दुई फरक कविता

दुई फरक कविता

एक पत्ता सिटामोलको मागपत्र

मलेशिया पुगेको छोरो
काठको बाकसमा फर्काइएपछि
कुबेत पुगेकी छोरी
दोजिया पारेर सताइएपछि
गाउँमा आमा बिरामी छिन्
वडाध्यक्षलाई भन्दा पनि भएन
पालिकाध्यक्षलाई भन्दा पनि भएन
प्रधानमन्त्री ज्यू
एक पत्ता सिटामोल पठाइदिनुस न ।

हजुरलाई टाउको दुखे
हङ्कङ जानोस् बैङ्कक जानोस्
आमालाई कतै लान सकिन्न
तपाइँको स्वास्थ्य बिमामा
त्यो चक्की पाइँदैन भन्यो स्वास्थ्य चौकीले
छन त अलिअली डाक्टरको क्लिनिकमा छ रे
सिफारिस बिना किन्न पाइएन
प्रधानमन्त्री ज्यू
एक पत्ता सिटामोल पठाइदिनुस न ।

विनिर्माणका बिरुद्ध

आँखाको घुम अझै हटेन
नाकको प्रदुषण अझै घटेन
न त बाँसुरीले
बासी धुन ओकल्न छोड्यो
न त कुखुरीले
प्यासी धुन कोरल्न छोड्यो
न हुम्लाले पतरी भोटो टाल्यो
न त जुम्लाले चपरी ठुटो टाल्यो
गुम्यो खै र के
उम्रियो खै र के
सबै उस्तै पुरानै दुरुस्तै ।

वर्ण र वर्गका खाडलहरु
सम्मिने र पुरिने अभियान
जुनकिरीको झिम्झिम भन्दा
चहकिलो नापोमा बढ्नै सकेन
दर्कँदो पानीमा ओत दिन्छु भन्ने वृक्ष
थाकेर उकालो चढ्नै सकेन
छद्म भेषमा सल्बलाएका
माखेसाङ्लाहरुको जुलुस
जस्केलासम्म छरिएका छन्
फुटेको ऐनाको पारो खोजेर
उज्यालो निमोठ्न दरिएका छन् ।

नयाँ मान्द्रोमा बिस्कुन फिजाउने बियाडे,
हली, बाउसे, खेतालेहरु
हिलोबाट पाइला चाल्नै सकेनन्
उही चाल÷उही बिराम
सुन्तला उम्रियो भनेर नाक पसार्दा
कलमी गरिएको बिमिराको रसायनले
जिब्रो पर्प¥याउन थालेकोले
पिच्च थुकेर अर्को बिरुवा
खोज्दै खोज्दै नयाँ बगैँचा
खेती लगाउन ढिलो भैसक्यो ।