काठमाडौं । काठमाण्डौको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालले आर्थिक सम्मेलनको आयोजना गरेको छ। प्रमुख अतिथि क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको सम्मेलन पार्र्टीको अर्थ विभागले आयोजना गरेको हो। सम्मेलन उद्घाटन गर्दै महासचिव सिपी गजुरेलले पार्टी जीवनमा यस्तो खालको आर्थिक सम्मेलन पार्टीले नै गरेको थाहा नभएको र हाम्रो पार्टीले नयाँ तरिका अपनाएर आर्थिक नीति तय गर्नका निम्ति यस्तो सम्मेलनको आयोजना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, देश, समाज, संस्कृति र राजनीतिक परिवर्तनको मुख्य आधार नै आर्थिक हो । आन्तरिक पार्टीलाई कसरी सहज र सरल बनाउने, कसरी व्यवस्थित र मजबुत बनाउने अनि सारा मजदूर किसान श्रमजीवी वर्गका वैरीहरूलाई कसरी अलग्याउने र क्रान्ति सम्पन्न गर्ने भन्ने प्रश्नसँग यो सम्मेलन जोडिएको छ । आर्थिक मामिलामा मार्क्स, एंगेल्स, लेनिन, माओले जे जसरी जोड दिनु भएको छ, त्यसलाई गम्भिरतापूर्वक लिँदै हामीले यो सम्मेलन आयोजना गरेको जनाउँदै यो सम्मेलन सफलता पुर्वक सम्पन्न गर्न उहाँले निर्देशनात्मक धारणासहित सफलताको शुभ कामना व्यक्त गर्नुभयो।

अर्का वक्ता क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, सन्त बहादुर नेपाली, कृष्णराज पौडेल, प्रवक्ता हेमन्त प्रकाश ओली, बसन्त लगायतका नेताहरुको आथित्यता रहेको थियो।
अर्थ विभागका सदस्य पुस्कर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अर्थ विभागका प्रमुख सिताराम तामाङले गर्नुभएको थियो भने सम्मेलनलाई स्वागत मन्तव्य अर्थ विभागका सदस्य अमीर महर्जनले राख्नु भएको थियो।
सम्मेलनलाई स्थायी समिति सदस्य राम सिंह श्रीसले सम्बोधन गर्दै आन्तरिक पार्टी जीवनमा आर्थिक प्रणालीलाई कसरी व्यवस्थित गर्ने र बुर्जुवा प्रणालीभन्दा वैज्ञानिक बनाउने भन्ने प्रश्न हल गर्ने, पुरानो सत्ताको अर्थ प्रणालीसंग कसरी सम्बद्वता कायम गराउने र पुरानो सत्ताको अर्थ प्रणालीको व्यापक भण्डाफोर गरेर वैज्ञानिक अर्थ प्रणालीलाई स्थापित गर्ने भन्ने प्रश्नसँग जोडिएको बताउनु भयो ।
अर्का वक्ता कृष्णराज पौडेलले आन्तरिक पार्टी गतिविधि लाई सरल र सजिलो बनाउने उद्देश्यले नै यो आर्थिक सम्मेलन आयोजना गर्न परेको जानकारी गराउँदै पार्टीको माथीदेखि तलसम्म पार्टी संगठनलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
नेता सन्त बहादुर नेपालीले दलाल तथा नोकरशाही पूँजीपति वर्गले क्रान्तिकारी पार्टीलाई आर्थिक घेराबन्दी गरेर चल्नै नसक्ने बनाउँन थालिसकेको दर्शाउँदै हामी आर्थिक रूपले सक्षम बन्दै जान जरुरी रहेको बताउनु भयो ।
पार्टी प्रवक्ता हेमन्त प्रकाश ओलीले सामुहिक उत्पादन प्रणालीलाई बैज्ञानिक विधिले सञ्चालन गर्न नीति निर्माण गर्ने उद्देश्यले यो अर्थ सम्मेलन आयोजना गरेको जनाउँदै आजसम्मका कम्युनिस्ट नेताहरूले नेपालको समाजिक ढाँचामा उभिएर आर्थिक प्रणालीको खोजी र विकास गर्न मसिनो गरी ध्यान जान नसकेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, हामीले सचेततापूर्वक उत्पादनमा जोडिएर त्यसलाई संघर्षको मोर्चा बनाउन पर्ने अवस्था आएको छ । उहाँले फरक फरक उत्पादन प्रक्रियालाई नमुनाकै रूपमा विकास गर्न सक्ने गरी नीति तथा कार्यक्रम बनाउन सफल रहने विश्वास व्यक्त गर्नुभयो।
अन्तिममा उद्घाटन सत्र समापन मन्तव्य राख्दै सिताराम तामाङले पार्टीको आन्तरिक र वाह्य अर्थ प्रणालीलाई पार्टीकै नीति अनुसार तय गर्ने प्रतिवद्वता व्यक्त गर्दै सबै सुुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्दै उद्घाटन सत्रको समापन गर्नु भयो।
उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु भएको छ । बन्द सत्रले पार्टीको आर्थिक नीति ठोस गर्ने नेताहरुले जानकारी दिएका छन् । बन्द सत्रसहित आर्थिक सम्मेलन भोलि बेलुकासम्म सम्पन्न हुने पनि सम्बद्ध स्रोतले जानकारी दिएको छ । आर्थिक सम्मेलनमा देशैभरबाट नेताहरुको सहभागिता रहेको छ ।



























