टोप्लाको लेखमा हराएका कमरेड एडनान

टोप्लाको लेखमा हराएका कमरेड एडनान

शनिबारीय साहित्य ः सहिदगाथा
***
पार्टीको कामलाई सबैभन्दा मुख्य विन्दुमा राख्ने जसरी भएपनि पुरा गर्नै पर्छ भन्दै निरन्तर कुशलतापूर्वक क्रान्तिपथमा समाहित सचेत बलिदानीको एक योद्धाको नाम हो नन्दराम आचार्य (क.एडनान÷क.पाठक) ।

जाजरकोट जगतिपुर गा.ज.स. वडा नं. १ कुकुराकोट बस्ने बाबु शिवलाल आचार्य र आमा चन्द्रकला आचार्यको गर्भबाट २०१८ साल पुस १० गते जन्मिनु भएका क. नन्दराम आचार्यका ४ भाइ २ बहिनी रहनु भएको थियो । निज पछाडिको भाइ रत्नलाल आचार्यलाई नरसंहारकारी २०५६ सालको किलो शेरा टुको अवस्थामा जेठ २९ गते स्थानीय सुराकीको पहलमा मटेलाबाट गिरफ्तार गरी पासविक तरिकाले हत्या गरेको थियो । २०३७ साल माघमा पुन्मा–३ बस्ने पुण्य कुमारीका साथ वैवाहिक सम्बन्ध कायम गरी ४ वटी छोरी सुमित्रा, तिला, सीता र यामकुमारी छन् भने १ छोरा हेमराज रहेका छन् । शिक्षाको हकमा आर्थिक विपन्नताका कारण २०३० सालमा शिवशंकर मा.वि.जगतिपुरमा भर्ना भई त्रिभुवन उच्च मा.वि. खलंगा, सितल उच्च मा.वि. चौरजाहारी रुकुम हुँदै मा.वि. खोला गाउँ रुकुमबाट १० कक्षा उत्तीर्ण गर्नु भएको थियो ।

राजनीतिक जीवनलाई नियाल्दा
जाजरकोट जिल्लामा कम्युनिस्ट प्रभाव परेको २०३७ सालदेखि नै तत्कालीन अखिल छैठौंको इकाइ सदस्य भई राजनीतिक जीवनमा सुरुवात गर्नुभएको थियो । २०३९ सालको भेलाद्वारा सोही सङ्गठनको जिल्ला समिति सदस्य हुनुभएको थियो । प्रतिकृयावादीहरूको आँखाको कसिङ्गरको रूपमा त्यतिवेला देखिन थाल्नु भयो । उहाँको २०३९ मा पार्टी सम्पर्क टुट्यो । २०४६ सालको जनआन्दोलनबाट सीमित अधिकारको प्राप्ति पछि फेरी पार्टी सम्पर्कमा आउनु भएको क.एडनान निरन्तर क्रान्तिमार्गमा समाहित हुँदै आउनु भयो । जनसमुदाय माथि विश्वास गर्ने जनताहरूमा भर पर्ने, जनताको क्रान्तिकारी उत्साहलाई कदर गर्ने उहाँको आदर्श थियो । इतिहासका निर्माता जनता हुन् नेतृत्वको निर्माण पनि जनसमुदायबाट हुन्छ भन्ने उहाँमा विश्वास थियो । २०४७ साल भाद्र महिनामा गौरवशाली पार्टीको सदस्यता प्राप्त गर्नुभयो । २०४८ सालमा अ.ने.कि.सं.को जिल्ला समिति सदस्य, २०४९ सालको सम्मेलनद्वारा कोषाध्यक्ष चुनिनु भयो । भने २०४८ सालमा भएको राष्ट्रिय सम्मेलनको जाजरकोट जिल्लाको प्रतिनिधि हुनुभएको थियो । २०५० सालमा सेल सेक्रेटरी, ०५३ सालमा पार्टी ए.सि.एम., ०५४ सालमा ए.सि.एस., ०५६ साल भाद्रदेखि दैलेख र सुर्खेत जिल्लाको डि.सि.एम., ०५८ सालमा सचिवालय सदस्य ०५९ सालम भेक क्षेत्रीय मोडेल निर्माणको योजनासँगै दैलेख जिल्लाबाट शरुवा भई मोडेल जिल्लामा आउनु भएको थियो । उहाँमा जनशैली अनुकरणीय नै थियो । वोलीमा मिठास, मधुर स्वर, मिलनसार बानी, जनता, कार्यकर्तामा निकै लोकप्रिय हुनुहुन्थ्यो ।

