प्रायः सबै व्यक्तिमा नेतृत्व क्षमता कम वा बेसी रूपमा अन्तर्निहीत हुन्छ, दृश्य वा अदृश्य भएर । ‘नेतृत्व’ नेतासँग मात्र जोडिने पदावली अर्थात् विशेषता होइन । ‘हो’ भन्ने भ्रममा हामी अल्मलिएका हुन्छौँ । कम्युनिस्ट चिन्तन भएका नेता, लेखक र गृहस्थी जगत दाजुको व्यक्तित्वमा नेतृत्व क्षमता सघनरूपमा थियो तर त्यो सँधै अमूर्त । नियालेर हेर्दा त्यो दृष्टिगोचर हुन्थ्यो, नत्र हुँदैनथ्यो । उहाँको नेतृत्व क्षमता, योग्यता, शक्ति वा तागतलाई यहाँ म खोतलेर देखाउँदै छु, अथवा उहाँको जीवनको कुन कुन घुम्तीहरूमा यो क्षमता उजागर भएर आयो भनेर म उत्खनन् गर्दछु ।
१) २०१५ सालको चुनावमा उमेदवार हुँदा
२) अध्यापनको क्रममा शिक्षकहरूलाई गोलबन्द गर्दा
जगत दाजुले काठमाडौंको सीताराम प्रौढ स्कूलबाट एसएलसी उत्तीर्ण गर्नुभयो तर ताहाचलको पब्लिक कलेजमा भर्ना भएर पनि नपढी राजनीतितिर ढल्किनुभयो । उहाँले शिक्षणकार्य पनि गर्नुभयो । उहाँले हालको बालकुमारी मावि रहेको ठाउँको मिडिल स्कुलमा, बढुवा भै भरतपुरमा सरेको चितवन हाइस्कुल मा ३ वर्ष पठाउनुभयो, २०१६ देखि २०१८ सालसम्म । त्यो बेला उहाँहरूको मासिक तलब रु १६५÷– हुन्थ्यो । त्यसमा औलो सहयोग शुल्क भनी सरकारले रु ४० काट्थ्यो । त्यो तलव कट्टीको विरोधमा उहाँले शिक्षक साथीहरूलाई गोलबन्द गर्नुभयो र दबाब दिन काठमाडौंमा डेलिगेशन पठाउने काम पनि उहाँकै सक्रियतामा भयो । शिक्षक संस्था र त्यसका उल्लेखनीय गतिविधि नभएको त्यो अवस्थामा यद्यपि त्यो वेला ८५ ओटा प्राइमरी स्कुल थिए, हुनु कम साङ्गठनिक चेतको विषय थिएन । उहाँले शिक्षण कार्य छोडे पनि राजनीतिक गतिविधिमा आफ्नो नेतृत्वकौशललाई उपयोग गर्नुभयो । उहाँ ती दिन ‘जगत मास्टर’ को नाउँले सम्बोधन गरिनुहुन्थ्यो ।
३) ननसेन्टर ग्रुपको सचिव हुँदा
कम्युनिस्ट पार्टीको काममा शिथिलता र नेताहरूमा द्वन्द्व र असङ्गति रहेको त्यो अवस्थामा जगत दाजुले चितवनका मूर्धन्य कम्युनिस्टहरूलाई एकत्रित गरेर ‘ननसेन्टर ग्रुप’ नाउँको पार्टी निर्माण गर्न क्रियाशिल भूमिका खेल्नुभयो । यो ग्रुपको कार्यमा प्रभाकारिता र विस्तार ल्याउन मजदूर, किसान, शिक्षा, जनस्वास्थ्य आदि विभाग पनि खोलियो, भिन्न भिन्न पार्टी सदस्यहरूलाई जिम्वेवारी दिएर । चितवनको यो कम्युनिस्ट पार्टी ‘केन्द्रीय न्यूल्कस’ मा नमिल्दासम्मका यसका सदस्य नेता हुनुहुन्थ्यो, आनन्ददेव भट्ट, डा. मथुराप्रसाद श्रेष्ठ, गुणबहादुर घले, खम्बसिंह कुँवर, यमुना प्रसाद न्यौपाने, नरबहादुर खाँड, अमिक शेरचन, पुष्पगोपाल श्रेष्ठ, टेकबहादुर थापा आदि । २०२४ सालमा गठित यस ग्रुपलाई, वीरेन्द्र कलेजका प्रिन्सिपल आनन्ददेव भट्टको जोडमा सहयोग पु¥याउने, उहाँका विद्यार्थी युवाहरू थिए पदंपाणि विरक्ति, पुष्पराज जमरकट्टेल, मुक्तिनाथ अधिकारी, रविकिरण निर्जीव आदि । जगत दाजुले नारायणघाट बजारको ज्यामी मजदूर क्षेत्रको कार्य तथा गतिविधि पनि हेर्नुहुन्थ्यो । सचिव जस्तो गरुङ्गो कार्यभारमा रहेर ग्रुपको काममा गति र विस्तार दिनु कम लगाव, नेतृत्व र गहन कार्य थिएन ।
