साताको साहित्य : कविता
***
मलिँदै जानु पर्नेमा रुखिँदैछन् गराहरू
गैह्रिँदै जानु पर्नेमा उत्रिँदैछन् जराहरू
मरे काज क्रिया गर्छन् हेर्दैनन् जीवितै छँदा
बोक्रा दामी गुदीभन्दा यहाँ उल्टो छ नर्मदा ।
भ्रष्टाचार खुबै फल्छन्, अन्न फल्दैन खेतमा
हाम्रो देश कहाँ पुग्ला यात्रामा छ अचेतमा !
‘केले रक्षा हुनेहोला दुःख दुर्दान्त उम्लँदा’
गहिरो चिन्तना छैन, यहाँ उल्टो छ नर्मदा ।
ज्ञानका श्रमका खानी युवा अन्तै धपाउँछन्
लोभलालचका घैँटा सत्तामा लप्लपाउँछन्
खेलाई ठगले खाए हाम्रो अमूल्य सम्पदा
यो सुल्टो पार्नु पर्नेछ ! यहाँ उल्टो छ नर्मदा ।





























