‘मानवअधिकार दिवस’ र अधिकार खोजेको मान्छे

‘मानवअधिकार दिवस’ र अधिकार खोजेको मान्छे

एक मुट्ठी प्राण धान्न
एक चम्चा खोले पनि नपाएर
तड्पिएर मर्नु पर्ने विवशताको दुनियाँ
एकसरो मार्किनले भएपनि शरीर छोप्न नसकेर
पुस र माघको वर्फिलो हावामा पनि
केवल आकाश ओढेर
आलाकाँच्चै माटोमाथि
सुत्नु परिरहेको परिवेश भित्रबाट
मान्छेले आफ्नो अधिकार खोजिरहेछ
मान्छे हुनुको अर्थ खोजिरहेछ
त्यहाँ पुग्दैन मानवअधिकार दिवस ।

पढ्नु गुन्नु त खोइ कुन चराको नाम हो
थाहा छैन उनीहरूलाई
बाजे बराजुहरू त बोल्न पनि जान्दैनथे
बाबुहरूले भने बोल्न सिकेका थिए भर्खर भर्खर
काल बनेर आइदियो नरभक्षी
ऊ त्यो सहरको गुफाबाट
तिखातिखा संगीनधारी बन्दुक बोकेर
काला बुट बजार्दै आएको थियो
कसैलाई गोली हान्यो, कसैलाई झुण्ड्यायो
त्यतिबेला पनि
तिम्रो अधिकार तिमीले पाउनै पर्छ भन्न
कोही पनि आएन ।

अहिले भने
मेरा भाइ–बहिनीहरू अलि जान्ने सुन्ने भए
देश दुनियाँ बुझेर
आफ्नो पुख्र्यौलीदेखिको भोक, रोग र शोकको पीडा पनि बुझे
चौविसै घण्टा हाडमासु घोट्दा पनि
एकछाक टार्न धौ धौ भएको व्यथा बुझे
निर्वश्त्र जिउनु पर्ने विवशता पनि थाहा पाए
र, उनीहरूले यो पनि पत्ता लगाए कि
आफ्नो रगत र पसिना थुप्रिएको स्थान
आफ्ना छोरा छोरीलाई समेत
राम्रोसँग बुझाएका छन्
र, बुझाएका छन् अधिकार लिने बुद्धि पनि
त्यसैले यतिबेला
मानवअधिकार दिवस बडो चर्को स्वर उराल्दै आएको छ
तर हामी कहाँ होइन
उही सहरका सुकिलाहरूकै रक्षार्थ ।

म देख्छु मानवअधिकार दिवसरूपी जन्तु
सेतो हात्तीमा चढेर आएको छ
त्यसैले होला असाध्य डलर गन्हाउँछ
केही वर्ष यता
यो मानवअधिकार दिवस
अलि चर्को स्वरमा डुक्रिरहेछ
शाषकहरूकै रक्षार्थ
हामीतिर फर्केर
अनि मेरा भाइ–बहिनीहरूलाई
रगत पसिनाको मोल
संसदमा गएर भीख माग्न
उपदेश पो दिन्छ ।

रगत र पसिनाको मूल्य चुक्ता गर्न
लाखौँको सङ्ख्यामा मेरा सन्तान
सडकमा राँको बालेर काला गुफातिर
सोझिएको यस घडीमा
काला गुफाबाट निस्किएर
संगीनधारी हुँडारहरू
मेरा नाबालक चेलीदेखि वृद्ध आमाको
चीरहरण गरिरहेछन्
मेरा सन्तानको ज्यूदै मासु लुछि रहेछन्
मेरा वासस्थानहरू खरानी बनाएर आगो तापिरहेछन्
निशस्त्र मेरा गाउँलेहरूलाई
ज्यूँदै आँखा फोडेर
शरीरभरि सङ्गीनले चिरेर छियाछिया पारी
सामूहिक हत्या गर्दै
अट्टहास गरिरहेछन्
खोइ किन पुग्दैन मानवअधिकार दिवस त्यहाँ ?

मलाई थाहा छ यो त्यहाँ पुग्दैन
पुग्नु पर्ने यसको जात पनि होइन
कदाचित् पुगिहाले पनि
डलरकै बान्ता गरेर आउँछ र आइरहेछ ।
सदाझैँ यसपटक पनि
यो मानवअधिकार दिवसरूपी जन्तु
काला गुफाहरूकै वरिपरि झुम्मिनेछ
र सहरका पाँच तारेहरूमा
सभा र गोष्ठी गरेर रङ्गीन पानी पिउँदै
ठूल्ठूलो स्वरमा भाषण गर्नेछ
डलर पचाउन थोरै झुसिलो डकार
हाम्रो पक्षमा पनि डकार्नेछ
अनि त्यो भन्दा धेरै त
हाम्रै उछित्तो काढेर
काला गुफावालाहरूकै रक्षार्थ
एक जोडी परेवा उडाउनेछ
त्यसपछि हामीलाई पुनः
कालो गुफामै गएर लम्पसार पर्न
उपदेश दिनेछ
बस् त्यति भएपछि पूरा हुनेछ
सेतो हात्तीमा चढेका मानव अधिकारवादीहरूको कर्तव्य
त्यसपछि आगामी सालभरलाई खर्च जुटाउन
डलरदाताहरूकै भजन गाउन
उतै लाग्नेछ मानवअधिकार दिवस फाइल बोकेर ।

२३ मङ्सिर २०६० (परिभाषा कवितासङ्ग्रहबाट)