वर्तमान नेपालका घटनाहरुलाई ही दृष्टिकोण बारे

वर्तमान नेपालका घटनाहरुलाई ही दृष्टिकोण बारे

१. मूल्यांकनका विभिन्न तरिकाबारे 

कुनैपनि वस्त, व्यक्ति, घटना वा कार्यको मूल्यांकन गर्ने आआफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही, केही छिपछिपे, केही अर्धसत्य, केही अल्पकालीन सत्य र केही लोकपृय सत्य हुन्छन् त केही कटु र अपृय लागे पनि पूर्ण सत्य, दीर्घकालीन सत्य र शाश्वत सत्य पनि हुन्छन् । जे होस् सही पद्धतिले मूल्यांकन गरेर सही निष्कर्षमा पुग्नको लागि केही निश्चित आधार, विधि, दृष्टिकोण र मान्यता हुन्छन् । तीमध्ये माओले भनेझैं ‘तथ्यमा आधारित भएर सत्य पत्ता लगाउने विधि’ प्रमुख विधि हो । यसरी नै दार्शनिक भाषामा ‘एकलाई दुईमा विभाजन गरेर अर्थात् विश्लेषण गरेर संश्लेषणमा पुग्ने’ अर्को सही विधि हो । यस्तै, लेनिनले भनेझैं ‘ठोस वस्तु (देस, काल र परिस्थिति) को ठोस विश्लेषण गरेर’ गरिने मूल्यांकन पनि सही हुन्छ । यसैगरी रुप र सार, अंश र समग्र, आन्तरिक र बाह्य दुवैपक्षलाई हेरेर मूल्यांकन गर्ने अनि आगमनात्मक र निगमनात्मक तरिकाले वस्तु वा घटनालाई यससँग अन्तर्सम्बन्धित विविध पाटापक्षको आधारमा बहुआयामिक ढङ्गले अवलोकन गरेर गरिएका मूल्यांकन वस्तुवादी, वैज्ञानिक र सही हुन्छन् । तर हचुवा, होहल्ला र हवादारी रुपमा हल्काफुल्का तरिकाले एकपक्षीय वा एकाङ्गी ढङ्गले गरिएका मूल्यांकन गलत हुन्छन् । यसरी नै गुण, सार र समग्रमा आधारित नभएर रुपमा, अंशमा र संख्यामा मात्र आधारित भएर गरिएका मूल्यांकन तत्काललाई सही देखिएपनि अन्ततः ती असत्य मात्र नभएर घातक समेत हुन सक्छन् । हामीकहाँ यो एउटा विडम्बना छ कि सुरुसुरुमा गलत अथवा अर्ध, अपूर्ण वा अस्थायी सत्यमात्र भएका मूल्यांकन र निष्कर्षहरु पनि सहजै, छिटै र धेरै पत्याइने तर जो पूर्ण सत्य वा चिरस्थायी सत्य साबित हुने मूल्यांकन र निष्कर्षहरु जतिसुकै सही, सुन्दर र समाजोपयोगी भए पनि सबैले, सजिलै र छिटै नपत्याउने गरिन्छ । त्यसो हुनाले ती गलत निष्कर्षलाई गलत सावित गर्न र सही निष्कर्षलाई सही सावित, प्रमाणित वा स्थापित गर्न अर्थात् राज्य र समाजको दिल–दिमागमा तीबारेको यथार्थ मूल्यांकन बोध गराउन वा सबैलाई मान्य हुने गराउन धेरैथोरै समय, श्रम, शक्ति, साहस, समर्पण, पुँजी र बुद्धि आदि चाहिन्छ । तथापि, हामी गलतलाई गलत र सहीलाई सही सावित गर्न निरन्तर लागिरहनु पर्दछ ।

