(भुजङ्गप्रयात छन्द)
तिमी फेरि आयौ चुनावी बनेर
तिमी ढाँट्न आयौ मुकुन्डो भिरेर
म विश्वास केले गरौँ बारबार
बहिष्कार गर्दैछु तिम्रो चुनाव । १।
जितायौँ कुरामा फसी चोटि चोटि
अहो ! देश बेच्यौ रहेछौ नि खोटी
यता एक वाचा उता भिन्न काज
बहिष्कार गर्दिन्छु तिम्रो चुनाव ।२।
यता रक्तधारा बगाई लडायौ
उता शत्रुसँगै मिली भोज खायौ
तिमी गर्न थाल्यौ उसैको बयान
यता रक्तरञ्जित् चिसै छन् चिहान ।३।
यताबाट जित्छौ र लिन्छौ प्रमाण
यसैमाथि टेकी बनाई विधान
पुरै देश बेच्छौ र बन्छौ दलाल
तिमी लुट्न जान्ने लुटेरा समान ।४।
यता भोट माग्छौ र जित्छौ र झुम्छौ
उता भीख माग्दै सबै देश घुम्छौ
भिखारी तिमी हौ नदी बेचिदिन्छौ
गरी सन्धि स्वाधीनता छोडिदिन्छौ ।५।
बुझेको छु मैले तिमी भोट किन्छौ
लिई द्रव्य केही पुरै देश दिन्छौ
यही भोट हाम्रो अहो ! बन्छ श्राप
यही भोटले नै बनायो विषाद ।६।
दिएकै त हो भोट कहाँ के ग¥यौ खै ?
बरु देश बेची दलाली भ¥यौ है ।
यता भोट माग्दै उता देश बेच्छौ
भिखारी बनी हात थापेर हिँड्छौ २०७९–७–२८































