काठमाडौं । एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले बताउनु भएको छ । उहाँले एमसीसी परियोजनालाई श्रीलंकामा जस्तै फिर्ता नपठाएर नेपाल युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट खरानी हुने दावी गर्नुभएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले देशको स्वाधीनताको रक्षा गर्न चाहने सबैले अमेरिकाको एमसीसी परियोजनालाई कार्यान्वयन होइन, फिर्ता पठाएरै छाड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अमेरिकाले एमसीसी सम्झौता सदनबाट पारित गरेपछि नेपालको उत्तरी क्षेत्रमा हतियारहरु जम्मा पार्न थालेको चर्चा गर्दै अमेरिकाले जे गरेपनि यो दलाल सरकारसँग उनीहरुलाई नियन्त्रण गर्न सक्ने हैसियत बाँकी नै नराखेको भन्दै उहाँले अब सबै देशभक्त क्रान्तिकारीहरु एकजुट भएर एमसीसी परियोजनालाई कार्यान्वयन हुन नदिने र जसरी पनि विफल पार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “एमसीसी सम्झौता सदनबाट पारित गर्न नदिन हामीले निकै ठूलो संघर्ष ग¥यौं तर सरकारले हामीमाथि फासिवादी दमन गरेर सदनबाट पारित गरियो । अब यो परियोजनालाई फिर्ता पठाउने एउटा अवसर हामीसँग छ । अब जुनसुकै हालतमा एमसीसीलाई लागू हुन दिनै हुँदैन । अमेरिकी साम्राज्यवादलाई नेपालबाट लखेट्नैपर्छ । अब हरेक नेपालीले ‘गो ब्याक एमसीसी’ भनेर नारा लगाउनै पर्छ ।”






