२. तथ्य, कारण र आधारको पहिचानबारे 
सामान्यतया माथि भनिएझै तथ्यमा आधारित भएर गरिएका मूल्यांकन सही हुन्छन् । तर ती तथ्यहरु, कारणहरु र आधारहरु के हुन् र कस्ता हुन् भनेर छुट्टाउनु मुख्य र कठिन कार्य पनि हो । नेपालको विशिष्ट स्थितिमा आन्तरिक र बाह्य घात र प्रतिघात, राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल र हस्तक्षेप, भूराजनीतिक र हवाई (गैरभौगोलिक) राजनीतिक प्रभाव र दवाव, छिमेकी र विश्वशक्तिका रिजनल र ग्लोबल इन्ट्रेष्ट र ग्रान्ड डिजाइन र रणनीति, देसका दलाल र नोकरशाहहरुको भूमिका र गतिविधि अनि राजनीतिक पार्टी र नेताहरुको चिन्तन र चरित्र आदिसँग ती घटनाको इतिहासदेखी वर्तमानसम्म रहेको अन्तर्सम्बन्ध र अन्तरविरोध नै नेपालका राजनीतिक घटना र उथलपुथललाई मूल्याङ्कन र निष्कर्ष निकाल्नको लागि लिइने उपयुक्त र आवश्यक तथ्य, कारण र आधारहरु हुन् । यिनको समग्र अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण नगरी आजको नेपालका राष्ट्रिय राजनीतिक घटनाक्रमहरुबारे धारणा बनाउने, निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने गरिएमा भूल मात्र होइन महाभूल पनि हुन सक्छ । त्यसैले बडो वस्तुनिष्ठ र विज्ञानसम्मत भएर उपरोक्त तथ्य, कारण, प्रमाण र आधारहरुमा टेक्दै गरिने आजको नेपालका मुख्य–मुख्य घटनाक्रम (जेनजी विद्रोहदेखि बालेन सरकार निर्माण र यस्ले गरेका सुरुवातका केही गम्भीर र संवेदनशील कामहरुसम्म)को मूल्यांकन वा निष्कर्ष सही, वस्तुवादी र दूरदर्शितापूर्ण हुनेछ । त्यसैले सामाजिक संजाल, संचारमाध्यम र प्रायोजित व्यक्ति, समूह र संघसंस्था आदिका केही समयदेखिका आकर्षक, आक्रामक र उत्तेजक कामकुरालाई हचुवा, हल्का र हावादारी रुपमा लिने र पूरै विश्वास गरिहाल्ने सोंच, शैली, संस्कार र संस्कृति गलत हुनसक्ने कुराप्रति सचेत रहनु जरुरी छ । यसरी नै कतिपय विचार, शक्ति, व्यक्ति र प्रवृत्तिविशेषप्रति आग्रह–पूर्वाग्रह राख्ने र प्रतिशोध–निषेध गर्ने चिन्तन–प्रवृत्ति र सोअनुसारका मूल्यांकन र निष्कर्षहरु पनि अन्ततः र परिणामतः आत्मघाती नै हुनसक्ने खतराप्रति पनि एउटा सचेत, शिक्षित, दीक्षित र अनुभवी मानिसमात्र होइन, सिङ्गो समाज र राज्यव्यवस्था नै सतर्क रहनु पर्दछ ।

३. विचित्र र विडम्बनापूर्ण मूल्यांकन र निष्कर्षबारे  उल्लेख्य छ कि नेपालका वर्तमानका घटनाबारे बडो स्वतन्त्र भएर वा देसविदेसका पढेलेखे भनिएका आफ्ना वा अरुका मानिसहरुका सुझाव–दवाव वा आधुनिक–अत्याधुनिक प्रविधि, पैसा र पावरको प्रभावमा परेर मूल्याङ्कन गर्ने वा निष्कर्ष निकालेर कामकार्वाही गरिएका छन् । यसरी मूल्यांकन गरी निष्कर्षमा पुगेर अत्यधिक मानिसहरुले आफ्नो जिन्दगीभरिको आस्थाविपरीत, आफू प्रतिबद्ध संघसंस्थाका नायक, नीति, निर्णय र निर्देशनविपरीत, आफ्ना सहयोद्धा–सहकर्मीहरुका सल्लाह–सुझाव र साझा कार्यका विपरीत र आफैले अवलम्बन गर्दै आएको नैतिकता, आचारसंहिता र अनुशासनको खुला वा गुप्तरुपमा उल्लंघन समेत गरेका छन् । नेपालमा भएका पछिल्ला विद्युतीय गतिका रहस्यमय र तिलश्मी घटनाक्रमहरुलाई कसैले आफ्नो स्वतन्त्र विचार, इच्छा र आत्ममूल्यांकनको नाममा एकपक्षीय रुपमा अन्धभक्त बनेर अन्धविश्वासजस्तो गरी हेर्नु, मूल्याङ्कन गर्नु, निष्कर्ष निकाल्नु र सो निष्कर्षअनुसार कामकुरा गरेर आत्मरती लिनु हदैसम्मको विचित्रतम मात्र होइन दुखदतम विडम्बना हो, जो सकेसम्म त केही समयपछि तुरुन्तै देखिने छ, नभएपनि केही लामो समयपछि त अवश्य नै देखिने छ र त्यसको दुष्परिणाम भोग्नसमेत पर्ने हुनसक्छ । यस्तो कुरा नेपालको इतिहासमा बारम्बार हुँदै आएको अनुभवसिद्ध निष्कर्ष पनि हो । त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा राम्रोसँग सोंचेर, नापेर, तौलेर बोल्दा वा गर्दा राम्रो हुन्छ । त्यसैले त क. माओले भन्नुभएको छ ः ’सातपटक नाप एकपटक काटझ । यस्तो गरेर गरिएको कामकुराको परिणाम गलत, पश्चात्तापपूर्ण र दुखद हुँदैन ।

