अप्रेशन पाथिभरा

शनिबारीय साहित्य : संस्मरण

*** ***

२०६२ पुसको दोस्रो र तेस्रो हप्ताको बीचमा केन्द्रीय आधारइलाका अन्तर्गत रोल्पा, रुकुम र सल्यानका केही गाजसहरूलाई केन्द्रविन्दु बनाई शाहीसेनाले ‘अप्रेशन पाथिभरा’ सन्चालन गरे । विगतमा गरिएका अप्रेशनहरूझैँ यसपटक पनि विभिन्न उद्धेश्यहरू लिएर आएको थियो ऊ ।

पहिलो, ज्ञानेन्द्र शाहीद्वारा घोषणा गरिएको नगरपालिका निर्वाचन सम्पन्न गर्नु थियो । त्यसका लागि माओवादीको आधारइलाका राजधानी मानिएको यस क्षेत्रलाई व्यापक अप्रेशनद्वारा तहसनहस बनाई काठमाडौंमा निर्वाचन सम्पन्न गरेको नौटङ्की देखाउनु थियो ।

दोस्रो, ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ माओवादी योजनाको सम्पूर्ण तयारी माओवादीले यही क्षेत्रमा गर्छ भन्ने उसको बुझाई थियो, त्यसलाई बिथोल्नु । त्यसरी नै पश्चिम जनमुक्ति सेनाको सिङ्गो शक्ति पनि यही बाटो हुँदै गण्डक जाँदै थियो । यही वास्तविकतालाई बुझेर सम्पूर्ण तयारी विथोल्ने । जनमुक्ति सेनालाई यहीँ भिडाएर अल्मल्याउने तथा गोलाबारुद खर्च गराउने । मनोवल गिराउने वा सम्पूर्ण फौजी योजना नै असफल तुल्याउने थियो ।

तेस्रो, बेनी कारबाहीसम्म आउँदा शाहीसेनाको मनोवल गिरेको थियो । यसलाई माओवादी आधारइलाकामा हवाई र जमिन अथवा हर युद्धट्क्याक्टिस प्रयोग गर्दै हामी जहाँ पनि पुग्न सक्छाँै भन्ने मनोवैज्ञानिक प्रभाव बढाएर गिरेको सेनाको मनोवल उठाउने ।

चौथो, माओवादी नेतृत्व बढी चलखेल गर्ने रोल्पा रुकुमका केही क्षेत्रहरू घेरावन्दी गर्ने । सम्भव भए कब्जा गर्ने, साथै नयाँ सत्ताद्वारा निर्माण हुँदै गरेका विकास निर्माणका कामलाई नष्ट गर्ने । जस्तो वहुचर्चित सहिदमार्ग, कृषि तथा सहकारी, स्वास्थ्य सम्पर्क कार्यालयहरू, निवास घरहरू कब्जा गर्ने, आगो लगाउने, ध्वस्त गर्ने र लुट्ने । अन्तत: जनतामा मनोवैज्ञानिक प्रभाव पारी विचलन पैदा गर्ने । यिनै विभिन्न उद्धेश्य लिएर यो अप्रेशन चलाइएको थियो ।

यता नेकपा माओवादीको केन्द्रीय समितिको यही २०६२ असोजको पूर्ण बैठकले पारित गरेको नयाँ फौजी कार्यनीति ‘ढाडमा टेकेर टाउकामा हान्ने’ योजनाले व्यापक चर्चा पाइसकेको थियो । हामी ढाडमा टेक्न गण्डक जाँदैछाँै । टाउको भनेको काठमाडौं हो, अब हामी नारायणहिटी हान्न जाँदैछौँ, भन्ने हाम्रा भाषणहरू जनता र पत्रकार माझ गइसकेको थियो । विभिन्न मिडियाहरूले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी योजनालाई विभिन्न ढङ्गले व्याख्या विश्लेषण गरिरहेका थिए । शाहीसेना पनि डा.तुल्सी गिरीकै भाषामा माओवादीको ढाड भाँच्न अग्रिम मोर्चामा आउन तम्सियो । जसका लागि हालै पार्टीले घोषणा गरेको राप्ती क्षेत्र केन्द्रीय आधारइलाका अन्तर्गत रोल्पा, रुकुम, सल्यानका सीमित गाजसहरूलाई केन्द्रबिन्दु बनायो ।
जनमुक्ति सेनाले गरेको खारा कारबाही पछि शाहीसेनाले ‘अप्रेशन खारा’ सन्चालन गरेको थियो । दस महिनाको अन्तरालमा त्यस पछिको अर्काे अप्रेशन थियो यो ‘पाथिभरा अप्रेशन’ । रोल्पा, रुकुम, सल्यान, दाङ, जाजरकोट, चितवन, काठमाडांै, नेपालगञ्जसम्मका चौवीससय शाहीसेना उक्त अप्रेशनमा परिचालित थिए । पश्चिम पृतनापतिको कमाण्डमा दर्जनौ टास्कफोर्स गठन गरी हवाई र जमिन दुवै बाटोबाट फिल्डमा उत्रियो ।

