साताको साहित्य : निबन्ध
गाउँ बस्तिका किसानहरूलाई हरेक दिन चटारोमा बित्छ । खेती लगाउनु थन्क्याउनु मल बिउको व्यवस्थापन गर्नु जस्ता कर्मले उनीहरूको जीवनलाई उर्जाशील बनाएको हुन्छ । उनीहरू आफ्ना अग्रजहरूले संरक्षण गरेका विधि र पद्धतिको घेरोभित्र रहेर आफ्नो कर्ममा तल्लिन हुन्छन् । खासगरी असार साउनको महिना प्रमुख खाद्य बाली धान रोपाइको महिना हो । ती दिनहरूमा पहाडका बेसी उपत्याका र भिराला फाँटहरूमा धान रोपाइँको चटारो हुन्छ । धान खेतीमा विभिन्न प्रजातिका बिउको प्रयोग गरिन्छ । खेतको प्रकार हेरेर रसिलो सिमसारमा एक प्रकारको रैथाने जात मानिएको अनदी धानको विशेष महत्व मानिन्छ । हलुका रातो र मोटो सो धान खास पर्वका लागि महत्व दिइन्छ । अरू धान भन्दा धेरै क्यालोरी पाइने भएकोले त्यो धान विशेष माटोमा रोपिन्छ ।
पहाडका भिरालो खेत वा बेसीका कम सिँचाइ हुने गह«ाहरूमा एक प्रकारको रातो धान लगाइन्छ । ठाउँ अनुसार त्यसको नाम सोबारा वा मन्सरा र यस्तै यस्तै भनिन्छ । झलक्क हेर्दा सोबारा र अनदी उस्तै उस्तै लाग्छन् । रूपमा उस्तै देखिए पनि गुणमा धेरै अन्तर छ । यदि कुनै किसानको खेतको सोबारा धान अनदी उब्जने हिले गह्रामा रोपियो भने त्यो हस्किन्छ र फल्दैन वा फलिहाल्यो भने त्यसको स्वाद न अनदी न सोबारा जातको हुन्छ अर्थात बर्णशङ्कर बन्छ । त्यो भन्दा अझ उन्नत वा बढी उत्पादनको बिज्ञापन गर्दै धानको बीउ किसानहरूको खेतखेतमा पुगेको छ । बजारको निम्ति उत्पादन लिन यो बिउबिजन लाभदायक नै होला तर स्वाद पौष्टिकता र टिकाउमा भने बर्णशङ्कर बिउको दीर्घकालिन उत्पादन हुँदैन ।
अहिले धेरै कृषि उत्पादनमा बर्णशङ्कर बीउ छ्यास्छ्यास्ती पाइन्छ । यस्तो बिउले रैथाने जातलाई निषेध गरेको छ । यसो हुनुको कारण बीउ उत्पादन कम्पनिहरूले एकाधिकार लिनु हो । हामी किसान उत्पादन धेरै देखेर मख्ख त पर्छौँ तर हाम्रो संस्कृति हाम्रो प्रविधि सखाप हुँदै गएकोमा पत्तो पाउन्नौँ ।
गाउँ छोडेर शहरमा छोरा बुहारीले घर किनेपछि बाआमा शहर बस्न बाध्य छन्् । अस्ति एकजना दाइसित भेट भयो । गाउँमा अर्गानिक उत्पादनको स्वादमा रमाएका दाइ शहरिया खानपानले बिरक्तिएको भाव ब्यक्त गर्छन् । तरकारी वा फलफुल कृत्रिम जस्तो लाग्छ । रूपमा जति सुन्दर देखिन्छ सारमा त्यस्तो छैन । त्यसो हुनुको कारण बर्णशङ्कर तरकारीको स्वाद हो । हेर्दा रैथाने जातभन्दा सग्लो र धेरै उत्पादन हुने हुनाले किसानका बारीमा बर्णशङ्कर तरकारीले छिट्टै प्रवेश पायो र त्यसले रैथाने जातका तरकारीलाई विस्थापन ग¥यो ।
