गाउँमा चहलपहल सुरू भयो
सहरका गल्ली गल्ली तात्यो
बृहत मिटिङ्ग राखियो
र निर्णय सुनाइयो
क्रान्ति भेट्ने
क्रान्ति खोज्ने
क्रान्ति भेट्ने
क्रान्ति खोज्ने
एकताबद्ध हुने
गिता कुरान बाईबलको कसम खाईयो
निधारमा लोहा छाप लगाएर
क्रान्तिकारी जात छुट्टाईयो
र नारा घन्काईयो
क्रान्तिकारी जिन्दावाद ।
जुलुस उफ्रियो
जुलुस मच्चियो
पहाडको भेद नपुग्दासम्म
फेरि निधार छोपेर मिटिङ्ग गरियो
र निर्णय सुनाईयो
क्रान्तिको बाटो सकियो
कोही पुरानै बाटो फर्किए
कोही दायाँ बायाँ लागे
ऊ आयो
खोस्रन थाल्यो
“अरे मुर्ख हजार बर्ष लाग्छ”
ऊ मुस्कुरायो
“नखोस्रिए लाखौ बर्ष लाग्छ”
केही ढुङ्गा निकाल्यो र चट्टानमा हिर्कायो
हिर्काउँदा हिर्काउँदा
हातबाट रगत बग्यो
“अरे मुर्ख यो पीडाभन्दा
त्यही छाप्रोको पीडा कम छ”
उसले ठोक्यो
फेदमै ठोक्यो
जरामा ठोक्यो
जमिन थर्काउँदै पहाड खस्यो
उ त्यहीँ पुरियो
उनीहरु दौडिएर झण्डा उठाए
र जुलुस अघि बढ्यो
क्रान्ति जिन्दाबाद ।