म किन लडेँ ?
यो प्रश्न,
रातको सन्नाटामा उठेर सोध्छ मलाई,
आँखाभरि पुराना घाउहरू बोकेर
मेरो विगत आफैंसँग हिसाब माग्छ ।
परिवर्तनको आँधीबेहरीमा
म केवल बन्दुक बोकेको मान्छे थिइनँ,
म थिएँ
भोकले थाकेको गाउँको आवाज,
अन्यायले थिचिएको सपनाको चिच्याहट,
परिवर्तन खोज्ने एक असहाय आस्था ।
हिउँ जस्तै चिसा रातहरूमा
जङ्गलका पातहरू ओछ्याउँदा,
मलाई लाग्थ्यो
भोलि नयाँ बिहान आउँछ,
जहाँ मेरो आमाको आँसु
खेतको पानीसँग मिसिएर बग्ने छैन ।
समयले सधैं
सपना जस्तो न्याय नगर्दो रहेछ
धेरै साथीहरू
कहिल्यै फर्किएनन्
कसैका नाम मात्र बाँकी रहे
कसैका आवाजहरू इतिहासबाट हराए ।
आज म बाँचिरहेछु,
तर पुरानो म मरेको जस्तो लाग्छ ।
मेरो काँधमा अझै
त्यो समयको भारी छ,
जहाँ विचार र भावनाको बीचमा
मान्छेहरू टुक्रिए,
र जीवनले अर्थ खोजिरह्यो ।
म किन लडेँ ?
सायद उत्तर एउटै छैन
न्यायको खोज थियो,
क्रान्तिको सपना थियो,
र आफ्नो अस्तित्व जोगाउने सङ्घर्ष थियो ।
आज म शान्त भएर सोच्छु
लडाइँले कस्लाई बदल्यो
म भित्रको आगो अझै जिउँदैछ ।
अब म बाँच्न चाहन्छु
नयाँ अर्थमा,
पुराना घाउलाई सम्झेर
भविष्यलाई फेरि लेख्न
क्रान्तिको सानो उज्यालोमा
आफ्नो जीवन फेरि भेट्न चाहन्छु
मलाइ मार्न पनि सक्छौ तिमी
म भित्रको आगो मार्न सक्दैनौ
म भित्रको आगो जिउँदो रहुञ्जेल
म मर्ने छैन
म हार्ने छैन ।






