४. उमेरसमूहले क्रान्ति गर्ने भाष्यबारे 
विचार र वर्गबिना अनि लक्ष–उद्देश्य र एजेन्डा–कार्यक्रमबिना भावनालाई पक्रेर कुनै एक विशिष्ट उमेरसमूहले वा उमेरले नै क्रान्ति गर्नेजस्तो आज जुन भाष्य निर्माण गरिएको छ, त्यो आंशिक र तात्कालिक सत्य भए वा देखिए पनि पूर्ण र दीर्घकालीन सत्य होइन र हुन सक्तैन । यहाँनेर आफ्नो विशाल जनसंख्या र भूगोल भएको देसमा परिवर्तन ल्याउनको निम्ति गरिएको क्रान्तिकारी पार्टी निर्माण र भीषण युद्धमय लामो क्रान्तिकारी आन्दोलन संचालनका क्रममा क. माओले भन्नुभएको र लागू गरी सत्य साबित गर्नुभएको “एकमा तीनको सिद्धान्त“ अर्थात् कुनै एक पार्टी, संगठन, संयन्त्र वा कमिटीमा युवा, प्रौढ र बृद्ध यी तीन उमेर समूहलाई आवश्यकता र सम्भाव्यताका आधारमा सन्तुलित रुपमा राखेर संयोजन र परिचालन गर्नु सही, वस्तुसम्मत, विज्ञानसम्मत, न्यायसम्मत र क्रान्तिसम्मत भएको कुरा स्मरणीय हुन आउँछ । त्यसैले उमेरगत वर्गीकरण गरी कुनै एक निश्चित उमेर समूहका मानिसबाट मात्र वा निश्चित उमेरले मात्र क्रान्ति वा परिवर्तन हुने र गर्ने तर अन्य उमेरसमूहले नगर्ने भाष्य सिद्धान्ततः गलतै हो । युवा उमेरका सबै सही र परिवर्तनकारी हुने तर प्रौढ र पाका उमेरका सबै गलत र परिवर्तन विरोधी हुने भन्ने यसप्रकारको भाष्य सही नहुने मात्र होइन कि हास्यास्पदसम्म पनि हुन सक्छ । हो, युवा उमेरका मानिसमा हुने सिर्जनशीलता, साहस, सकृयता र शक्ति तुलनात्मक रुपमा पाको उमेरका मानिसमा कम हुन्छ तर सही र गलत, असल र खराब भन्ने कुरा उमेरले होइन अध्ययन, अनुभव, विचार र व्यवहारले निर्धारण गर्ने कुरा हो । आज दर्शन र सिद्धान्तको अनि विधि र व्यवस्थाको समेत कुनै अर्थ छैन भन्नेजस्तो गरी जुन खालका तर्कवितर्क र कुतर्कहरु मात्र होइन गालीगलौज र धम्कीघुर्कीहरु सामाजिक संजालहरुमा आएका छन्, ती अरुका लागि तत्काललाई भ्रम दिन सफल भएर आत्मरती भएपनि अन्ततः दीर्घकालमा आफ्नैलागि समेत घातक हुन्छन् । यो कुरा व्यापक जेनजी युवा समूह र तिनको लहलहैमा लागेको जनमत लगायत विभिन्न अवयवहरुद्वारा बने–बनाइएको हालको बालेन नेतृत्वको रास्वपाको सरकारका प्रारम्भकै केही गम्भीर र संवेदनशील कामकार्वाहीहरुले संकेत गरेको प्रमाणित पनि भैसकेका छन् । फेरिपनि कामना गरौं जानअन्जानमा दुर्घटनावस ती कामहरु भएका होऊन् र अब ती सच्चिऊन् र थप गल्तीहरु नहोऊन् । यसतर्फ पनि झिनो संकेत देखिंदै छ ।

