कोठा

गोप्य कोठा

लघुकथा

कार्यालय प्रमुखले कर्मचारीहरूको आपतकालीन बैठक बोलाए । उनीहरूको मनको आकासमा उत्सुकताको बादल लाग्यो । उनीहरू एक एक गरी कार्यालयको सभाहलमा दाखेल भए ।

बैठक सुरु भएको उद्घोष गर्दै प्रमुखले भने, ‘आज मैले अपर्झट बोलाउँदा तपाईंहरूलाई आश्चर्य लागेको होला । अहिलेसम्म हामीले कारोबार गरेको बैंकले राम्रो प्रतिफल नदिएकाले मैले बैंक परिवर्तन गर्ने निर्णय गरेको छु । अब तुरुन्त अर्को बैंकमा तलबी खाता खोल्नु होला । यही भन्न बोलाएको हुँ ।’

‘त्यो बैंकसँग कारोबार गरेको ६ महिना त हुँदै छ । सेवा सुविधा पनि राम्रै दिएको छ । छ महिनाअघि यसै भनेर नयाँ खाता खोल्न लगाउनु भयो । कतिवटा बैंकमा खोल्नु खाता पनि ।’ एक कर्मचारीले प्रतिवादको शैलीमा आफ्नो मन्तव्य व्यक्त गरे । उनको भनाइमा सबैले जोड जोडले ताली पड्काए ।

अर्काले पनि उठेर भने, ‘सबै बैंकहरूले सेवा शुल्कका नाउँमा रकम असुल्छन् । तलवले भात खानु कि बैंकलाई पोस्नु ? कारोबार हुँदै आएको बैंकको भन्दा अहिले खाता खोल्ने बैंकको सेवा शुल्क निकै चर्को छ र सेवा सुबिधाको स्तर भने निकै कमजोर ।’

फेरि जोड्ले ताली पड्कियो । तर पनि कार्यालय प्रमुखलाई कुनै असर गरेन । उनले पहिले भन्दा कड्केर भने, ‘तलब चाहिए मैले भनेको बैंकमा खाता खोल्नु होला । मेरो फाइदाको लागि मैले यसो गरेको हो र ? नयाँ बैंकमा खाता खोलेर मलाई केही लाभ छैन । मैले बैंकका स्टाफलाई बोलाइदिएको छु । उनीहरूले खाता खोल्ने, फारम भर्ने तरिका सिकाउने छन् ।’ यति भनेर उनी आफ्नो कोठामा पसे ।

बैंकका स्टाफहरू बैठक हलमा पसेर कर्मचारीहरूलाई फाराम वितरण गर्न थाले । उनीहरू नयाँ खाता खोल्ने कि नखोल्ने भनेर आपसमा सल्लाह गर्दैथिए ।

कार्यालय प्रमुख र बैंक म्यानेजर भने अङ्कमाल गर्दै गोप्य कोठाबाट बाहिरिए ।
बागमती ११, कर्मैया, सर्लाही