सुर्खेत हिरासतका १२ दिन : इन्स्पेक्टर राजन भट्टराईको ज्यादतिको फेहरिस्त

सुर्खेत हिरासतका १२ दिन : इन्स्पेक्टर राजन भट्टराईको ज्यादतिको फेहरिस्त

८७ वर्षीय वृद्धा आमा । २०४८ देखि डिप्रेसनबाट पीडित । २०७० देखि क्रोनिक ओवस्ट्रक्टिभ पल्मोनरी रोगबाट ग्रस्त । अनि २०७२ देखि पार्किन्सनले थलिनुभएको । २०८१ वैशाख १४ गते दाहिने खुट्टाको हिप रिप्लेसमेन्ट गरिएको अवस्था । सधैँ अक्सिजनमै राखी रहनुपर्दा बाहिर हिँडाउने र फिजियो गर्न लाने काम लामो समयदेखि गर्न सकिएको थिएन । मैले विगत २ महिनादेखि वाकरको सहायतामा हिँडाउन कोशिस गरिरहेको थिएँ । आफूलाई जन्मदिने आमाको यो उमेर र अवस्थामा सेवा गर्न पाउनु मेरो लागि अवसर र दायित्व दुवै थियो । संसारकै सबैभन्दा आदरणीय र प्रिय आमालाई अरु दिनजस्तै २०८२ फाल्गुन १३ गते विहानको नास्ता र औषधि गराएर रिप्लेसमेन्टको फिजियो गराउन चार खुट्टे वाकरमा लिएर चोकतिर जाँदै थिए । आमाको अक्सिजन लेबल चेक गर्दै, थाकेपछि कुर्सीमा बसाउँदै लैजाँदै थिएँ । आमाको पछाडि पछाडि डिप्रेसन कम गर्न आमासँग भिडियो खिच्दै हँसाउँदै आफूले जानेको फिजियोथेरापी गराउँदै पनि थिएँ । त्यो दिन आमा र मेरो ३ वटा भिडियो बनाएको थिएँ । जसमध्ये अन्तिम भिडियो १ः५ मिनेटको थियो । हाँस्दै भिडियो बनाउँदै गर्दा एक्कासी प्रहरीको गाडी मेरो अगाडि आएर रोकियो । ‘नारायण न्यौपाने को हो ?’ भन्ने प्रहरीको आवाजले म झसङ्ग भएँ । गाडिबाट एकजना प्रहरीले ‘यता आऊ’ भने । मैले किन भनेर प्रश्नै गर्न नपाई समातेर प्रहरी भ्यानमा हाल्न खोजे ।