पुस ९ गतेबाट शाहीसेनाले आफ्ना हर्कत सुरू गर्‍यो । रोल्पाको ह्वामा, धवाङ हुँदै मिरुलको धर्मिर लेखतर्फ एउटा डफ्फा परिचालित भयो । अर्को डफ्फा माडीचौर भावाङ हुँदै राङ्सीतर्फ अगाडि बढ्यो । त्यसैगरी रुकुमको रुकुमकोट हुँदै महत, चुनवाङतर्फ अर्को थियो भने चौथो डफ्फा हेलिकप्टरबाट काँक्रिमा झारियो । यो पनि थवाङको सहकारी, कृषी वननर्सरीहरू लुटपाट र आगजनी गर्दै कुरेली फुलबारी आइपुग्यो । अर्को सल्यानको कालाखेत दमाचौर हुँदै जिनावाङबाट ओततर्फ आयो । त्यसैगरी रुकुम खाराको सेना पाछावाङ रातामाटा टावरमा आई गाउँमा अप्रेशन गर्‍यो । त्यसैगरी दाङबाट हिँडेको अर्को डप्फा नुवागाउँ हुँदै गैरीगाउँतर्फ बढ्यो । ठिक त्यसैबेला गैरीगाउँको दुम्लामा जनमुक्ति सेनाले शाहीसेनाको उक्त डफ्फामाथि भीषण हमला गर्‍यो ।

भिडन्तहरू थुप्रै हुने गरे पनि दुम्ला भिडन्त शाहीसेनाका लागि पहिलो हुन गयो । लडाइँहरू बेनी, अर्घाखाँची, खारा तथा ठूल्ठूला हवाई र जमिन मोर्चा नभएका होइनन् । तर, दिनको उज्यालोमा ५ घण्टा हवाई र जमिन आक्रमण प्रत्याक्रमण हालसम्मको सबैभन्दा ठूलो र पहिलो मोर्चा थियो । तीनवटा हेलिकोप्टर र एक जासुसी विमान गैरीगाउँको आकाशमा उड्दै बर्षाको पानीझैँ एचएमजीका गोलिहरू बर्षाइरहे । प्रत्येक मिनेटमा ८१ एमएमका गोलिहरू गैरीगाउँको पाखामा पड्किरहे । जनमुक्ति सेनाका योद्धाहरूले नयाँ र उच्च सैनिक ट्याक्टीसको प्रयोग गर्दै लडाइँ जारी राख्यो । दुस्मनतर्फ मारिने र घाइते हुनेहरूको सङ्ख्या थुप्रै देखिन्थ्यो । लाश र घाइतेहरू ३/३ वटा हेलिकोप्टरबाट लतार्दै घिसार्दै लगेको स्पस्ट देखिन्थ्यो । लडाइँकै बीचमा जनमुक्ति सेनासँगै रहेको प्रतिरोध कलाकारका योद्धाहरूले अडियो भिडियो रेकर्ड गरिनै रहे । प्रत्यक्ष लडाइँ चलिरहँदा भिजुअल सिन ल्याउन कठिन कुरा हो तर त्यस्तोबेला फायर एण्ड मुभको तरिकाले जनमुक्ति सेनाको भिजुयोल खिच्नु पर्ने हुन्छ, त्यसै गरियो ।

तिलादेखि घर्तीगाउँसम्मको सहिदमार्ग भर्खरै जनसमुदायले खन्दै थिए । बाटो निर्माणमा जुटेका जनसमुदाय र टाढा टाढा गाउँका जनता पनि त्यसदिनको लडाइँ सुन्न कान ठाडठाडा पारेर माथि उक्ले । उक्त भीषण आक्रमणका समयमा शाहीसेना तर्फ पाँच/छ जना घटनास्थलमै सोत्तर भए भने दर्जनौँ घाइते भए । दुस्मनका विरुद्ध साहसिक हमला गरिँदा प्रतिबद्ध बहादुर एवम कुशल कम्पनी कमाण्डर क.मनोजलगायत चारजना होनहार योद्धाहरूको सहादत भयो । दुम्लाको पाखामा उहाँहरूको रक्तिम विरगाथा कोरियो । पाँचजना अन्य कमरेडहरू घाइते हुनुभयो ।

जब दुस्मन चौतर्फी प्रवेश गर्छ तब उसको किनार र कमजोर शक्तिमाथि हमला गरि ध्वस्त पार्नुपर्छ । माओको यही ब्याटल ट्याक्टिसको आधारमा जनमुक्ति सेनाले दुस्मनमाथि हमला गरि हायलकायल बनाइदियो । जनसमुदायले दुस्मनको हवाई हमलाप्रति आक्रोश व्यक्त गर्दै भने–‘पैसा कति लाग्छ हामी दिन्छाँै पार्टीले हेलिकोप्टर झार्ने हतियार किन्नुपर्‍यो ।’