४) बहुदलीय र गणतन्त्रकालीन भेटघाट र सम्पर्क केन्द्र हुँदा
जगत दाजुको घर बहुदलीय र गणतन्त्रकालीन नेता तथा कार्यकर्ता (कम्युनिस्ट पार्टी र नेता कार्यकता) हरूको भेटघाट र सम्पर्ककेन्द्र रह्यो । नेता तथा कार्यकर्ता उहाँको घरमा को आएन ? नेकपा संस्थापक नेता पुष्पलाल श्रेष्ठ समेत बटुकलाल प्रधानको घरमा आएर उहाँलाई बोलाएर गोरखामा उमेदवार हुने आश्वासन दिइ जानुभयो । उहाँले जगत दाजुमा नेतृत्व, योग्यता भएको कुरामा विश्वास भएरै त्यो आश्वासन दिनुभयो । माक्र्सवादको अध्ययन, लेखन तथा व्यवहारमा पनि उहाँ सक्षम भएकोले उहाँ सबै नेता कार्यकर्ताहरूको विश्वासपात्र बन्नुभयो । क्रान्तिकारी कवि र निबन्धकार जगत दाजुबारे बृहत अन्वेषण हुन जरुरी छ । मानिसहरूले जगत दाजुसँग सल्लाह– परामर्श माग्नु र उहाँले दिनु बराबर हुन्थे । जगत दाजु आफ्नो घरमा आउने आगन्तुक साथीहरूलाई घरमा राख्ने, सिद्धान्त र जीवनशैली बारेमा सल्लाह दिने, आवश्यक पर्दा गाउँमा नेता, कार्यकर्तालाई बोलाउन पठाउने आदि पार्टीका कामहरू गर्नुहुन्थ्यो । उहाँ पनि व्यक्तिगत जीवनमा अध्ययनशील र स्वावलम्बी भएको हुँदा उहाँलाई सबैले कदर गर्थे मात्र होइन, उहाँका निर्देशन÷सल्लाहरू आत्मसात गर्थे । मानिसहरूको बढी आवतजावत हुने घरका परिवार सदस्यहरू अरूभन्दा वेसी शिष्ट हुन्छन् कि ! जगत दाजुको – परिवारका सबै सदस्यहरू मृदुभाषी र हंसमुखी हुनुहुन्थ्यो । त्यो बेला नारायणघाट बजारका प्रतिष्ठित व्यापारी तथा बुद्धिजीवी कृष्णलाल प्रधान, वटुकलाल प्रधान, कृष्णवन्धु पिया, केएल भूषण, सूर्यबहादुर मास्के, मदनमोहन जोशी, ऋद्धिचरण श्रेष्ठ आदि व्यक्तिहरू कम्युनिस्ट दर्शन र गतिविधिबाट ओतप्रोत थिए ।
५) निष्कर्ष
कम्युनिस्ट आस्था तथा निष्ठामा अटल मात्र रहने होइन, त्यसको गहन अध्ययन÷लेखन र चर्चा परिचर्चा एवम् साहित्यिक कार्यक्रमका साथै देशभक्ति सम्बन्धी भेला÷आन्दोलनमा सरिक हुने जगत दाजु बेजोड देशभक्त, सरल र अनुशासनप्रिय हुनुहुन्थ्यो । उहाँका यिनै विशेषताले गर्दा जीवनको अन्तिम अवस्थासम्म सबै ठुला सानाको प्रेरणापात्र बनिरहुभयो । विभिन्न कार्यक्रमहरूमा बुढ्यौली र रोगको कारणले जान नसकेकोमा उहाँ चिन्ता लिनुहुन्थ्यो तर रोगदेखि कहिल्यै निराश हुनुभएन । उमेर र बल राम्रै छँदा उहाँ विभिन्न कार्यक्रम र भेटघाटमा चितवन जिल्लाको गोलाघाट पुग्नु भएन कि भण्डारा, यस्ता नेतृत्व कौशलता र क्रियाशीलता भएका दाजु जगतका ‘जगत अभिनन्दन २०७५’ मा छुटेका – उहाँका व्यक्तित्वका पाटाहरू अब प्रकाशित हुने स्मृति दर्पणमा समेट्न म सम्पादक साथीहरूलाई अनुरोध गर्दछु । दिवङ्गगत दाजुप्रति हार्दिक श्रद्धाञ्जली ।
































