बुटवल । बुटवलमा हजारौँ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गरेका छन् । वालेन्द्र शाह नेतृत्वको सरकारले आवश्यक तयारी र छलफलबिना भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्याएको उनिहरूको आरोप छ ।

‘डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर, गाँसबासको व्यवस्था गर, जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, गाँस, बास र कपासको सुनिश्चित गर, बालेन सरकार राजीनामा दे’लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा रुपन्देहीको बुटवलसँगै, देवदह, तिलोत्तमा, सैनामैना, सियारी, शुद्धोधनलगायतका पालिकाबाट भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सहभागी छन् । राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली मिलनचोक–अस्पताल लाइनहुँदै ट्राफिक चोकमा पुगेर कोणसभा गर्ने बताइएको छ । रुपन्देहीमा झण्डै ८० हजार घरपरिवार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको तथ्यांक रहेको छ ।






























