काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाको संयुक्त आयोजनामा आज विहान निर्वाचन आयोगको गेटमा संसदीय निर्वाचन बहिस्कार गरौं भन्दै नाराबाजीसहितको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी, सुनिता बोगटी, अर्जुन बोगटी, युवराज थापा र प्रतिरोध बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई दरबारमार्ग स्थिति प्रहरी कार्यालयमा राखिएको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरुले संसदीय निर्वाचन बहिस्कार गरौं, दलाल संसदीय व्यवस्था मूर्दावाद, संघीय जनगणतन्त्रका लागि संघर्ष गरौं, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाएका थिए । प्रदर्शनकारीहरुले कालोझण्डा र व्यानरसहित विरोध प्रदर्शन गरेका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी)ले भदौमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नै कार्यनीतिक रुपमा संसदीय निर्वाचनको बहिस्कार आन्दोलन देशैभर चर्काउँदै आएको छ । पार्टीले गरेका शान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको कडा शब्दमा विरोध र भत्र्सना समेत गर्दै आएको छ ।