यसरी चौतर्फी आधारइलाकामा भित्रिएको दुस्मनको आक्रामक डफ्फा दुम्ला आक्रमणले डिफेन्सिभ बन्यो । त्यसपछि शाहीसेनाको ध्यानाकर्षण विकास निर्माण, सहकारी, कृषि, स्वास्थ्यतर्फ मोडियो । व्यापक लुटपाट, आगजनी र ध्वंस गर्ने क्रममा इरिवाङको बागमारा सहकारी पसलबाट करिब एक लाख चौध हजार बराबरको रकम र खाद्यान्न, थवाङको सहकारीबाट साठी हजार नगद लग्यो । थवाङमै क्षेत्रीय उद्योगको स्वरुमबाट उन्नाइस हजार बराबरको खाद्य सामग्री लुट्यो । त्यस्तै सहकारी पसलबाट दुई लाख पचास हजार बराबरको सामान, थवाङको मकेवाङमा दुईवटा घर दुई लाख चालीस हजारको पाहाडी कागज, तीस हजारको कृषी फारम र बीस हजार नर्सरी पूरै नस्ट गर्‍यो । वन नर्सरीका दस हजार बेर्ना पूरै नस्ट गर्‍यो भने दुम्लामा दुई लाख बराबरको कम्बलहरू जलाइदियो । दुईवटा सोलार, एउटा जेनेरेटर इरिवाङको नाफेबाट सोलार प्लेट, ब्याट्री, ड्रम २०/२२ वटा, पाछावाङ सोलार ब्याट्रीलगायत २०औँ लाख जनधनको क्षति गर्‍यो । त्यस्तै खानेकुरा केही खायो बाँकी जलायो । केही खोलामा बगाएर नष्ट गर्‍यो । रुकुमको चुनवाङमा जनताका खसीबाख्राहरू गोली हानेर मारेर खायो । यसरी आधारक्षेत्रमा शाहीसेनाले व्यापक मात्रामा लुटपाट र नष्ट गर्ने कार्य गर्‍यो । कयौँ घरहरूमा बम हानेर ध्वस्त गरेको छ । यस बाहेक कुखुरा, बोका, घिउ, दही दूध कहिँ केही रहेनन् । ज्ञानेन्द्र शाहीको जङ्गली राजले देखाएको यो अमानवीय व्यवहारको पर्दाफास गर्नका लागि सम्पूर्ण मानवअधिकारवादी सङ्घ संस्थाहरूको ध्यानाकर्षण यहाँ हुन जरुरी छ ।

यसरी व्यापक लुटपात, आगजनी, आतङ्क र भय सिर्जना गर्दै अन्त्यमा सारा डफ्फा भावाङ, इरिवाङ, चुनवाङ, राङकोट, राङ्सी, घर्तीगाउँ हुँदै कुरेली र मिरुलसम्मको गन्तव्यमा केन्द्रित भई शाहीसेना १७/१८ गते तिर फिर्ता भयो ।

के पायो पाथिभरा अप्रेशनबाट ?

सर्वसाधारण जनतालाई कथित स्वास्थ्य उपचार गर्ने, छात्रवृत्ति वितरण, नागरिकता वितरण जस्ता कार्य गरेर कथित राहत दिन खोजे पनि त्यो हत्याराहरूको असली रूप जनताले राम्रोसँग बुझेका छन् । त्यो केवल उसको नौटङ्की सिवाय केही थिएन । जनतालाई बाटो खन्नबाट रोक्ने र जनताले उत्पादन गरेको कृषी सहकारी मत्स्यकेन्द्रहरू, स्वास्थ्य केन्द्रहरू ध्वंस गर्नुले उसलाई असली र नयाँ ढङ्गको आतङ्ककारी शाहीसेना नै हो भन्ने कुरा बुझेका छन् जनसमृुदायले । त्यतिमात्र होइन, जनताले गरेका विकास निर्माण ध्वंश गर्ने र उनीहरूलाई आर्थिक नाकाबन्दी गर्ने कुटिल षड्यन्त्रले जनतालाई झन् आतङ्कित बनाएको छ ।

अन्त्यमा, ‘अप्रेशन पाथीभरा’ले जुन उद्धेश्य बोकेको थियो त्यो पूर्णरूपमा असफल भयो । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ मिशन व्यावहारिकरूपमा अभिव्यक्त भइरहेको छ । नगरपालिका चुनाव असफल भइछाड्यो । सिङ्गो जनसमुदायबाट ज्ञानेन्द्रशाही र उसका भाडाका सिपाहीहरू एक्लिए । वास्तविक विकास बिरोधी, आतङ्ककारी, प्रजातन्त्र बिरोधी तानाशाही भूतको रूपमा जनताले शाहीसत्तालाई बुझेका छन् । जसको अन्त्यको लागि जनताको महासागर मैदानमा उत्रिँदै छ ।
२९ पुस २०६२