धर्मान्धता बारे

धर्मान्धता बारे

निबन्ध

मानव सभ्यताको इतिहास खोज्दै जाँदा पौराणिककालिन वा वैदिककालिन समाजसम्म अध्ययनको क्षेत्र बनेको छ । कविलाकालिन समाजबारे धर्मलाई त्यस कालमा सामाजिक सभ्यताको रूपमा बुझिएको हो । धर्म वा धार्मिक परम्परा कायम राख्न विचार दर्शनले खास काम गरेको छ । ईश्वरीय सत्ताको अस्तित्व र ईश्वरीय देन माथी विश्वास दिलाउने काम आध्यात्मिक दर्शन वा चिन्तनले ग¥यो र त्यसलाई स्थापित गराउन शासकवर्गको मुख्य भूमिका रह्यो । जबजब मानिसमा ज्ञान चेतनाको विकास हुँदै आयो विज्ञानको माध्यमबाट सत्यतथ्यको खोजी हुन थाल्यो । हरेक वस्तु घटनालाई विज्ञानसँग जोडेर बुझ्न थालेपछि भौतिक ज्ञानको प्रादूर्भाव भएको हो । तर हाम्रो समाज यो युगसम्म आउँदा धार्मिक अन्धविश्वासमा रुमल्लिएको छ ।

धर्मलाई कसैले मोक्षको साधन माने कसैले अफिम, अहिलेको नेपालको संविधानले धर्मलाई ऐच्छिक मान्यो तर धर्मको आडमा आफूलाई उभ्याउँदै आएका एकथरी धर्मभिरुहरू भने सिङ्गो मुलुक नै धार्मिक राज्य हुनुुपर्दछ भन्ने मान्यतामा छन् । मान्यता भित्रका कतिपय पात्रहरू सनातन धार्मिक मतमा छन् । धर्ममा सानो ठूलो नहुनु पथ्र्यो तर हुन्छ किन । धर्ममा सेवा भाव हुनु पर्दछ तर यसैलाई कमाउको विषय बनाइन्छ किन ?

एकछिन घोत्लिन्छु । मान्छेले ईश्वरको आविष्कार कहिले ग¥यो । ईश्वरको उपासना, आरधना गरेर ठोसमा के पायो । कुनै पुरोहित पुजारी वा साधुसन्तले प्रमाण पु¥याउन सक्दैनन् । धर्म एउटा सांस्कृतिक परम्परा हो । समाज विकासको क्रममा कतिपय प्राकृतिक परिवर्तनलाई मान्छेले गहिरोसित बुझ्न नसक्दा कुनै काल्पनिक शक्तिको कल्पना गर्दा ईश्वरको आविष्कार ग¥यो त्यसैको आडमा पुजापाठ स्तुतिका साधानहरू विकास भए र धर्मको स्वरूप बन्यो तर यही धर्मभित्र विभेदको मान्यता भ्mयाङ्गिदै आयो र अहिलेसम्म पनि कायम छ । विभेदको शृङ्खला परिवार भित्रबाटै सुरु भएको छ । परिवारमा घरमुलिसित श्रीमती, छोरा–बुहारी नाति–नातिनीहरू हुन्छन् । परिवारमा पहिलो विभेद लिङ्गको आधारमा हुन्छ । परिवारमा छोरो अंशको हकदार हुन्छ उसको जन्म हुर्काई बढाई पढाई छोरीको दाँजोमा विशेष हुन्छ । हामीले देखेका छौं ५–७ छोरी जन्मदा पनि छोराको चाहनामा दोस्रो विहे गर्ने वावुहरू कयौं थिए । हाम्रो सांस्कृतिक वा धार्मिक मान्यतामा ‘अपुत्रस्य गतिम् नास्ति’ वा छोरो भनेको भविष्यको पिण्डपानीको आधार हो । ‘स्वर्ग नैवचः नैवचः’ अर्थात् मृत्युपछि स्वर्गवासको कल्पना हो भन्ने भ्रम पालिएको छ ।

हाम्रा धार्मिक भाष्य, पूराण वा कथाहरूमा यस्ता उक्तिसुक्ति प्रशस्त पाइन्छन् । सोझो भाषामा भन्दा धर्मले दया, करुणा परोपकार र विश्ववन्धुत्वको मान्यता राख्छ भनिन्छ तर यदि यसो हो भने विभेद किन हुन्छ र धर्मको आडमा कमाउधन्दा किन फस्टाउँछ ? धर्मका कट्टर अनुयायीहरूमा राग द्वेष र अभिमान किन हुन्छ ?

