२०८२ भाद्र २३ र २४ गते योजनाबद्ध रुपमा जेजी विद्रोह गराइयो । जेनजी विद्रोहको योजना कहाँ बन्यो ? कसले बनायो ? भौतिक संरचनाहरु जलाउने योजना कता बन्यो ? यसको कुनै खोजी हुन सकेको छैन । सुशीला कार्की नेतृत्वको सरकार बन्यो । सरकारले फागुन २१को निर्वाचन ग¥यो निर्वाचन पछि रास्वपाको सरकार बनेको छ । सरकारले प्रशासन सुधारका सय बुँदाको पाँचौ नं बुँदामा दलित तथा ऐतिहासिक रुपमा बहिस्कृत समुदाय माथि,राज्य,समाज र नीतिगत संरचनाबाट भएका अन्याय ,विभेद र अवसरवञ्चनको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको अधार तयार गर्ने १५ दिन भित्र राज्यका तर्फबाट औपचारिक क्षमा याचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने भनेको छ । सोही बुँदाको आधारमा रास्वपाका अध्यक्ष रवि लामिछानेले चैत्र १९ गतेको पहिलो संसदको बैठकमा दलित समुदायसँग माफी पनि मागेका छन् । उनले मागेको माफीलाई रास्वपा भन्ने पार्टीको तर्फबाट दलित समुदायसँग माफी मागिएको रुपमा हेरिएको छ । राज्यको तर्फबाट माफी मागिएको छैन । राज्यको तर्फबाट माफी माग्नलाई प्रधानमन्त्रीले माग्नु पर्ने थियो तर राज्यको तर्फबाट माफी माग्न सकिएको छैन । दलित समुदायसँग माफी नै काफी हो कि ? जसरी निकै प्रचार प्रसार गरिएको छ । अहिले बनेको नयाँ सरकारले दलित समुदायसँग माफी माग्नु निकै महान काम हो भन्ने खालको भ्रम छर्न खोजिएको छ । सरकारले दलित समुदायसँग माफी माग्नु पर्ने थियो । अहिलेसम्म नेपालमा बनेका सरकारले दलित समुदायसँग माफी नमागेकाले दलित माथि उत्पीडन, विभेद कायम रहेको हो । अब माफी मागियो, माफीको कमी थियो माफीले सबै दलित उत्पीडित समुदायको सबै समस्या चटक्कै सकिन्छ ,समाजमा विभेद सकिन्छ, भन्ने जस्तो सामाजिक संजालमा र समाचारहरुमा पार्न खोजिएको छ । के यत्तिले नै दलित समुदायको सबै समस्या र विभेदहरु सकिएको छ त?
दलित समुदाय तीन हजार,पैंतिस सय वर्षदेखि उत्पीडन सहँदै आएको समुदाय हो । यो समुदाय समाजमा आर्थिक रुपमा उच्च जातीय समुदाय भन्दा पछाडि पारिएको समुदाय हो । यो समुदायको काँधमा टेकेर आजका साहु,महाजनहरु ,धनी, उच्च बन्ने मौका पाए । राज्यले कानुनै बनाएर दलित समुदायमाथि उत्पीडन गर्दै आयो । ठूला जातिहरुको सेवा गर्नु भन्दै नियमहरु बनाए । खास भन्ने हो भने जन्मकै आधारमा उत्पीडित समुदायको हातको पानीसम्म चलेको छैन । आज पनि घर,समाजले दलित जातिलाई मान्छेको रुपमा नै व्यहार गर्दैन । दलित हो, मलाई कोठा दिनु त,भनेर भन्ने हो भने आज पनि कोठा पाउन नसक्ने स्थिति दलितको छ । आर्थिक रुपमा कमजोर, सामाजिक रुपमा बहिस्कृत,अछुत जाति राज्यको पहुँचको हिसाबले पहुँचबाट टाढा,शैक्षिक हिसाबले शिक्षा लिनबाट वञ्चित,समाजले राज्यले मान्छेको रुपमा नै अहिलेसम्म पनि लिन नसकेको समुदाय हो । समाजले उनीहरुलाई सिधै अछुत बनायो । समाजले उनीहरुलाई छिछि, दूरदूर गरेर राख्यो । उनीहरुको पसिना श्रम सिधै खोसेर खायो । माथिल्ला बनाएका जातिको सेवा गर्नु भन्दै सेवामा खटायो । विगतमा धारा, कुवा ,पँधेरा, पाटी, पौवा,कुवा, गुरुकुल स्कुल सबैबाट टाढा रहनु पर्छ भन्दै राख्यो ।