यी त भए धान खेती वा अन्य खेतीमा बर्णशङ्कर प्रवेशको अवस्था । हाम्रो संस्कृति पनि बर्णशङ्कर उन्मुख हुन थालेको पाइन्छ । उत्पादन सम्बन्धले संस्कृतिको निर्माण गर्छ भन्ने सङ्केत हाम्रो समाजमा भित्रिएको संस्कृतिले पुष्टि गर्न थालेको छ । यस्तो संस्कृति खास गरेर नवधन्याढ्य बन्दै गएका परिवारमा देखा परेको छ । आफ्नो संस्कार संस्कृतिलाई अपमान गरेर पराई संस्कृति अपनाउनु बर्णशङ्करता हो । श्रमलाई सम्मान नगर्नु आफ्नो माटोको आवस्यकताको पहिचान नगर्नु र जिज्युहरूले अपनाएका बैज्ञानिक पद्दतिलाई दुत्कार्दै बिदेशी नक्कल गर्नु वर्णशङ्करको अर्को रूप हो । चेतना र युगको आवस्यकता अनुसार संस्कार संस्कृति परिमार्जन हुँदै जानू एउटा पक्ष हो तर दौरा न सौराको खल्ती भनेझैँ अर्काको देखासिकी गर्नु बर्णशङ्कर चरित्र प्रदर्शन गर्नु हो ।
अहिले युवा जगतमा स्वदेशप्रतिको माया ममता घट्दै गएको छ । यो स्थिति निम्तिनुमा देशको अर्थ व्यवस्था केही हदसम्म जिम्मेवार होला तर युवाहरूमा आफ्नो जन्मभुमिप्रतिको निराशा बन्नुमा बर्णशङ्कर चेतनाको कारण हो । कतिपय नवधनाढ्य नेपालीहरूमा कस्तो बिद्रुप चेतना पस्यो भने आफ्नी गर्भिणी श्रीमतीलाई पर्यटक राहदानीमा अमेरिका वा अस्ट्रेलिया लैजाने र त्यहीँ प्रसुती गराएर आफ्नो बच्चालाई त्यही देशको जन्मसिद्ध नागरिक बनाउने परिपाटीको बिकास भएको छ । नेपाल र नेपालीको लागि यो डरलाग्दो संस्कृति हुन जानेछ । प्राकृतिक हिसाबले हामी सम्पन्न हुँदाहुदै र उत्पादनमा प्रचुर सम्भावना हुँदा पनि मातृभुमिप्रति अविश्वास बढ्नु ठूलो बिडम्बनाको बिषय हो । आफ्नै माटोमा उत्पादनको सम्भावना खोजी गर्दै ती क्षेत्रहरूको बिकाश देश हितमा हुन्छ भन्ने ज्ञान युवा पुस्तामा दिन सकिएन भने नेपालको भविष्य अझ दुरुह बन्नेमा कुनै शङ्का रहँदैन । बचेको जनशक्तिले पनि कृषि उत्पादनमा रैथाने जातको बीउ बिजनको संरक्षण र सम्बर्धन जोगाउन सकिएन भने भोली मरुभूमि बन्ने खतरा पनि उत्तिकै छ । त्यस्तो अवस्थामा बुढापाकाले भनेझैँ ‘धन र संस्कार दुबै नाश, झोली तुम्बा पाखुरीमा टाँस’ हुन सक्छ ।
हामीले हाम्रा सांस्कृतिक उत्सवहरू मान्ने वा मनाउने सन्दर्भमा बर्णशङ्कर चरित्रको टड्कारो दृष्टि हाम्रो सामु आइपुगेको छ । उत्पादनसँग जोडिएको एउटा कृषिकर्म भित्रको धान दिवश मनाउने परिपाटी देख्दा हाम्रो सत्तासन्चालनको चेतनामा पुरै बर्णशङ्कर छाप देखिन थालेको छ । बितेका केही बर्सदेखि धान दिवस मनाउने सिलसिलामा गमलामा धान रोपेर भरमार प्रचार गर्नुले यो प्रचलनको पुष्टि गर्छ । गमलामा धान रोप्नु मात्र होइन धानको बीउ काटेर माला पहिरिएर प्रचार गर्नु बर्णशङ्कर संस्कृति नै