मैले भने– म विरामी आमालाई फिजियो थेरापी गर्न लैजादैछु । तपाईहरुले देखीरहनु भएको छ त, यस्तो अवस्था कि आमालाई बाटोमै छाडेर कसरी तपाईहरुसँग जानु ? आमालाई घरसम्म त पु¥याउन दिनुस् । उता आमा पनि ‘मेरो छोरालाई के गर्दैछौं ?’ भन्दै रुन थाल्नु भो । बाटामाथिका पसलका मानिसहरु र बाटामा हिँड्ने मानिसहरु पनि ‘के भयो ?’ भनेर सोधी खोजी गर्न थाले । हल्लाखल्ला र भिडभाड भएपछि मेरो छोराले पनि थाहा पाउँछ र दौडदै हामी भएको ठाउँमा आएर ‘मेरो बाबाको के गल्ती छ र गाडीमा हाल्नु भो ?’ भन्छ । मैले प्रहरीको त्यहाँको मुख्य व्यक्तिलाई सोधेँ– ‘मलाई गिरफ्तार गर्ने कुनै पक्राउ पुर्जी ल्याउनु भएको छ ? मैले खाना पनि खाएको छैन, दुई वर्षदेखि म आमाकै औषधि उपचार तथा सेवामा लागिरहेको छु ।’ केही सुनेनन् । जबर्जस्त गाडीमा हालेर अगाडि बढाउन खोज्यो । पुलिसहरु कति निर्दयी, अमानवीय हुँदा रहेछन् । मेरी आमाको त्यस्तो अवस्थामा थारै मानवीय संवेदना पनि देखाएनन् । म माथि एउटा अपराधीको जस्तै व्यवहार गरे । यस्तो निर्दयी प्रहरीको कमाण्डर को रहेछ ? भनेर जान्न मन लाग्यो । पछि थाहा पाएँ– ती व्यक्ति प्रहरी निरीक्षक राजन भट्टराई रहेछन् ।  ममा असह्य पीडा र आक्रोश भयो । मलाई किन गिरफ्तार गरेका हौं ? मेरो कसुर के छ ? भनेर प्रश्न गर्दा एक्कासी ममाथि मुक्का प्रहार गरे । मैले ‘नागरिकलाई नियन्त्रणमा लिएर हान्न पाइन्छ, कानुन हातमा लिने ? भनेर प्रतिवाद गरेँ । ती निरीक्षक भट्टराईले तथानाम गाली गर्दै मेरो मुखमै थुके । मैले प्रतिवाद गर्न खोजेपछि मलाई अर्को प्रहरीले समातेर अठ्याएर राख्यो । मेरो छोराले बाबाको के गल्ती भयो के गर्नुभएको ? किन हानेको भन्दै गर्दा प्रहरी निरीक्षक राजन भट्टराईले अगाडिको सिटबाट उठेर मेरो छोरालाई पनि निर्घात कुटिरह्यो । मैले ‘बरु मलाई पिट’ भन्दै कराउँदा लठ्ठी र लात्तीले जथाभावी हानिरह्यो । प्रहरी निरीक्षक राजन भट्टराईले यति असभ्य गाली गलौज ग¥यो कि त्यो उल्लेखै गर्न सकिन्न । जबर्जस्त लछारपछार गरेर ती भट्टराईले प्रहरी भ्यानमा हालेर हामी दुवै बाउ छोरालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्राङ्गणभित्र पु¥याएपछि मात्र कुट्न छोड्यो । उसले यस्तो फोहरी गाली ग¥यो कि नेपाल प्रहरी संस्थाकै बेइज्जत गरिरह्यो । सोधपुछ फाँटका प्रहरीले मलाई पानी खानुस् भने । ‘तपाईँमाथि अमानवीय व्यवहार भएको भए कानुनमा जान सक्नुहुन्छ’ भन्यो । त्यसपछि हिरासतमा राखियो । त्यसको केही घण्टापछि आफ्नै घरमा बसिरहेका कर्णबहादुर बुढा, राजन, पूर्ण तिवारी (एउटा हात नभएका अपाङ्ग), रत्नबहादुर ओली (घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएका) र अन्य गरी नौ जनालाई पनि दुई साढे दुई घण्टाभित्र गिरफ्तार गरेर ल्याइयो । राति ११ बजे कर्णाली प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणको लागि लगियो । मैले आफूमाथि भएको हातपात र दुव्र्यवहारका बारेमा चेक जाँच गर्ने डाक्टरसँग त्यहाँ भनेँ ।

भोलिपल्ट बिहान ८ बजे एकजना प्रहरी अधिकृत हामी नजिक आए र सोधे– तपाईँहरूले निर्वाचन बहिष्कार किन गर्नुभयो ? उसको हातमा केही लिखित प्रश्नहरूको लिस्ट थियो । हामीले ‘यो निर्वाचन गरेर जनताका आधारभूत समस्याहरू समाधान हुँदैन, सुशासन र जेन्जी युवाहरुले उठाएका मागको सम्बोधन हुँदैन, भष्टाचार नियन्त्रण हँुदैन, शिक्षा स्वास्थ्य तथा रोजगारको ग्यारेन्टी हँुदैन, बरु सर्वपक्षीय सरकार गठन गर, विज्ञहरूको मन्त्री मण्डल बनाऊ, संविधान संशोधन गरेर निर्वाचन गरौं भन्न खोजेको मात्र हो’ भन्यौं । हामीले अझ थप्यौ– ‘तपाईंहरुले हामीलाई निर्वाचन बहिष्कार गरिरहेको अवस्था रंगे हात पकडेर ल्याएको पनि हैन । हामी त कोही वृद्ध आमाको स्याहार गर्दागर्दै, कोही बारीमा आलु खन्दा खन्दै, कोही घरमा सुतेको बेला, कोही साइकिलमा होलसेल सामान बेच्दै गर्दा बलजफ्ती ल्याइएका हौं । गणतन्त्रमा यस्तो अराजकता होला, रक्षक प्रहरी नै भक्षक होलान् भन्ने कल्पना पनि गरेका थिएनौँ’ भन्यौं र यही व्यहोरालाई भन्ने लिखित पनि गर्यौ ।