समुदाय पनि देखेका छौं धर्मका निहुँमा मन्दिर, चर्च, गुम्बा वा मस्जिदको विषयलाई लिएर चर्को वैरत्व पनि देखिएको छ । साङ्ख्यकीलाई आधार मानेर अल्पसाङ्ख्यकीहरू माथि गरिने विभेद मानव सभ्यतामा कलङ्कित छन् । एउटै धर्मभित्र हुने वेमेल पनि वैरत्वको कारण बनेको हुन्छ । वैष्णव वा शैव, महायानी या हीनायानी, क्याथोलिक र प्रोटेस्टेन्ट यी परस्पर विरोधी मत हुन् । धार्मिक साम्प्रदायिकता हेरेर मन्दिर, मठ, गुम्बा वा चर्च निर्माण गरिएको हुन्छ । त्यस्तो सम्पदाभित्र मानवीय मूल्यको सम्मान हुनुपर्दछ तर त्यस्तो पाइँदैन । हिन्दू धर्मका नाउँमा थुप्रै शक्तिपीठ र देवदेवीका नाममा मन्दिर निर्माण गरिएका छन् । यस्ता स्थलहरूमा खासखास पर्व मानेर धार्मिक मेला लाग्छन् । यही मेलालाई वहाना बनाएर व्यभिचार, ठगी, चोरी वा नाफाखोरी मौलाइरहेको छ । दिनमा लाग्ने मेलापर्वको तुलनामा राति लाग्ने मेलापातमा धेरै अपराधिक गतिविधिहरू सञ्चालन हुन्छन् । पूज्य मानिएका शक्तिपीठमा चलेको मेलाहरूमा कयौं महिलाको अस्मिता लुटिएको हुन्छ । मन्दिर वा शक्तिपीठलाई आधार मानेर गरिने बन्दव्यापार होस् वा धर्मको नाउँमा हुने अन्धविश्वासको परिणाम यस्तै देवदेवीको मन्दिर आसपास हुन्छ । पूजा अर्चनामा भक्तहरूद्वारा चढाइएको भेटी वा दान चन्दा जस्ता नगद वस्तु अपचलन हुने वा पुजारी र सञ्चालकले आफुखुुसी कब्जा गर्ने घटना पनि सार्वजनिक भएका छन् । नेपाली हिन्दू धार्मिक मान्यतामा पुरुषको दाँजोमा महिलाहरू धर्मप्रति बढी आशक्त हुन्छन् । तर धार्मिक अनुष्ठानमा उनीहरूमाथि नै दूव्र्यवहार भइरहेको छ । कतिपय महिलाले जान्दाजान्दै र कतिपय अन्धविश्वासको कारणले अन्यायमा परिरहेछन् । धार्मिक गुरू वा पण्डित पुरोहितका प्रवचनहरू म्हिला सौन्दर्य लक्षित हुने र आफ्नो प्रशंसामा आँफै झुक्किने कारणबाट महिला लक्षित शोषण दोहन मौलाएको हुन्छ । अधिकांश महिलामा गरगहना प्रदर्शन र शृङ्गारमोह हुन्छ, यसकारण पनि धार्मिक लुटपाट र व्यभिचारको शिकारमा उनीहरू पर्दछन् ।

मन्दिर धाउनु, पूजा गर्नु, धर्म हो या संस्कृति ? यस विषयमा छुट्टै वहस हुनु वाञ्छनीय हुन्छ तर पूजा पाठ र व्रत उपासना वा दान दक्षिणा सबै सोलोडोलोे धार्मिक गतिविधि भित्र पार्ने गरिएको छ । धर्मसित अभिन्न रूपमा संस्कृति जोडिएको छ । मन्दिर धाउनु पुजा पाठ गर्नु धार्मिक संस्कृति मानिन्छ तर यस कार्यको निश्चित सीमा र घेरा तयार गरिएको छ । हिन्दू संस्कृतिसित जात व्यवस्था जोडिएको छ । धर्मका नाममा निर्माण गरिएका देव मन्दिरहरूमा जात हेरेर प्रवेश निषेध गरिएको हुन्छ । यो प्रथा सबै भन्दा डरलाग्दो मानवीय शून्यताको चेत हो । जात प्रथाले दलित भनिएको मानवमाथि यस्तो विभेद गरिनु धर्म वा संस्कारको कुरूप चित्र हुन् यस्तो विभेद जरादेखि नै उखेल्नु पर्दछ ।

नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राज्यको व्यवस्था गरे पनि एकथरी धर्मभिरुहरू हिन्दू राज्यको मागदावी प्रस्तुत गरिरहेछन् भने एकथरी अवसरवादी वाइवल र पैसाको विटो बोकेर इशाइकरणको अभियानमा उद्दत छन् । यिनीहरू कथित हिन्दूवादको विभेदलाई आधार मानेर र गरिबीको फाइदा उठाउँदै वस्ति–वस्तिमा चर्चहरूको निर्माण गरिरहेछन् । यी दुवै अतिलाई राज्यले नियन्त्रण गर्नु पर्दछ तर सारमा भ्रममा जनता झुक्याइ रहेछन् । यस्ता गतिविधिहरूले धार्मिक अन्धतालाई मलजल गरिरहेछ । एकातिर शासकहरू श्क्तिको ढोङ फुकिरहेछन् अर्कोतिर शक्तिको आडमा पूराना मठमन्दिरका गजुर, मूर्ति वा पुरातात्विक वस्तुहरूको चोरी तस्करी गरिरहेछन् । विडम्वना कस्तो छ भने देव मानेको मूर्ति चोरी गर्ने बिक्री गर्ने खुल्ला भएर हिंडिरहेछ गर्जिरहेछ । उता बुढो भएको गोरू कुनै जाति विशेषले भक्ष्य ग¥यो भने मुद्दा खेपिरहेको वा जेलको छिँडी कुरिरहेको हुन्छ । यस्तो घटनामा संविधान चुपचाप कुँजिन्छ । हामी विज्ञानको युगमा विचरण गरिरहेछौं । धर्म वा संस्कृति–संस्कारसित जोडिएका विज्ञानसम्मत विधिको संरक्षण, अनुसरण गर्दै अवैज्ञानिक विभेदपूर्ण मान्यताहरू खारेज गर्नेतर्फ हामी सबैले आ–आफ्नो तहबाट थालनी गर्नुपर्छ ।