समन्वयको डोकोमा घुन र घुर्यान

समन्वयको डोकोमा घुन र घुर्यान

कार्तिक महिना सकिँदै छ । देशैभर चुनाउको धाकधम्की र फोस्रा आश्वासनका स्वर फलाकेका छन् । उत्ताउलो स्वरमा चर्को ध्वनी सुनाउँदै टोलटोलमा अटोचालक चुनाबी गीत बजाएर दौडाई रहेछ । म आफ्नो जन्मभुमी गोरखाको यात्रामा छु । आफू जन्मिएर हुर्किएको पाँच÷छ दशकसम्म त्यही माटोको गन्धमा रमाएको त्यो भुगोल भएर अपनत्व लिने हुटहुटिमा म जहिले पनि हुन्छु । गाउँ छोडेर चितवन आए पनि म आफुलाई गोरखे र मुलतः हर्मेली नै ठान्दछु ।

नारायणगढको बसपार्कबाट भच्चेकको बसमा गाउँ जाँदै छु । सामाजिक सञ्जालले सुचना दिइरहेछ, गठबन्धने चुनावी सभाको त्यो दिनको कार्यक्रमको तालिका । तालिका अनुसार १२ः३० बजे हर्मी भन्ज्याङ्मा चुनावी सभा छ । हर्मी भन्ज्याङ मेरो घर नजिकको बजार हो । बिहान ७ः३० मा बस गुड्यो । अक्सर ग्रामिण सडकहरूमा गुड्ने अधिकांस बसहरू थोत्रा पुराना हुन्छन् र त्यस्ता बसवालाहरूले मनलागी भाडा असुल्छन् । नारायणगढ भच्चेक मार्ग कालोपत्रे गरिएको सडक हो तर बस समितिले राज्यले तोकेको भाडा भन्दा दोब्बर असुल्ने गर्छ । बसले घ्यार्घ्यार गर्दै बाह्रकिलोमा पु¥यायो । बाह्रकिलो बजार वन अतिक्रमण गरेर स्थापना गरिएको स्थान हो । बजारको रौनक र बजारियाको एकता देख्दा राजबल भन्दा जनबल धेरै बलियो हुन्छ भन्ने ठोकुवा गर्न सकिन्छ । पटकपटक अतिक्रमित क्षेत्र भनेर वन बिभागले स्थायी संरचना डोजर लगाएर भत्कायो तर फेरि उही अवस्थामा जान जोड गरिरहेछ । सडक किनारामा निर्माण भएका टहरा र तिनका अगाडि सजाएर राखिएका खाद्य र पेय सामग्री देख्दा ठूलो सहरको कुनै कुनोको झल्को आउँछ ।

बाह्रकिलोमा केही यात्री थपेर बस गुड्यो । हावा खुस्किएको एकापट्टिको टायर घिस्याउँदै बस चोरकाटे बजारबाट उकालो लाग्यो । दरौँदी र भुसुन्डी खोला किनारका फाँटहरू पनि गुल्जार छैन न त गाउँहरू नै झुरूप्प छन् । २०७२ को भुकम्पपछि पुराना घरहरू सबै विस्थापित भए र साना भुइँघर बनेका छन् । म यिनै दृश्य हेर्दै र अतितको सम्झनामा डुब्दै हुन्छु । दायाँतिर बगेको दराँैदी नदीको धेरै पटक जङ्गार तरेको छु । पस्लाङको उकालोमा पसिना बगाएर गोरखा बजार धेरै पटक पुगेको छु । जागिरे जीवनका झण्डै चालीस बर्ष यो बजार र यहाँको चलन प्रशासन साहु महाजनसित पौँठेजोरी खेलेको छु । कयौँचोटी बजारबिचको सडकमा नारा फलाकेर ताली खाएको छु, गाली खाएको छु । आन्दोलनका दिनहरूमा खल्ती रित्तिएको र भोको पेट लिएर भुसुन्डी खोलाको किनार किनार हिँड्दै नवलपुरको उकालो काटेर घरको पिढिमा पौन बिसाएको छु । अतितका यिनै स्मृतिमा डुब्दै गर्दा छोप्राकको कोइलिपानी नजिकैको घुम्तिमा बस रोकिन्छ । लै खा…, इञ्जिन चिस्याउने पानीको पाइप फुटेछ । अब बस थला प¥यो । बसभित्रका सबै यात्रु बाहिर आए । चालक सहचालकले जाँच गरे । पाइप नफेरे बस गुड्दैन भन्ने रोग पत्ता लाग्यो । अब म असमन्जसमा परेँ । हिँडेर जाउँ घुँडा र दमको समस्या छ । पर्खुँ अर्को बस आउला न आउला । झोला बोकेर सडक किनारामा उभिएको छु । गठबन्धने चुनावी अभियानका बोलेरो जिपहरू हुरुरु गुडेका छन् । झोला बोकेर म हातले गाडी रोकाउने इशारा गर्दो छु । लाग्छ कोही त चिनेका पात्रहरू छन् । कुनै गाडिको अघिल्लो सिटमा बस्ने बाहिर हेर्छ र मलाई बिदाइको हात हल्लाउँछ । म ट्वाँ पर्छु । हात उठाएर लिफ्ट माग्ने क्रम जारी छ । एउटा बोलेरो केही माथि पुगेर रोकियो । म त्यो पछ्याउँदै त्यतै लागेँ, लेखनाथ न्यौपाने रहेछन् । ‘सरलाई देखेर रोकेको नि’ उनी हाँसेर नमस्कार गरे । सास बढेर बोल्नै कठिनमा छु र उनी मेरो अवस्था राम्ररी बुझ्दछन् । म गाडिभित्र पसेँ । झण्डै आधाघण्टा बोलेरो गुडेपछि मेरो घर आयो । ‘सर उतै गएर खाना खाउँ’ लेखनाथको प्रस्ताव थियो । भोकै थिएँ तर अस्वीकार गरेँ । घरको करेसोमै कालोपत्रे सडक पुगेकोले केहीबेर घाममा उभिएँ । प्रचण्ड, काजीसाप, हितराजका गाडिहरू हुरुरु गुडे । म आफ्नो घरमा ओर्लिएँ । निर्माणले पुर्णता पाइनसकेको आफ्नो घरसँगै दाइको घर छ । दाइ भाउजू घर थुनेर बाहिरी भ्रमणमा जानुभएकोले घर रित्तो छ । पिँढिमा झोला फालेर म आँगनको ढुङ्गामा थ्याच्छ बस्छु । बिगतको जनयुद्ध ती प्रचण्ड र हर्मी अनि आफ्नो परिवारको चित्र आँखामा आउँछ । यो यही आँगन हो जहाँ छोरी मिना र छोरा महिन्द्रहरू उफ्रेका नाचेका थिए । यो यही आँगन हो पटक पटक प्रहरीहरूले बुट बजारेका थिए र त्यस्को प्रतिकार स्वरूप मिना महिन्द्रले बलिदानी गरेका थिए । हामी दाजुभाइको सिङ्गो परिवार जेल हिरासत र प्रहरीकोमा तारिख खेपेका थियौँ । बिगतको स्मरणले मन एकप्रकारले कोक्कियो ।