दलित हरुबाट उच्च जातिहरु टाढा रहे दलितहरुलाई उनीहरुले टाढा राख्न चाहे । उनीहरुको हातमा सत्ता सत्ता थियो ।सत्ताले उच्च जातिहरुलाई नै साथ सहयोग समर्थन जनायो । दलितहरुको नत राज्य रह्यो नत समाज । अपहेति तिरस्कृत जीवन जिउँदै जीवन कटाउन यो समाजले यो राज्यले बाध्य पा¥यो । उनीहरुको हातको खाना चल्दैन । अहिले पनि छोएको खान आनाकानी गर्ने आमाबुबाहरु मस्तै हुनुहुन्छ । उनीहरुले छोएको उनीहरुको केही नचलेर दुःख पाएका छन् । उनीहरुको पुर्खौं पूर्खाले यो धर्तीमा रगत पसिना पोखे पनि रगत पसिनाले यो धर्तीलाई सिन्चिए पनि दलित भनेर स्कुल जान नपाउने,कुनै पढ्न,लेख्न नपाउने,ज्ञान गुनका कुरा सुन्न नदिने, सुनेमा तामा वा पित्तल पगालेर कानमा हालिदिनु,बोलेमा जिभ्रो काटिदिनु,उनीहरुले राम्रो लुगा लगाउन नहुने, उनीहरुले राम्रो बनेर हिँडेमा समेत ठूलाबडाको ठूला जातको कुसाइत हुने वा दलितले बाटोमा हिँड्दा समेत माथिल्लो बाटो हिँड्न नहुने भनेर गरिएका उत्पीडनहरु कम दर्दनाक छैनन् । एउटा पन्डित पुजारीको स्वर्ग पु¥याउने सपनामा जिन्दगी चलेको हुन्छ । एउटा दलितको गुजाराको माध्यम केही गर्न पनि अछुत बनाइएका कारण हुन सकेको हुँदैन ।
आज पनि समाजले बनाएको कथित तल्लो जाति भएकै कारण मान्छेहरुको हेराइमा फरक हुन्छ । अहिले पनि बाटोघाटो हिँड्दा डुल्दा हत्त न पत्त थर सोध्नेहरुको कमी छैन । थर सोधेपछि समाजले तल्लो जाति बनाएको जाति कामी,दमै, सार्की, वादी,मुसहर ,डोम,चमार वा यस्तै भनेर भन्ने वित्तिकै मन मनमा लुकेर बसेको विभेदको रुप अनुहारमा अभिव्यक्त भइसकेको हुन्छ र अनुहारमा नै परिवर्तन भएको हुन्छ । त्यही थर समाजमा माथिल्लो जाति हो भन्ने वित्तिकै सरर हँसिलो रसिलो मुहार भइहाल्ने हाम्रो समाज छ । यस्तो हुनुको कारण समाजमा व्याप्त जातीय विभेद नै हो ।
दलित जातिमाथि भएको उत्पीडन त्यो अरु कुनै जातिले सहनु परेको भए उनीहरुले अहिले सम्म के के गरिसक्ने थिए । तर दलितमाथि यो वा त्यो बहाना गरेर उत्पीडन कायमै छ । दलित भएकै कारणले प्रेम हुन सक्दैन । दलित जाति भएकै कारण अन्तरजातीय प्रेमीहरुले छुट्टिनु परको छ । तल्लो जाति भएकै कारणले उत्पीडित समुदायका छोरी चेली बलत्कार भै मारिनु परेको छ ,बलात्कृत हुनु परेको छ । अन्तरजातीय विवाह वा प्रेमलाई सहर्ष स्वीकार नगर्ने, अन्तरजातीय विहाहितहरुले अहिले पनि समाजबाट बहिस्कृत हुनु परेको छ । अन्तरजातीय विवाह गर्नेहरुको घर,परिवारबाट बहिस्कृत हुनु परेको छ । अन्तरजातीय प्रेम गरेकै कारण रुकुमका नवराज विक सहित ६ जनाले अनाहकमा ज्यान गुमाउनु प¥यो । सबै कुरा घोषित रुपमा नै हुन्छन् भन्ने