१४ गते बिहान ११ बजेतिर प्रहरी उपरीक्षक सुधीरराज शाहीले आफ्नो कार्यकक्षमा बोलाउदै तपाईँहरूले के गरेको भन्दै जंगिए । मैले भने– ‘तपाईंको प्रहरी निरीक्षकले वृद्ध आमालाई हिँडाउने र फिजियो थेरापीमा लैजाँदै गर्दा मलाई दुव्र्यवहार गरेर यहाँ ल्याउनुभएको हो, मैले निर्वाचनमा जानेलाई छेकेको पनि थिइनँ’ । तर उनले मेरो कुरा सन्नु चाहेनन् ।

खाना खाएपछि ११ बजेतिर हातमा हत्कडी लगाउँदै सरकारी वकिल कार्यालय सुर्खेतमा पु¥याइयो । सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाईंले ‘वहाँहरुलाई किन ल्याएको हो ?’ के गतिविधि गर्नुभयो ?’ भन्दै प्रहरी असइलाई साधिन् । उनले थप अगाडि सोधिन्– ‘उनीहरुबाट के के कागजात वा सामान बरामद भयो ? असइले भने– केही छैन । अनि आरती चपाईंले भनिन्, ‘यस्तो सुझबुझ भएका मान्छे चुनावमा जाने, विजय भएर आउने हो नि ? अनि मैले भने– ‘यो चुनावबाट नागरिकका समस्या समाधान हुँदैनन्, यहाँका मुख्यमन्त्री, जिल्ला समन्वय प्रमुख, वडा अध्यक्ष जसले राज्यकोषबाट तलब लिन्छन्, चुनाव प्रचारमा गएका छन् । मसँग भिडियो रेकर्ड छ । यो निर्वाचनविरोधी हर्कत हो कि होइन ? उनीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?’ प्रति प्रश्न गरेँ । हामीले केही नगर्दा पनि प्रहरीले किन नियन्त्रणमा ल्यायो ? भन्दै प्रतिवाद ग¥यौं । ‘नेपालको सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न २०७०÷२०७१÷२०७३ गरी ३ पटकसम्म सरकारका नाममा आदेश जारी गरेको छ । कार्यान्वयन भएको छ र ? उठेका उम्मेदवारहरू यदि मतदातालाई मन परेन भने खाए खा नखाए घिच भन्न पाइन्छ ? मतदान स्थलमा हामी नो भोट गर्छौं भन्दा तपाईंले के व्यवस्था गर्नुभएको छ ? भन्ने प्रश्न हामीले राख्यौं । तपाईहरुको बयान म पछि पठाउँछु भन्दै उनी उम्किए । त्यसपछि ३ बजेतिर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा लगियो । २ देखि २.५ घण्टा बसालेर हामीलाई पक्राउ गरेको २४ घण्टापछि भोलिपल्ट १४ गते मात्रै अराजक गतिविधि गरेको भन्दै १३ गतेको मितिको पत्र थमाइयो । २२ गते भन्दा आधा घण्टा बढी हामी थुन्दैनौं मुक्त गर्छौं, ससम्मान छोड्छौं, भन्दै प्रहरी उपरीक्षक र जिल्ला प्रमुख जिल्ला अधिकारी दुवै जनाले हाम्रा साथीहरूसँग भने । तर ती सबै भनाइ सबै हावामा उडे । यो वा त्यो बहानामा २५ गते मात्र हामीलाई छोडियो ।

