शनिबारीय साहित्य : कविता

*** *** 

एक आदिम कथा

ढाईसय वर्ष पुरानो

चोरऔला ठडाउँदै ठिङ्ग उभिएको

चौराहामा देखिन्छ कहीँ कतै र

झसङ्ग हुन पुगिन्छ

साथमा आउँछ

अर्को एक अजव मनुवा

सताब्दी पार हुँदा पनि

मान्छे बन्न नसकेको

बिष्टका आगनमा बसेर

हातेकल घुमाइरहेको

नगर्ची बिसे वा

बिसे नगर्ची एक किम्बदन्ती मनुवा ।

 

बिते असंख्य वर्षहरू बडो बित्तासले

के थियो चोरऔलाको माने

जो बादशाहले ठडाएको देखिन्छ

विभूतिहरूको लाममा बसेर

संकेत हो रूपपे दानको वा एकता

एकादेश, वा एकछत्रराज

बिना उत्तर

ढल्न पुग्यो बादशालको

कहिल्यै नअस्ताउने

अजरअमर सुनको सिंहासन ।

 

निकैै दु:खले आज्र्याको मुलुक हो यो

र त्यसरी नैै समय गुजार्यो यसले

चेतना भयाको आडम्बर सहित

यी कथित महावाणीहरू रटाउँदै

चेतनाको चक्रब्यूहमा फस्यो आफै

र धामलाई छोप्न खोज्यो हत्केलाले

एक्लै सवार हुन खोज्यो घोँडामा

रोप्यो बिउ आगोको र मलजल गर्‍यो

सिंचाई गर्‍यो रगतको र ब्याड लगायो

सुखानी छिन्ताङ्गका आगनहरूमा

धिमाल राजबंशीहरूका दुधेसन्तान

र अवलाहरूलाई,

कोक्रो सहित जीउँदै जलायो

खेति गर्‍यो खरानीको र

गोमाहरूको जीवनलाई नर्क बनायो ।

 

रानी—महारनी र कुमारहरूको

जयजयकारमै बिते यी वर्षहरू

खोपी, कोठी, बार्दली र बैठकीहरूमा

धाई, सुसारे र पीपा अर्दलीहरूको

तछाड मछाडमै बिते सताब्दी

पाउधुली, गोडधुली, भोजन, पास्नी

लहरै सिडीमा उभिएर

जयगान गाएरहेका सुसारेहरूका

नाङ्गा छातीको स्पर्षमै बिते वर्षहरू

कुमार, सुकुमार, नातिजर्नेल

रानी, मैयाँ र उनका कार्चोपीहरू

र तेलकाँशाहरूमा,

अत्तरको महक छर्दैमा

बिते होनहार समयहरू ।

 

इतिहास गवाह छ

मखमलको गादीमा बसेर

तर्क नगर्दा बेस होला

गमलामा गुराँस फुल्दा

हामी चुप बसेकै हो

बञ्जरभूमिमा एकै रातमा

मखमली गोदावरी हुर्किएर

सपनाको खेति सजिएको पनि देखिएकै हो

र देखिएको हो देशको सम्पदा

गौरव र धरोहरहरू

उखेलिएर विदेशी अजायवघरहरूमा

बडो सानले सजिएको समेत ।

 

यो देश बक्सिस, निगाहको न हो

नढाटी भन्ने हो भने

तथास्तुको भरमा बाँचेको सताब्दी देखि

ख्वामित, प्रभु, सरकार

दर्शन, जदौ र साष्टाङ्ग दण्डवत

जो इच्छा वा स्वस्तीमा पालिएको

आधा आकाश,

आमाको चीरहरण गर्दै

पाउको जल खुवाउँदै

रखैल, वेश्या, पात्तर र भित्रिनीहरू

बनाउँदै आफ्नै दिदीबहिनीलाई

कोठामा सजाएर

देवीको आराधना गर्दै आएको

मुर्कुट्टाहरूको देश न हो यो ।

 

निकै नमिठो लाग्दछ आत ओकल्दा

तर नि भन्नै पर्ने हुन्छ

तक्मासंग रगत साटेर

बोर्नियो, मलायाका वादीहरूमा

सिउँदो पुछेको देश हो यो

अरूलाई घाम अस्ताउन नदिएर

आफू सदैव अध्याँरोमा

छटपटाउने पनि त हो यो देश

भर्तिको लाइनमा फाईलिङ्ग भएर

देशको रगतलाई

कार्गिल—फकल्याण्डका बगाएर

सन्दुकमा सजिएर मृत्योभिलेख सहित

फर्किने पति त हो यो देश ।

 

कहाँ पुग्यो हँ ? बिसेको कुरो

कहीँ पुगेको छैन,

सताब्दी देखि बिसे यहीँ छ

कर्नेल, नातिजर्नेलहरू

र बाबुसाहेबहरूका भोटा सिलाउँदै

पीडिमा बसेर सुर्के टोपीमा उनिएको

सियोमा धागो छिराउँदैै

दर्शन, स्वस्तीको जयगान गाउँदै

बर्जुको लोटाको टुटीको पानी

अञ्जुली थापेर पिउँदै

बिसे त यहीँ छ त आज पनि

एकलाई सहिदको बिल्ला भिराएर

अर्कोलाई उँटको खेदोमा पठाएर

बुहारीलाई शेखको सुसारमा खटाएर

आफू टुपुक्क पुगेर बिष्टको घरमा

भागबाली थापेर

नाति हुर्काई रहेको छ बिसेले ।

 

तर बिडम्बना,

रहेनन् बादशाह र उनको तवेला

रहेन सुनको कारचोपी र बंशका हाँगाहरू

रहेनन् दरवार, बुर्जा र शिरपोशहरू र कोठीहरू

रहेनन् कुमार, सुकुमार र सानहरू

रहयो त केवल

उही चौरऔंलो

सैनिकको चौघेरामा घेरिएर

रूपपेदानको याचना गरिरहेको

ठिङ्ग उभिएर ।

प्रतिक्रिया

सम्बन्धित खवर