शनिबारीय साहित्य : कविता
***
पैतालाबाट जन्मेको मान्छे पैताला चाल्दैछु !
मुखबाट जन्म्या मानिससँग छलफल थाल्दैछु ।
उहिलेका कुरा खुइलिए बाजे घाममा सेकाइदेऊ !
एक चोटी फेरि मुखबाट लौ न जन्मेर देखाइदेऊ !
उखुमै लाग्यो रहर हेर्न विन्ती छ देखाइदेऊ ।
मुखबाट मान्छे जन्मेको कुरा कस्ले हो देखेको ?
देखेर मात्रै लेखेको हो कि हावामा लेखेको ?
लेखेका कुरा सकिए बाजे घाममा सेकाइदेऊ
हो हैन रैछ मुखबाट लौ त जन्मेर देखाइदेऊ !
त्यसपछि सबै सहौंला बाजे एक चोटी देखाइदेऊ ।
यी थोत्रा कुरा पत्याउने अब गैसक्यो जमाना !
भूइँ भूइँका देउता मान्छेका डरले भैसके रमाना !
छलछाम ढाँटढुट फन्टुस कुरा घाममा सेकाइदेऊ
कत्तिको सत्य रहेछ लौ त एक फेर देखाइदेऊ
मुखबाट मान्छे जन्मेको कुरा एक चोटी देखाइदेऊ !
पाखुराबाट जन्मन्छ क्यारी खै द्वार-दरबाजा ?
पैतालामा नि देख्दिन कतै जन्मने बाटो त ?
यी झुट फरेव अनैतिक कुरा घाममा सेकाइदेऊ
पैताला मुख पाखुराबाट जन्मेको देखाइदेऊ
ए बाजे लौ त हेर्न मन लाग्यो जन्मेको देखाइदेऊ ।
































