वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकम प्रकाशन दशवर्ष पूरा गरी असारको पहिलो हप्ताबाट एघारौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, लेखक, कर्मचारी, पत्रकार तथा प्रकाशनलाई प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं । र, सबैमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै, प्रकाशनको निरन्तरता, स्तरीकरण र प्रभावकारिताका लागि आगामी दिनमा थप सहयोगको अपेक्षा पनि गर्दछौं ।
हरेक मिडियाका आफ्ना विश्वदृष्टिकोण हुन्छन् र पक्षधरता पनि हुन्छन् । हाम्रो मिडियाको पनि आफ्नो विश्वदृष्टिकोण र पक्षधरता रहेको हामी सगर्व घोषणा गर्दै आएका छौं । स्थापपनाकालदेखि नै हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई प्रमुखताका साथ उठाउँदै आएका छौं । चौतर्फी आर्थिक संकट, संशोधनवादी, अवसरवादी र प्रतिक्रियावादी वर्गको घेराबन्दीका बाबजुद निकै ठूलो श्रम, पसिना र मिहनेतका बिच हामीले यो प्रकाशनको प्राणलाई आजका दिनसम्म बँचाएर ल्याउन सफल भएका छौं । र, आगामी दिनमा यो प्रकाशनलाई अझ सबल बनाएर निरन्तर रुपमा अगाडि बढाउन सम्बन्धित सबैको रचनात्मक र उत्साहपूर्ण सहयोग र हौसला प्राप्त हुने पनि अपेक्षा गरेका छौं ।
पत्रपत्रिकाहरु भनेका जनताका बौद्धिक सम्पत्ति हुन् । पत्रपत्रिका केवल सूचना प्रवाह गर्ने साधन मात्र होइनन्, वर्गीय स्वार्थ, राजनीतिक चेतना र क्रान्तिका शक्तिशाली हतियार पनि हुन् । कार्लमाक्र्सले पत्रिपत्रिकालाई ‘जनताको विवेक र आलोचनाको हतियार’ मानेका छन् । माक्र्सले पूँजीवादी व्यवस्थामा सञ्चारमाध्यममाथि धनाढ्य वर्गको नियन्त्रण हुने र त्यसले सर्वहारा वर्गको आवाज दबाउने कुरा औंल्याएका छन् । उनका अनुसार पत्रपत्रिका नाफा कमाउने व्यापार व्यवसाय नभएर सत्य उजागर गर्ने माध्यम हुन् र हुनु पर्दछ । लेनिनले “पत्रिका केवल सामूहिक प्रचारक र सामूहिक आन्दोलक मात्र होइन, यो एक सामूहिक संगठक पनि हो” भने । माओले पत्रपत्रिकालाई “मास लाइन“ (जनदिशा) को सिद्धान्तसँग जोडेर परिभाषित गरे । उनले पत्रपत्रिकाहरू पार्टी, सरकार र जनताका साझा “मुखपत्र“ हुन् भने । माओले क्रान्ति सम्पन्न गर्न दुईवटा मोर्चा आवश्यक पर्ने बताएका थिए— एउटा बन्दुकको मोर्चा (सैनिक) र अर्को कलमको मोर्चा (सांस्कृतिक÷वैचारिक) । पत्रपत्रिका कलमको मोर्चाका मुख्य हतियार हुन्, जसले जनताको चेतना रूपान्तरण गर्छन् ।
माओले प्रेस कहिल्यै पनि तटस्थ हुन नसक्ने र यसले सधैं कुनै न कुनै वर्गको प्रतिनिधित्व गर्ने वकालत गरे । समाजवादी व्यवस्थामा पत्रपत्रिकाले सर्वहारा वर्गको हित र प्रतिक्रियावादी तत्वहरू विरुद्धको संघर्षलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।
