खिमलाल गैरेलाई राज्यले वेपत्ता पारेको आज ठ्याक्कै बीस वर्ष पुगेको छ । उहाँलाई आफ्नै निवासबाट २०५९ मङ्सिर ३ गते आजकै दिन तुलसीपुरबाट गएको सशस्त्र प्रहरीको जत्थाले गिरफ्तार गरी वेपत्ता पारेको थियो । हालसम्म उहाँको अवस्थाको कुनै जानकारी छैन । स्वयम् जनयुद्धको नेतृत्व गरेको पार्टी र शीर्ष नेता प्रचण्ड दुईपटक र बाबुरामले एकपटक गरी तीनपटक सरकारको नेतृत्व गर्दा समेत जनयुद्धमा वेपत्ता पारिएका योद्धाहरुको खोजीखबरी हुन सकेको छैन । यतिबेला पनि प्रचण्ड–बाबुरामहरु सम्मिलित संयुक्त सरकार छ भने काङ्ग्रेस नेतृत्वको गठबन्धनीय सरकारले पुनः निर्वाचनको नौटङ्की गरेर संसदको निर्वाचन गराउँदै छ । परन्तु उनीहरुको चुनावी घोषणापत्रमा वेपत्ता योद्धाहरुका यथार्थता बारेमा एक शब्द पनि उल्लेख छैन ।

तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १ भमके दाङमा २०२४ भदौ १९ गते बुबा धर्मराज गैरे तथा आमा रन्तीदेवी गैरेको कोखबाट जन्मिनुभएका खिमलाल गैरे निम्न–मध्यम वर्गीय परिवारका हुनुहुन्थ्यो । सानै उमेरदेखि जिज्ञासु स्वाभावका खिमलालको जीवन जन्म स्थानमा नै बितेको थियो । स्थानीय भ्युँडहर सुनपुर माध्यमिक विद्यालयमा सामान्य शिक्षा हासिल गरेका गैरेले कृषि पेशामा जीवन निर्बाह गर्दै आउनु भएको थियो । पञ्चायत कालीन अवस्थामा कुनै राजनीतिक चासो नभएका खिमलाल गैरे देशमा भएको राजनीतिक परिघटना २०४६ पछि मात्रै राजनीतिमा चासो र देशको चिन्ता गरेको पाइन्थ्यो ।

हार्दिक शुभकामना !

२०४९ ताका तत्कालीन शिक्षक पेशामा मा.बि. भ्युँडहर सुनपुरमा आबद्ध रहेका शिक्षक हिरामणी दुःखीको सम्पर्कमा आउनुभएपछि उहाँमा आफ्नो वर्गको राजनीतिबारे बोध भएको थियो । पञ्चायती व्यवस्था हटेर बहुदलीय संसदीय व्यवस्था स्थापना भएता पनि राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका लागि सङ्घर्ष बाँकी रहेको, राजनीतिक क्रान्ति अधुरो रहेको भन्दै संयुक्त जनमोर्चा नेपाल (नेकपा एकताकेन्द्रको संयुक्त मोर्चा)मा सङ्गठित हुनुभयो । त्यसपछि तत्कालीन पवनगर गा.बि.स. सदस्य भई राजनीतिमा सकृय रहनु भएको थियो । राजनीतिमा सङ्गठित भएदेखि उहाँले पवननगरमा पार्टीका गतिविधिमा सक्रिय रहनुभएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ सालमा जनयुद्ध थालनी गर्दा उहाँ कमरेड सुमनका नामले स्थानीय स्तरमा चिनिनुहुन्थो । जनयुद्धको समयमा सञ्चार क्षेत्रमा कृयाशील रहँदारहँदै स्थानीय प्रहरी सेना प्रशासनको आँखाको तारो बन्नु भएका कमरेड सुमन २०५९÷०८÷०३ गते राती घरमा आउनु भएको कुरा सुराकी मार्फत स्थानीय प्रशासनलाई खबर पुग्दछ र सोही राती उहाँलाई सशस्त्र प्रहरी टिमले घरबाट गिरफ्तार गरी बेपत्ता बनायो ।

यसरी एकजना क्रान्तिकारीको न त अहिलेसम्म राज्यले लास दिन सक्छ न त सास । उहाँसँगै सङ्गठित हुनुभएका धनिराम कंडेल जनयुद्धकै क्रममा सहिद हुनु भयो भने उहाँलाई हालसम्म वेपत्ता पारिएको छ ।

उहाँको श्रीमती लुमा कुमारी गैरे, छोरा दुर्गाप्रसाद गैरे, बुहारी देवी शर्मा, नातिनातिना हेमन्त गैरे र करुणा गैरे हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर