इतिहासको नयाँ पुनरावृति
भोका प्रजाहरूको नयाँ शासक
सुनको थालमा भुजा ज्युनार गरेर
गद्दी बैठक पस्दै हरेकदिन
दुनियादारका दुःखमाथि मजाक उठाउँछ
आफ्ना भाइभारदारको राय माग्दैन
भारदारी सभाको ख्याल गर्दैन
न बक फुट्छ न विवेकको परख हुन्छ
हुक्के, बैठके, चौतरिया तँै चुप मै चुप
केवल आदेश
आदेशमाथि आदेश ।
श्रमिकको पसिनाभन्दा सुन्दर मान्छ
खोलाको बगर
बगरमा गूँड थापेका चराहरू
कुरुप हुन उनका श्यामनयनमा
चित्कार सुनिने कान थुनेर
भोकाहरूको मुख थुनेर
रविनहरूको रगतमा सम्बेदनाहीन नीरो
जसले दिएको मानु खायो
उसैमाथि लाठी बजायो
युवाहरूको मस्तिष्कमा घुन उमार्न
चेतनाको मुहानमा बिर्को लगायो ।
आलीशान अट्टालीमा रम्दै
थार मरुभूमिको सौन्दर्य रोज्छ
उधारोमा पजनी बुझेको
मधुमास नपुग्दै
बेलगाम घोडा कुदाउँदै हाँसिरहेछ
नयाँ शासक वीरनरसिंह दुई ।
हिजो शहर झकमक पार्न भन्दै
हरेकदिन निस्कन्थे जुलुश
राता टोपिका
काला टोपिका
पँहेला दौरा सुरुवालका
शहरको अँध्यारो निखार्ने मुखमा
आज ताल्चा लागेको छ
जङ्गी ओदेशको उत्ताउलो रागले
टुँडिखेलमा जङ्गेको घोडा पक्रने
मदभोगी जस्ता हनुमानहरू
आँखा चिम्लिएर गाइरहेछन्
वीरनरसिँह चालिसा
उठ बुझ भोकाहरू
विवेक भरिएका पोकाहरू
हिटलरी जग भत्काउन अबेर नगरौँ ।






