माक्र्सवादी दृष्टिकोणमा “प्रेसको तटस्थता” वा “निष्पक्ष पत्रकारिता“ लाई एउटा बुर्जुवा भ्रम वा ढोंग मानिन्छ । माक्र्स, लेनिन र माओे प्रश्न गर्छन्– जब समाज नै वर्गमा विभाजित छ भने समाजको एउटा हिस्सा रहेको प्रेस कसरी तटस्थ हुन सक्छ ? “प्रेस कि त शासक वर्गको पक्षमा हुन्छ, कि त शोषित वर्गको पक्षमा ।” यी दुईको बीचमा कुनै तेस्रो वा तटस्थ ठाउँ हुँदैन । पूँजीवादी व्यवस्थामा सञ्चारमाध्यमहरू ठूला घराना वा कर्पोरेट हाउसहरूको लगानीमा सञ्चालित हुन्छन् । बुर्जुवा (पूँजीवादी) पत्रपत्रिकाहरूले आफूलाई “निष्पक्ष“ वा “स्वतन्त्र“ दाबी त गर्छन्, तर संकटको बेला उनीहरूले सधैं शासक वर्ग र पूँजीवादी व्यवस्थाकै रक्षा गर्छन् । उनीहरूले ‘तटस्थता’ को नारा दिएर वास्तवमा सर्वहारा वर्गको क्रान्तिकारी चेतनालाई भुत्ते बनाउने र यथास्थितिलाई कायमै राख्ने काम गर्छन् । त्यसैले यो तटस्थता जनतालाई भ्रममा राख्ने एउटा हतियार मात्र हो । लेनिनले त झन् खुला रूपमा भनेका छन् कि प्रेस कहिल्यै पनि गैर–राजनीतिक वा गैर–वर्गीय हुन सक्दैन । लेनिनका अनुसार, बुर्जुवा प्रेसको ‘छद्म तटस्थता’ भन्दा कम्युनिष्ट प्रेसको ‘खुला पक्षधरता’ इमानदार र क्रान्तिकारी हुन्छ । कम्युनिष्ट प्रेसले आफूलाई लुकाउँदैन, यसले खुला रूपमा भन्छ कि यो सर्वहारा वर्ग र कम्युनिष्ट पार्टीको हतियार हो ।
माओका अनुसार क्रान्ति भइरहेको बेला वा समाजवाद निर्माणको चरणमा प्रेस कि त क्रान्तिको पक्षमा उभिनुपर्छ, कि त प्रतिक्रान्तिको पक्षमा । ‘म तटस्थ बस्छु’ भन्नुको अर्थ अप्रत्यक्ष रूपमा शोषक वर्गलाई नै मद्दत गर्नु हो । माक्र्सवादी विचारधाराले मिडियालाई समाजको ‘सुपरस्ट्रक्चर’ (उपरिसंरचना) मान्छ, जसलाई आर्थिक रूपमा बलियो भएको वर्गले नियन्त्रण गर्छ । त्यसैले पूँजीवादी मिडियाले दाबी गर्ने “प्रेसको तटस्थता” वास्तवमा पूँजीपति वर्गको स्वार्थ लुकाउने एउटा वैचारिक मुकुण्डो मात्र हो, जसलाई माक्र्सवादले पूर्ण रूपमा अस्वीकार गर्छ ।
हो हामीले यही उल्लेखित विचारकहरुको प्रेस सम्बन्धी दृष्टिकोणलाई आफ्नो विश्वदृष्टिकोणको रुपमा अपनाउँदै नेपालका श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिपथको सहयात्रीको रुपमा आफूलाई उभ्याउँदै आएका छौं । र, अहिले डिजिटल मिडिया र एआईले खडा गरेको चुनौतिलाई पनि सामना गर्दै हाम्रो पत्रकारितालाई आगामी दिनमा अझ नयाँ आयामका साथ प्रखर रुपमा अगाडि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । र, रचनात्मक सुझाब तथा आलोचनासहित सबैको प्रत्यक्ष परोक्ष रुपमा सहयोग प्राप्त हुने पनि अपेक्षा गर्दछौं ।
प्रकाशन परिवार



























