गाउँको हावा
बारीको माटो छाडेर
सपना बोकेर
सहर आएकी थिएँ
सुखको भविष्य खोज्न
समानताको घर खोज्न
तर सहरले पहिचानै फेरिदियो
तँ त सुकुम्बासी पो भन्छ
हावा पनि कहिलेकाँही
विभेदको स्वर सुसेल्छ
संसार झनै मिठो भयो
तर जमीन भने अरुको रह्यो ।
हर समय खोलाको डर
राति निदाउन खोज्दा
बाढीको आवाजले तर्साउँछ
तर बिहान फेरि उठ्छु
आफुु जस्तै छिमेक हेर्छु
छोराको अनुहार हेरेर नयाँ साहस जन्मिन्छ
सासुको कठोर बोली
समाजको अपमान
म त सुकुम्बासी तर कमजोर होइन
टिनको छानो मुनि
मेरो आत्मसम्मान र सपना जिबित छ
म गाउँबाट आएकीले
सहरमा पनि माटो खोज्दै छु
जहाँ म भन्न सकूँ यो मेरो घर हो
परन्तु आज त्यही सुकुम्वासी बास
उजाडिदियो एउटा क्रुर हावाले
हावा डोजर लिएर आएको थियो
हुकुमवासी सिंहदरबारबाट ।
(इच्छुक अङ्क १३ बाट)



