तल भन्ज्याङमा माइक बज्यो । काङ्गग्रेसको सुरेन्द्र पाण्डेको भाषणपछि प्रचण्डको भाषण शुरु भयो । म अली पर काप्रोको बोटमुनी सरेँ । उनले बिकाश र समन्वय अनि लोकतन्त्रको रक्षा भनेर मत मागे । यो त्यही हर्मी हो उनको आह्वानमा यस क्षेत्रका एक दर्जन युवाहरूले जनयुद्धमा सहादत लिएका थिए ।

यो त्यही हर्मी भन्ज्याङ हो जतिबेला नेकपा मशालको जिल्ला सेक्रेटरीमा बादलजी थिए र उनैको अगुवाइमा प्रचण्डले हतियारबद्ध युध्दको आबश्यकताबारे लामो ब्याख्यान दिएर हामी युवाहरूलाई जुरुक्जुरुक उचालेका थिए । त्यसको केही महिनापछि अर्थात् २०४५ साल बैशाखको तेश्रो हप्ता सिह«ानचोकमा हतियारबद्ध तालिमको आयोजना गरिएको थियो । आजै जस्तो लाग्छ त्यस कार्यक्रमका लागि आलु काउली र रायोको साग बोकेर गाग्रेको उकालो चढेको थिएँ । त्यो बसाइको सबै ब्यवस्थापनमा हामी दुइ दाइभाइ लागेका थियौँ । त्यसपछि वर्गसङ्घर्षको पाठ निकै घोक्यौँ र प्रचण्डको अगुवाइमा आएका सबै दस्ताबेजले काङ्ग्रेसलाई वर्गबैरीमा किटान ग¥यो । २०५२ पछि काङ्ग्रेसका कतिपय युवाहरू प्रहरीको पोशाकमा गाउँगाउँ छिरेर हाम्रा विद्यार्थी पक्रने थुन्ने कार्यमा उत्साहित भए ।

तिनै प्रचण्ड हुन् जनसेनालाई बिघटन गराएर नेपाली क्रान्तिलाई अलपत्र अवस्थामा पु¥याउने र आज लोकतन्त्रको दुहाई दिँदै घुन र घु¥यान बोकेर चुनावी यात्रामा छन् ।

चुनावमा वौद्धिक वा बिबेकको मतको अर्थ नरहने हुन्छ । चोर, लुटेरा, गुण्डा जो जसले धेरै जम्मा गर्छ जित त्यसैको हुने रहेछ । हो, गोरखा क्षेत्र नम्बर दुईमा प्रचण्डको जित निश्चित त छ र गोरखामा बिकाश पनि होला । केही अग्ला डाँडामा भ्यु टावर कुनै थुम्का थलिमा मन्दिर र बाटाहरूमा अलकत्रा बिच्छिने छन्, तर ती सडकले ल्याउने उनै रक्सिका क्रेट, चाउचाउ र भारतीय आलु चामलको बोरा सिवाय केही हुँदैन । हो, आज प्रचण्डका वरिपरि घुम्नेहरूले बिकाशका नाउँमा उत्पादन योग्य फाँट र समथर जग्गामा शहरीकरणको नारा दिएर घर जग्गा कारोबार गर्ने छन् । तिनै दुई नम्बरिवालाहरूले खाडीमा पसिना बेचेर पठाएका धन सोहोरेर आफू सम्वृद्धको साथै सलामी स्वरूप प्रचण्डको जी हजुरीमा टक्र्याउने छन् । (बाँकी आगामी अङ्कमा)