हिरासत मै रहदा २३ गते अचानक मेरो प्रेसर घटेर म बेहोस भएँ । ‘हिरासतका अन्य साथीहरूले बिरामीलाई तुरुन्त अस्पताल लगेर उपचार गर, उनको बाँच्न पाउने अधिकार सुरक्षित गर’ भन्दै नारा लगाउनु भएछ । यस्तो आवाज उठाउन थालेपछि मलाई कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सीमा राखी उपचार गरिएछ । केही प्रहरी भाइहरुले राम्रै सहयोग पनि गरेछन् । तीन दिनको उपचारपछि म डिस्चार्ज भएँ ।
हाल मेरो अवस्था बिस्तारै सामान्य हुँदै गएको महसुस गरेको छु । हिरासतमा रहँदा हामीलाई दिइने खाना ‘रु ४० को हो’ भनिन्थ्यो । त्यही खाना जे जति रुच्थ्यो खान्थ्यौं । चामल न्यूनकोटीको थियो, दाल गाईवस्तुलाई जस्तै धेरै नुन हालेर दिइन्थ्यो । तरकारी नगन्य रुपमा (एक चम्चा जति मात्र) दिइन्थ्यो । यो सरकारी पैसा अनुसारको हो वा कमिसनको खेलमा त्यस्तो खाना दिइन्थ्यो, थाहा भएन । हामीलाई राखेको कोठाको ट्वाइलेट बिग्रेर कोठा दुर्गन्धित भएको २÷३ महिना भइसकेको रहेछ । हामीले त्यो बनाउन अनुरोध गर्यौ तर एकजना डिएसपीले ‘तपाईंले भनेर हुन्छ’ भन्दै जङ्गिए । बनाउने पैसा छैन भन्दै कुनै ध्यान दिएनन् ।

हामीसँग हिरासतमा गुण्डागर्दी गर्ने गरेका युवाहरू नै धेरै रहेका थिए । हामी रहने कोठामा पनि केही २-४ पटक आइसकेका भाइहरु परेका रहेछन् । मैले समय समयमा भाइहरूको लत छुटाउन प्रोत्साहन गरे । दुई चार दिनमै ‘अब हामी नराम्रा गतिविधिहरु सबै छोड्छौ पढाइमा ध्यान दिन्छौँ । बुवा, हजुरबाट हामीले धेरै कुरा सिक्यौ, समाज समाज जस्तो बन्न हजुर जस्ता धेरै मानिस चाहिँदा रहेछन्’ भन्दै आफू सुध्रिने वाचा समेत गरेका थिए । म २५ गते छुट्ने बेला पुनः हिरासतमा पुगी उनीहरूसँग विदाई हुँदा सबैले ‘हामीलाई रुवाएर जानुभयो’ भन्दै आँसु पुस्दै थिए ।
अन्तमा, नियन्त्रणमा लिएपछि अपमान गर्ने, तुच्छ शब्द बोल्दै गालिगलोज गर्दै मरणासन्न हुने गरि कुटपिट गर्ने हाम्रै करबाट पालिएका प्रहरी निरीक्षक राजन भट्टराई (नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ माडेगाउँ (कुमाल गाउँ) कालिकोट, स्थायी घर भइ हाल जिल्ला जिल्ला प्रहरी कार्यालय सुर्खेत क्षेत्राधिकार पर्ने विरेन्द्रनगर अन्तर्गत नगर प्रहरी प्रमुख वर्ष २७) लाई न्यायोचित कारबाहीको जोडदार माग गर्दछु ।

यस अघि पनि माघ ४ गते निज राजन भट्टराईले शान्तिपूर्ण रूपमा मङ्गलगढी चोकबाट जुलुस सहित पिपल चौतारामा पुगी आमसभा गरिरहेको समयमा स्टेजमा बोल्दै गरेका केन्द्रीय सदस्य रत्न ओलीको माइक, स्पिकर खोसेर बोल्नै नदिने उदण्ड चरित्र प्रदर्शन गरेका थिए । त्यस्तैगरी निजले माघ २२ गते जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई ज्ञापनपत्र बुझाउन प्रतीक्षा गरी बसेका केन्द्रीय सदस्य कर्णबहादुर बि.सी.लाई हात बटारेर घाँटी अठ्याएर गिरफ्तार गरेका थिए । उहाँको हात र घाँटी हालसम्म पनि दुखि रहेको छ ।