साताको साहित्य : कविता
***
ऐँजेरु लागेको श्रीखण्डको रुख र
मेरो देश उस्तै उस्तै लाग्छ
परजीवीले चुस्ता चुस्तै
प्राणको घिट्कसो सिरसिरे बतासमा तुर्लुङ्ङ झुण्ड्याएर
धिकिरधिकिर गर्दै,
लरबराउँदै धरमराउँदै,
मृत्यको मुखमा बाँधिएर बरबराउँदै,
एउटा श्रीखण्डको रुख
ऐँजेरु पालेर बाँचिरहेछ ।
चितामाथि सुतेको छ
परन्तु बाँच्ने आसमा
आकाशमा आँखा घुमाउँछ
आकाशे पिण्डलाई स्वर्ग देख्छ
चितालाई सिँहासन देख्छ
यमदूतलाई मित्र देख्छ
चितामाथि सुतेर
खै कस्ता सपनाका कथा लेख्छ
कलमलाई तनाव छ
ऐँजेरु लागेको श्रीखण्डको रुख र
मेरो देश उस्तै उस्तै लाग्छ ।
ऐँजेरुले आँत चुस्तै गरेको श्रीखण्डको सपना
ज्यान बहालीमै सिमित छ
न पातमा हरियाली छाउँछ
न हाँगामा पालुवा पलाउँछ
सिख्रो सुख्खा अस्थिपञ्जर बोकेर
ऐँजेरु हुर्काउँछ र
स्वयम् लरबराउँछ
अगाडिको, दुरदर्शी कल्पना त्यसै त्यसै बिलाउँछ
ऐँजेरुले छाती चपक्क समाउँछ
रक्त प्रवाहमा बाँध लगाउँछ
मुटुको धड्कन सकिनसकि चलाउँछ
रोकिँदै छेकिँदै गति बढाउँछ
उसको पहिलो सपना भनेकै
ऐँजेरुको पञ्जाबाट उम्कने हो
पञ्जाभित्रै मर्दै मर्दै जिउने हो
श्रीखण्डको मेरो देशको खबर
यस्तै यस्तै छ
पिलपिले बत्ती सम्झदै
अध्यारोभित्र रुमल्लिँदै छ
ऐँजेरु लागेको श्रीखण्डको रुख र
मेरो देश उस्तै उस्तै लाग्छ ।
न बोक्रामा रसिलो ताकत छ
न हाँगामा पालुवा दिने ल्याकत छ
न आँतमा तातो रगत छ
केवल अस्थिपञ्जर बोकेर ठिङ्ग उभिएको छ
जिउँदो लास झैँ
चितामाथि सुस्तसुस्त सास फेरिरहेछ
खै कतिबेला रोकिन्छ मुटुको धड्कन
अलिपर बसेर गिद्वले पर्खिरहेछ
बेला बेलामा चिता निभाउने वर्षात हुन्छ
जराले तानेको
मौेलिक माटोको थोरै शक्ति पेँडसम्म पुग्छ
अहो ! बिडम्बना
जब शक्ति पेँडभित्र घुस्छ
आखिरमा ऐँजेरुले नै चुस्छ
ओँठमुख फेरि सुक्छ
जब श्रीखण्ड निचोरिन्छ चिथोरिन्छ
महलहरूमा भोज चल्छ झुपडीहरूलाई दुख्छ
यस्तै यस्तै वर्षौदेखि चलिरहेछ
न कहिले रुक्छ
न कहिले सुक्छ
ऐँजेरु लागेको श्रीखण्डको बृक्ष र
मेरो देश उस्तै उस्तै लाग्छ
श्रीखण्डको मेरो देश
मात्रै ऐँजेरुका निम्ति बाँचेको छ
आफ्नै हाँगामा जागेका ऐँजेरु
पल्लो रुखबाट आएका ऐँजेरु
मिलेमतो छ ऐँजेरुहरूमा
मिलेरै निचोर्छन् श्रीखण्डको देश
यो बाँचेको छ — ऐँजेरुका लागि
सकिनसकि उभिनुपर्छ — ऐँजेरुका लागि
यसरी चुसेको छ कि
चुस्ताचुस्तै आँसु सक्किएको छ
लुछ्दालुछ्दै मासु सक्किएको छ
हिमालका काखबाट बुर्कुसी मार्दै
दगुर्ने खहरेहरू
पहाडका छाती फोरेर निस्कने मूलपानीका बहावहरू
तराईका हत्केलामा मुस्कुराउने अन्नपातहरू
जोशिला तन्नेरीहरूका बलिया हातहरू
सबै सबै
ऐँजेरुका पोसिला खाना बनेका छन्
पत्थरहरूमा टल्कने सुन र सिङ्गमरमरका चमकहरू
ऐँजेरुका निसाना बनेका छन्
तैपनि
भोकभोकै ख्याउटे र सिकुटे शरीर बोकेर
सुक्दै चुसिँदै निचोँरिदै
एउटा श्रीखण्डको देश
ऐँजेरुसँग लडिरहेछ
बारम्बार मर्छ र जाग्छ
ऐँजेरु लागेको श्रीखण्डको रुख र
मेरो देश उस्तै उस्तै लाग्छ ।
खगेश्वर भण्डारी
२०८०/०५/०४ मुसीकोट





























