तिनीहरूसँग
म माफी माग्छु
जसले
मलाई चुपचाप
ल्याप्चे नठोक्न भने
खोटो कागजमा
फेरि पनि
म नबोली नबोली
अवज्ञा गर्दै उनको राय
चुपचाप ल्याप्चे ठोकेँ
र, जन्माएँ
नयाँ युगको निरो
नवउदारवादी मुसोलिनी
बुद्धिहीन पाखन्डी
हिटलर जन्माएँ
म दुःखी छु ।
राष्ट्रद्वेषी जनद्वेषी
अपराधी आतङ्की
जन्माउनमा
अक्षम्य कर्म गरें
म माफी माग्छु
ती सबै सहिदसँग
जसले आफ्नो अमूल्य
रसयुक्त जीवन हराए
यस माटोमा
आफ्नो रगत बगाएर
यसको महान् गरिमालाई
उँचो बनाए
म भने
तिनका उत्सर्ग बिर्सें
भङ्जाहा दुष्टलाई
छातीमा सजाई
अफिमची गँजडीलाई
सिंहासनमा राखी
आफैंलाई निच बनाएँ
पसिना पानी माटो
नदी खेत पहरा
वन बुट्यान काँढा
ढुङ्गा पाखा थुम्का
किसान मजदुर दलित
आदिवासी जनजाति
मेची महाकाली
कोसी गण्डकी कर्णाली
तिमीहरूप्रति
ठुलो घात गरें
निःशब्द निर्लज्ज
प्रश्न नगरी
आत्महत्या गरें
अर्थात् भोट खसाएँ
म माफी माग्छु ।






























