शनिबारीय साहित्य : बाल गीत
***
साना साना कमिलाको ताँतीलाई देखेँ
परिश्रमी कमिलाको साथीभाई भेटेँ
मिलिजुली एक भई काम गर्दा रैछन्
आफ्नो काम आफै गर्न अघि सर्दा रैछन्
फूल खोज्दै मह चुस्ने मौरीसम्म पुगेँ
आफ्नो आफ्नो काम गर्न पर्दोरैछ बुझेँ
परिश्रम गरेमात्रै मह बन्दो रैछ
पसिनाले समृद्धिको बाटो खन्दो रैछ
गुराँसको डाली देखेँ निकै खुल्दो रैछ
कैयौँचोटि लाछ्रिएर पनि फुल्दो रैछ
हामी पनि यसैगरी उठ्न सिक्नुपर्छ
सैयौँ पत्र भए पनि जुट्न सिक्नुपर्छ
पानी दिने खोलासँग भयो मेरो भेट
आफूलाई सुकाएर भिजाउँछ खेत
जता आफू जान्छ त्यतै हरियाली दिन्छ
खोला जस्तै बन्न सके निकै खुसी मिल्छ
दौड्नुप¥यो भन्दै उठेँ धर्तीमाथि टेकेँ
धर्तीलाई कुल्चिएर धर्तीबाटै सिकेँ
जति लात खाए पनि बाली झुलाइदिन्छ
धर्तीजस्तै बन्न सिकौँ दुःख भुलाइदिन्छ
आकाशका घाम जून कैल्यै भेट हुन्नन्
तर पनि आकाशमा पालैपालो घुम्छन्
हामी पनि आफ्नो काम कर्तव्यमा बाँचौँ
घाम जून माथि नाच्छन् हामी तल नाचौँ
२०८०/७/३० दाङ, तुलसीपुर