कुरा होइन,उनीहरुलाई अघोषित रुपमा नै बहिस्कार गर्ने अधिकार छ । घर जान नदिने,घरमा बस्ने वातावरण नै नदिने, छोरा बुहारी रहेछन् भने उनीहरुलाई कुनै वास्ता नै नगर्ने,परिवारमा नस्वीकार्ने, छोएको नखाने,पाखा पाखा पार्ने,परिवारको महत्वप्ूर्ण कार्यहरुमा जानकारी नदिने, जीवित भए पनि मरेसरी व्यवहार गर्ने, परिवारका सदस्यको रुपमा वास्ता नगर्ने चलन हराउन सकेको छैन । अहिले कुल, घराना,प्रथा परम्पराहरु संरक्षण गर्ने अभियान तीव्र रुपमा चलेको छ । यो अभियानमा संस्कार जोगाउने ,कुल देवताको पूजाआजा गर्ने,त्यो पूजाआजामा कुनै कुल विनाको बुहारी रहेछ वा तल्लो जातको बुहारी रहेछ वा अर्को जातको ज्वाइँ रहेछ भने उसलाई वास्ता नगर्ने जानकारी नदिने वा परम्परा जोगाउने नाममा विभेद गर्ने चलन हराउन सकेको छैन ।
आर्थिक रुपमा भन्ने हो भने दलित समुदायको आफ्नै नामको जग्गा जमिन हुन सकेन । उनीहरुको जग्गा जमिन कही कतै भए पनि ठूला जातिहरुले लिन छोडेका,उत्पादन नहुने जग्गा जमिनमा बस्नु पर्ने बनाइयो । ठूला जातिको सेवा गर्नु भने पछि उनीहरुले निःशुल्क सेवा गर्नु पर्ने नियम बनाए पछि उही कार्य गर्दा नै सबै जीवन गुज्रियो । कुनै पेसा व्यवसाय हुन पाएन । पेसा व्यवसाय गरे पनि पेसा व्यवसाय नचल्ने ,उनीहरुको पानी सम्म नचल्ने बनाए पछि अब के हुनु थियो र? केही हुन सकेन । पछिल्लो समयमा दलित जातिहरु वैदेशिक रोजगारीमा जान थाले पछि मात्रै उनीहरुको आर्थिक अवस्था केही सुधारोन्मुख हुन सकेको देखिन्छ । पछिल्लो लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलन पछि दलित समुदायले राज्यमा समावेशी सिद्धान्त अनुसार केही उपस्थिति जनाउन सफल भएका छन् तर समावेशिताको पनि दलित समुदायले मात्रै सुविधा लिएको जसरी विरोध हुने गरेको छ ।समावेशिताको सिद्धान्तमा राज्यमा पहुँच सबै जात जातिलाई जनसंख्याको आधारमा बनाइएको छ तर दलितको कोटाको मात्रै निकै विरोध हुने गर्दछ र योग्यताको विषय अगाडि सारेर दलित समुदायलाई अयोग्य छन् भन्दै झनै होच्याउने जस्तो गरिन्छ ।
उत्पीडित समुदाय भनेको देशमा जुनसुकै शासन व्यवस्था आए पनि सक्नु पछाडि पारिएको समुदाय हो । ठूला जातिको निःशुल्क सेवा गरेर समाजलाई योगदान दिँदै आएको समुदाय हो । यो जातिले गरेको योगदानको नत समाजले नत राज्यले कुनै चर्चा गर्न जानेको छ । दलित जाति प्राविधिक हुन् । उनीहरुको श्रम,सीप विज्ञान थियो । उनीहरुको श्रम सीपलाई राज्यले वेवास्ता गर्दै आयो । उनीहरुको श्रम सीपको मूल्य थाहा पाउन सक्ने दिमाग भएको भए अहिले राज्यले कसैका अगाडि हात थापेर हिँड्नु पर्ने थिएन ।