फाल्गुन २३, २०७९
काठमाडौँ — फ्रान्समा सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् ।
तस्बिर : रोयटर्स
मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका छन् । अनिश्चितकालसम्म हडताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ ।
मंगलबारदेखि सुरु हुने अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सामेल हुने घोषणा गरिएको छ ।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, उद्योग र कलकारखानालगायत अधिकांश क्षेत्रका कर्मचारी संलग्न हुने भनिएकाले यो हडतालले राष्ट्रिय उथलपुथल मच्चाउने फ्रान्सेली अखबारहरूले लेखेका छन् ।
फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक(पटक हडताल गर्दै आएका छन् । मंगलबारबाट सुरु हुने हडताल छैठौं पटकको हो । तर‚ यसअघि गरिएका हडतालविपरीत सीएफडीटी र सीजीटीलगायत ट्रेड युनियनका श्रमिकहरूले औद्योगिक कारबाही जारी राख्ने कि नराख्ने भनेर प्रत्येक दिनको हडतालको अन्त्यमा मतदान गर्नेछन् । देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने र अर्थव्यवस्थालाई गम्भीर रूपमा क्षति पुग्ने सम्भावना रहेको फ्रान्स न्युज २४ टीभीले सोमबार साँझ उल्लेख गरेको छ । केही मिडियाहरूले यो हडतालले सरकारलाई झुक्न बाध्य पार्न सक्ने समेत उल्लेख गरेका छन् ।
प्रभावशाली मजदुर युनियन सीजीटीका प्रमुख फिलिप मार्टिनेजले फ्रान्सेली साप्ताहिक दु दिमँस अखबारसित भनेका छन्‚ ‘हामीले सधैं भन्दै आएका छौं कि आवश्यक भएमा हामी उच्च गियरमा जान्छौं । यो मंगलबार देखिनेछ ।’
ग्यास र विद्युत् क्षेत्रका कामदारहरूले मार्च ३ शुक्रबारबाट नै हडताल सुरु गरेको र आफ्नो विजय नभएसम्म हडताल जारी राख्ने सीजीटी युनियनका ऊर्जा विभागका महासचिव, सेबास्टियन मेनेस्प्लियरले फ्रान्सेली मिडियाहरूलाई बताएका छन् ।
विद्युत् कर्मचारीहरूले गत शुक्रबारबाटै हडताल सुरु गरेकाले शुक्रबार फ्रान्समा धेरै परमाणु ऊर्जा स्टेसनहरूबाट विद्युत् उत्पादन घटाइएको थियो । त्यसले गर्दा समग्र बिजुली आपूर्तिमा कमी ल्याएको थियो ।
बढ्दो महँगीले दैनिक जीवनयापनको लागत बढिरहेकाले ऊर्जा संकटले फ्रान्सेली अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न पनि कर्मचारीहरूले हडताल जारी राखेर उत्पादन अझ कम गर्ने बताएका छन् ।
यातायात क्षेत्रका दुई प्रमुख राष्ट्रिय रेल कम्पनी एसएनसीएफ र राजधानी पेरिसको ईल द फ्रान्स क्षेत्रको यातायात प्रदायक आरएटीपी दुवैले हडतालमा उत्रिने घोषणा गरेकाले यातायात अधिकारीहरूले राजधानी पेरिसमा ठूलो अवरोध हुने चेतावनी दिएका छन् ।
फ्रान्समा आह्वान गरिएको हडतालका कारण विमानहरूको उडानसमेत ३० प्रतिशतले रद्ध हुने फ्रान्सेली नागरिक उड्डयन प्राधिकरण ९डीजीएसी० ले सार्वजनिक गरेको छ । फ्रान्सको हडतालका कारण युरोपका अन्य सहरहरूमा जाने लामो दूरीका रेल र उडानसमेत प्रभावित हुने बीएफएम टीभीले उल्लेख गरेको छ ।
शिक्षा क्षेत्रका सात प्रमुख शिक्षण युनियनहरूले स्कुलहरू पूर्ण रूपमा बन्द गर्न आह्वान गरेका छन् । हाई स्कुल र विश्वविद्यालयका विद्यार्थीहरूले मंगलबारदेखि कर्मचारीहरूसँगै विरोध प्रदर्शनमा सामेल हुने घोषणा गरेका छन् । मार्च ९ मा फ्रान्सका युवा परिचालन गरी हडतालमा उत्रिने बताइएको छ ।
औद्योगिक क्षेत्रमा सीजीटी मजदुर युनियनले तेल प्रशोधन कार्यकर्ताहरूलाई इन्धनको उत्पादन, वितरण र आयातमा बाधा पुर्याउन हडतालमा उत्रिने र पूरै अर्थतन्त्र अवरुद्ध गर्न आह्वान गरेको छ ।
औषधि, रसायन शास्त्र, एरोनोटिक, अटोमोबाइल र स्टिल कम्पनी, डाँक सेवालगायत १५ लाख कर्मचारीसमेत हडतालमा सहभागी हुने सीजीटीको भनाइ छ । युनियनले ति सबैलाई आन्दोलन सफल नभएसम्म हडतालमा उत्रिन आह्वान गरेको छ ।
आइतबार नै ट्रक चालकहरूले केही औद्योगिक सुविधाहरूमा नाकाबन्दी गरेका थिए भने प्रमुख सडकहरूमा ट्राफिक ठप्प पार्न ‘गो(स्लो’ अर्थात् गाडीको गति घटाएर हडताल सुरु गरेका थिए ।
मजदुर युनियनहरू जसरी पनि सरकारको निवृत्तिभरण विधेयक असफल पार्ने प्रयासमा छन् भने सरकार यसबाट कुनै पनि हालतमा पछि नहट्ने प्रधानमन्त्री एजिजावेथ बर्नले पटक पटक बताइसकेकी छन् ।
राष्ट्रपति इमानुयल म्याक्रोँले हालको निवृत्तिभरणको आर्थिक बोझ राज्यले धान्न नसक्ने र त्यसको भार युवाहरुले धान्नु परिरहेकाले यसलाई परिमार्जन गर्नुपर्ने तर्क गर्दै आएका छन् । राष्ट्रपतिले फ्रान्समा उपचार र अन्य सुविधाले गर्दा नागरिकको आयु बढेको, युरोपमा सबैभन्दा कम उमेरसम्म काम गर्नेमा फ्रान्सेलीहरू रहेको, युरोपमा कम काम गर्ने र बढी लिनेमा फ्रान्सेलीहरू रहेको लगायत तर्क गर्दै निवृत्तिभरणको उमेर बढाउनुपर्ने दाबी गर्दै आएका छन् ।
शारीरिक रुपमा कठिन काम गर्नेहरू र काम गर्न असक्षम रहेको प्रमाण पाएकाहरूका लागि हालको विधेयकले प्रभाव नपार्ने स्पष्टीकरण दिँदै सरकारले यस पटक जसरी पनि यो विधेयक पारित गर्ने घोषणा गर्दै आएको छ ।
सन् १९९८ पछि मजदुर युनियनहरुले गरेको हडतालले केहि क्षति पुर्याए पनि समग्रमा सफल हुन नसकेको फ्रान्सेली मिडियाले जनाएका छन् । हाल आह्वान गरिएको हडताल पनि केहि सातापछि असफल हुने र सरकारले आफ्नो विधेयक पास गर्ने योजनामा रहेको फ्रान्सेली विश्लेषकहरूको दाबी छ ।