हो । बर्णशङ्कर उत्पादन देख्दा रूपमा ठुलो सग्लो र उत्पादनको मात्रा बृद्धि भएजस्तो देखिन्छ तर यसको बीउ बिजन संग्रहयोग्य हुँदैन र पटक पटक नयाँ प्रजातिको बीउ खरिद गरिरहनु पर्दछ । यो पाहुना प्रचलन हो । पाहुना बनस्पती वा अन्न फलफुल धेरै टिकाउ हुँदैन भन्ने कुरा बिज्ञानसम्मत छ । वर्णशङ्कर बिउबिजन उत्पादनमा पुँजिवादी मुलुकहरूले हस्तक्षेप गरेका छन् । उनीहरूले हाम्रो जस्तो बिकाशशील मुलुकलाई बजार बनाएर आफुहरू मालामाल भैरहेछन् । ती राष्ट्रका उत्पादन कम्पनीहरू चाहन्छन् कि हाम्रो परम्परागत प्रचलन र रैथाने अनाजहरू लोप होऊन् । तर हाम्रो सरोकारवाला निकाय गम्भीर छैन । हो, हाम्रो मुलुकमा पनि राष्ट्रिय बीउबिजन वा बाली उत्पादन परियोजनाहरू पनि छन् तर किन सुस्त वा निष्कृय छन् त ? के कमिशनको चक्करमा त यो चलिरहेको छैन ? प्रश्न जायज पनि छ ।
अब अलिकति मुलुकको राजनीतितिर फर्कौँ । राजनीतिक शक्तिहरूमा पनि बर्णशङ्कर प्रबृती बढ्दै गएको हामीले अनुभव गर्न थालेका छौँ । सबैजसो राजनीतिक पार्टीको केन्द्रमा बर्णशङ्कर प्रबृती भित्रिएको देखिन्छ । एकपटक फर्किएर धान बालीको कुरा गरौँ । रातो रङ हुँदैमा सोबारा धानले अनदीको दावी गरेझैँ पार्टी प्रवेश गर्ने बित्तिकै परिवर्तनको ठेकेदारझैँ देखिने वा पार्टी केन्द्रको नेतृत्वमा पुग्ने र नेतृत्वको वरिपरि परिक्रमा गरेर नेता बन्ने चलनले बिचार, क्षमता र कौशलता होइन सारमा वर्णशङ्कर चरित्रको भएन र ? देश र जनताको पक्षमा राजनीति गर्न चाहने शक्तिहरू जनताकै बिचबाट उठेको हुनु पर्दछ । उसको दल वा सङ्गठनले कुनै वाद वा बिचारको मातहतमा आफुहरूलाई उभ्याएको हुनु पर्दछ तर बर्तमान देखिएका केही ब्यक्ति वा झुण्ड त्यस्तो चिन्तनबाट सन्चालित भएको देखिँदैन । खाली आबेग वा उत्तेजनामा आएर क्षणिक लाभ लिँदा देशले कुन बाटो समात्छ हेक्का गरिनु पर्दछ ।
यस्तो नेतृत्वले बिचारको रक्षा गर्छ कि निषेध ? कतिपय राजनैतिक दल वा तिनका हर्ताकर्ता पात्रहरू परम्पराको नाउँमा फेरिन नसक्नु र देशको आर्थिक मेरुदण्ड मानिएको कृषि उत्पादनमा जिम्मेवार नदेखिनुले हामी कता जाँदै छौँ भन्ने अलमलमा मुलुक तैरिइरहेको छ । यी नेताहरूमा देखिएको विचलन वा नैराश्य कतै बर्णशङ्कर चिन्तनको दासता त होइन । यस्तो प्रबृतिमाथि बहस चिन्तन गर्नुपर्ने समय आएको छ । सोबारा वा मन्सरा धानले म अनदी हुँ भनेर दावी गर्दैमा त्यसको गुण टिकाउ र क्षमतालाई कसरी पत्याउनु ! त्यस्तो मान्यतामाथि प्रश्न न उठाउने हो भने यो मुलुक कुन दिशातर्फ जान्छ हामी सबैले गम्भीर भएर सोचौँ ।
