फलामका खानीहरु चिनेका,तामाका खानी,सुनखानी चिनेका, लुगा लत्ता बनाउन जानेका, काठको काम सबै जानेको अहिलेका इञ्जिनियरले भन्दा राम्रो भवन निर्माण कला जानेका, बाजागाजा बनाउन ,गीत बनाउन, सबै जानेका, कलाका पारखी,खेतीपाती गर्न जानेका उत्पीडनमा पारिएका समुदाय थिए । तर राज्यले उनीहरुको दिमाग र कलालाई चिन्न नजानेका कारण उनीहरुको पेसा लोप हुँदै गयो । उनीहरु वेवास्तामा पर्दै गए । जो जसले गरे पनि राज्यकोलागि काम गर्न जानेको हो भनेर सम्मान सत्कार र सुरक्षा दिन सकेको भएमा उनीहरुले सबै कुरा जोगाएर राख्न सक्थे । राज्य स्वर्ग नर्क पढाउन लाग्यो,स्वर्ग नर्कको कुरा गर्ने दिमागहरुलाई बचाउन थाल्यो तर विज्ञानलाई वास्ता गरेन । त्यही कारण अहिले राज्यले दुःख भोगिरहेको छ । खानीको परिक्षण गर्न विदेशी प्राविधिकलाई निम्ताउन सरकार बाध्य भएको छ ।
दलितहरुको अहिलेको अवस्थामा शैक्षिक रुपमा नयाँ विद्यार्थीहरु पढ्ने लेख्ने गर्न खोजेका छन् । तर पनि दलितहरुको उच्च शिक्षा हासिल गर्न निकै गाह्रो भइरहेको छ । उच्च शिक्षा नभए पछि राज्यमा पहुँच पु¥याउने सक्ने कुरा भएन । सानोतिनो पदमा जागिरमा जान पनि अनेक झण्झटहरु भोग्नु परेको छ । दलितका छोराछोरी शिक्षाको लागि भन्दा पनि वैदेशिक रोजगारीको खोजीमा भौंतारिनु परेको छ । राज्यमा बस्ने टिक्ने उपाय नभेटे पछि दलित युवाहरु विदेशिन बाध्य हुनु परेको छ । हुन त ठूला जातिहरु गएका छैनन् भन्ने होइन तर दलित बनाइएका जातिको व्यवसाय सबै चौपट छ । पानी सम्म नचल्ने भए पछि होटेल व्यवसाय,सानातिना,चियापसल केही चल्ने कुरा भएन । अहिले पुराना ज्ञान सीप सिक्न समेत दलित समुदायका युवाहरु उत्सुक छैनन् किनकि पहिलो कुरा जुन पुराना पेसाहरु थिए त्यो अपनाए कै आधारमा विभेद भएको छ । विभेद सहेर कोही पनि पेसा गरिरहन रुचाउँदैन । अर्को कुरा दलितहरुको उत्पादनलाई कुनै बजारको व्यवस्था नै छैन । बजार जति विदेशी कम्पनीका समानहरुले भरिएका छन् । विदेशी सामानले भरिए पछि स्वदेशी उत्पादनले बजार पाउने कुरा भएन । दलितहरुको पेसा चल्ने कुरा भएन । यस्तो अवस्थामा दलितका पेसाहरु लोप हुने अवस्थामा छन् । नयाँ पिँढी सो पेसाप्रति आकर्षित छैन । दलित समुदायको पेसालाई राज्यले प्रोत्साहन गर्ने कुरा छैन ।जसोतसो गरेर उत्पादन ग¥यो बजार छैन ।
यस्तो अवस्था दलित समुदायले भोगिरहँदा कुनै पार्टीको नेताले संसदमा माफीको आधारमा नै वाह भन्ने अवस्था छैन ।माफी मात्रै मागेर दलित समुदायको समग्र विकास हुन सक्दैन । अहिले मागिएको माफीले राज्यमा विभेद छ भन्ने कुरा त दर्साउँछ तर गाउँ टोलमा कसले माफी माग्ने ? गाउँ टोल समाजमा माफी प्रति जिम्मेवार को बन्ने ? हामीलाई थाहा छ २०६३ जेठ २१ गते देशलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । छुवाछुत मुक्त राष्ट्र घोषणा गरेकै कारण देशमा तल्ला बनाइएका जातिहरुले छुवाछुत विभेद भोग्नु नपर्ने भएन । मन मनमा रहेको छुवछुत हट्न सकेन । व्यवहारमा छुवाछुत हट्न सकेन । त्यो बेला आन्दोलनको राप र ताप थियो । दलित समुदायले पनि जनआन्दोलन र जनयुद्धमा अतुलनीय योगदान पु¥याएको थियो । त्यसबेला छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भए पनि आज सम्म समाजमा रहेको छुवाछुत विभेद हट्न सकेको छैन ।
