काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा आज काठमाडौंमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तक्र्रिया भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले एमसीसी कार्यान्वयन भए देश युद्धको अखडामा परिणत हुने भन्दै कुनै पनि हालतमा खारेज हुनै पर्ने विचार व्यक्त गर्नुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेता सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा, नेकपा (मशाल)का केन्द्रीय सदस्य अमरबहादुर बुढा र नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले वक्ताको रुपमा धारणा राख्नुभएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओलीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउनेले गर्नुभएको थियो ।
कार्यक्रममा उल्लेख्य रुपमा छापा, अनलाइन तथा इलेक्ट्रोनिक मिडियाहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै वक्ताहरुको एउटै निष्कर्ष थियो– एमसीसी परियोजना अमेरिकाको साम्राज्यवादी परियोजना हो । यो परियोजना नेपालमा लागू भयो भने नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामा गम्भिर खतरा पैदा हुने र देश अमेरिका र चीनबीचको सम्भावित युद्धबाट ध्वस्त हुनेछ । हरहालतमा एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्छ ।