सामाजिक जिवनमा
२०४४ सालमा पशु स्वास्थ्य तालिम गरेर उहाँ जगतिपुर पून्मामुर खलंगासम्मका पशुहरूको उपचार गर्ने र जनताको उपचार पनि त्यहीसँग गाँसेर लिने काम उहाँमा थियो । उहाँको निःशुल्क उपचारले जनतामा निकै लोकप्रिय बन्नुभएको थियो । पार्टी सम्पर्कबाट विच्छेद भइसकेपछि स्वतःस्फुर्त रूपमा युवा समेट्न गठन गरिएको युवा क्लवद्वारा (तास, जाँड, रक्सी, केटी बस्ने, गुण्डागर्दी गर्ने कुराको विरोधी जाली फटाहाहरूका विरुद्ध लड्ने) गाउँमा हुन लागेको विकृति विरोधी हुनुहुन्थ्यो । जनतासँग सुशिल मधुर र विनित बन्ने बनाउने उद्देश्य उहाँमा थियो । उहाँमा भएको वलिदानी भाव क्रान्तिकारी चेतना, विप्लवी आस्थाले उहाँ समाजका अग्रीम तारा बन्नुभएको थियो । यिनै गुणहरूले नै होला जाजरकोटका वस्तीमा मात्रै नभएर उहाँ सुर्खेत, दैलेख, कालिकोट, अछामका वस्तीहरूमा पनि क.एडनान उदाई रहनुभएको प्रज्जवलित दिप भएर चम्किरहनु भएको छ ।

२०५९ साल कार्तिक २९ गते हुन गएको ऐतिहासिक जुम्ला, खलंगाको फौजी कार्वाहीको सिलसिलामा सयौं जनताको नेतृत्व गर्दै जाजरकोट जिल्लाको मुलसामको बाटो हुँदै २०५९ कार्तिक २६ गते जाजरकोट जुम्लाको बिचमा पर्ने टोप्ला लेखमा हिउँमा परेर उहाँ लगायत ५ जना साथीहरूको साहदत हुन पुग्यो । मुलसाम गाउँबाटै हिउ पर्न शुरु भइसकेको अवस्थामा उकालो चढेका क.एडानान शारीरिक रूपमा निकै कमजोर हुनुहुन्थ्यो । पार्टीको योजनालाई लागु गर्नमा प्रतिवद्ध उहाँलाइ उहाँसँगैको सहयात्री कमरेडहरू र प्यारो जनताले पटक पटक नजाने अनुरोध गरे पनि ऐतिहासिक कार्वाहीमा भाग लिने र जनताको नेतृत्व गर्ने अभिलासा इतिहासको अर्को पाटा बन्न पुग्नुभयो । दुवैपट्टी हात समाते पनि उहाँको अन्तीम अवस्था आइसकेपछि उहाँले कमरेडहरूलाई अगाडि बढ्न प्रेरित गर्नुभयो । आग्रह गर्नु भयो तर समयले उहाँलाइ अगाडि बढ्न दिएन । उहाँको अधुरो सपना बाँकी रहन गयो । जसको पुरा गर्ने जिम्मा बाँचेका हाम्रा काँधमा आएको छ । जो पुरा गर्नका लागि क्रान्तिपथमा निरन्तर लागि पर्ने छौं । उहाँले छोडेको काम अवश्य पनि पुरा हुनेछ । यो धर्तिमा पुरातन राज्यको अन्त्य र नुतन राज्यको स्थापना हुनेछ । जो श्रमजीवी वर्गको अन्तिम लक्ष्य हो । जो आम विद्रोहबाट छिट्टै प्राप्त हुनेछ । क्रान्तिका नायक क. एडनानप्रति एक शब्दद्वारा श्रद्धासुमन टक्र्याउँछु ।
२०६० कार्तिक २९