जातीय विभेद अन्त्यकोलागि देशमा विभिन्न संघर्षहरु भए । नेपालको इतिहासमा दलित जातिको विभेद अन्त्यको लागि राजनैतिक वा व्यक्तिगत रुपले दलित तथा गैरदलित नेताहरुले निकै कठोर संघर्षहरु गरेका छन् । भोकै प्यासै हिँडेर, हिरासत यातना, गाउँ निकाला हुनु परेको छ । सँगै बसेर खाएकै कारण गैरदलितहरु दलित बनाइएका छन् । अहिले उत्पीडित समुदायसँग माफी माग्दैमा दलितमाथि सबै शोषणको अन्त्य हुँदैन । झण्डै एक सय वर्षको दलित आन्दोलनको त्याग तपस्या र लगानीको इतिहास छ । कठोर संघर्ष गर्दा पनि जातीय विभेद सुल्झिन सकेको छैन । माफीले सुध्रिन्छ भनेर दलित समुदायले आशा र विश्वास गरेर ताली मार्न सकिँँदैन ।
माफीले मात्रै दलितले अधिकार प्राप्त गर्न सक्दैनन् । देशमा क्रान्तिकारी आन्दोलन कमजोर भएको अवस्था छ । क्रान्तिकारी शक्तिहरु बलियो भएको बेलामा हो,उत्पीडित उपेक्षित समुदाय,क्षेत्र ,लिंगले अधिकारको अनुभूति गर्न सक्ने । अहिले क्रान्तिकारी शक्तिहरु कमजोर भएका छन् । यो अवस्थामा दलितलाई झुक्याउने हिसाबमा वा भनौं भन्नका लागि भनिदिउँ न त भने जसरी माफी मागेर समस्या समाधान हुँदैन । दलित समुदायका लागि माफीले काफी हुँदैन । दलित समुदायको वास्तविक मुक्तिको लागि समतामूलक समाजको खाँचो छ ।
तत्काललाई दलितका समस्या समाधान गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्छ
१. समाजमा दलित गैर दलितबीचको छुवाछुतलाई तत्काल हटाउनु पर्छ । जातीय विभेद गर्नेमाथि कडा कानुनी कारवाही हुनु पर्छ । दलितहरु आफु जस्तै मान्छे हुन् भनेर स्वीकार गर्न मानसिक रुपमा तयार पार्ने शिक्षा दिनु पर्छ । समाज रुपान्तरणको अभियान राज्यबाट नै चलाउनु पर्छ ।
२. दलितहरुको आर्थिक अवस्थामाथि उठाउन भूमिहीन दलितहरुलाई जमिनमा अधिकार दिनु पर्छ ।
३. आर्थिक उपार्जनमा राज्यले सहयोग गर्नु पर्छ ।
४. दलितको परम्परागत पेसालाई जोगाउन राज्यले लगानी गर्नु पर्छ ।
५. नयाँ पिँढीलाई पेसामा लाग्न राज्यले प्रोत्साहन गर्नु पर्छ ।
६. राज्यका निकायहरुमा दलितको पहुँच विस्तार गर्न विशेष सुविधा दिनु पर्छ ।
७.अन्तरजातीय विवाहलाई पूर्ण रुपमा प्रोत्साहित गर्नुपर्छ । उनीहरुलाई घरमा बस्ने वातावरण मिलाउन सरकारले ध्यान दिनु पर्छ । विवाह गर्नेहरुलाई संरक्षण गर्ने नीति लिनु पर्छ ,आवश्यक परे आर्थिक सहयोग पनि गर्नु पर्छ । उनीहरुको अन्तरजातीय विवाहितका सन्तानलाई पोषण भत्ताको व्यवस्था गर्नुपर्छ । उच्च शिक्षासम्म निःशुल्क हुने व्यवस्था गर्नुपर्छ ।
८.विदेशी सामानहरुलाई निरुत्साहित र स्वदेशी सामानलाई प्रोत्साहित गर्नु पर्छ ।
९. राजनैतिक पार्टीहरुमा दलितलाई प्रयोग गर्ने मात्रै होइन वास्तविक नेतृत्व स्वीकार गर्न तयार हुनु पर्छ ।



