५. उमेरको आधारमा विभाजन र पछिल्लो जेन–जी समूहबारे
मानिसलाई उसको उमेरको आधारमा वर्गीकरण गर्न सकिन्छ । माथि भनिएझैं युवा, प्रौढ र बृद्ध पनि उमेरकै आधारमा गरिएको वर्गीकरण हो । निर्णायक र दूरगामी महत्वका दृष्टिले यी तीन समूह उल्लेख्य भए पनि कामकाजी, कामयावी र शीघ्र परिणामदायी दृष्टिले त युवा उमेर नै महत्वपूर्ण मानिन्छ । तथापि मानिस त अन्य उमेरसमूहका पनि हुन्छन् । बालक, किशोर वा बयोबृद्ध पनि अरु समूह नै हुन् । यी उमेरसमूहका मानिसको मान्छेको रुपमा कुनै अर्थ, औचित्य र महत्व नै छैन र हुनुहुँदैन भन्ने सोंच मूर्खतापूर्ण सोंच हो । कतिपय बेला त विभिन्न कामकाजका सन्दर्भमा यी उपेक्षित र नगन्य समूहका मानिसको पनि विशिष्ट महत्वको भूमिका नै हुन्छ । जस्तो कि सुप्रसिद्ध कथा “वादशाहको नयाँ कपडा“ कथामा एक अबोध बालकले खेलेको भूमिका अर्थात् ’बादशाह नाङ्गै छन्झ भन्ने उद्घोष निर्णायक महत्वको नै छ । त्यस्तै हाम्रो एउटा प्रसिद्ध लोककथा पनि छ जसमा सयजना युवा मात्र जन्ती आउने भनिएको हुन्छ र ती सयजनाले सयपाथी चामलको भात र सयवटा खसी खाएमात्र दुलही लिएर जान पाइने भन्ने हुन्छ । तर त्यो बिहेमा एकजना बृद्धलाई मेकअप गरेर युवा बनाई लुकाएर लगिएकोले त्यहाँ ती बृद्धले उपाय निकालेर त्यो सर्त पूरागरेकोले विवाह सफल भएको भन्ने छ । यसरी यसकथामा पनि ती बृद्ध मानिसको विशिष्ट र निर्णायक नै भूमिका देखिन्छ । त्यसैले सबै समयमा सबै काममा निरपेक्ष रुपले युवाले मात्रै सफलता दिलाउँछन्, तर बूढाले सक्तै सक्तैनन् भन्नु गलत हो । यही भाष्य चीनमा पनि व्याप्त हुन थालेपछी क माओले आफ्नो बृद्धावस्थामा विशाल ह्वाङ हो नदी पौडेर देखाइदिनुभएको थियो । अहिले पनि भारत, चीन, रूस र अमेरिकाजस्ता ठुला, शक्तिशाली र विकसित देसहरुमा पटकपटक दोहोरिई–तेहरिई बूढाहरु नै आइरहेका छन् । उनीहरुको उपादेयता सिद्धिएको भए त्यस्तो नहुनुपर्ने हो । अझ विचित्र त के छ भने अमेरिका–भारत्ले आफ्ना देसमा बूढाहरुलाई बारबार जिताउने तर तिनैले नेपालमा युवाहरु नै सबकुछ हुन् भन्ने भ्रम छरेर आफ्नो कुत्सित स्वार्थ पूर्तिगर्ने षड्यन्त्र रच्ने गरेका छन्, त्यो निन्दनीय छ ।

अर्को कुरा, अहिले त युवा उमेरको अन्तर्राष्ट्रिय मापदण्डलाई खन्डित गरिएको छ र १३ बर्षदेखि २८ बर्षसम्मका उमेरसमूहलाई अर्थात सन् १९९७ देखि २०१३ सम्म जन्मिएका स्मार्ट फोन चलाउने, डिजिटल युगका युवापुस्तालाई जेन–जी नाम दिइएको छ । जेन जी को अर्थ हो जेनेरेसन जेड अर्थात् यो अन्तिम युवा पुस्ता हो किनकि जेड अङ्ग्रेजी भाषाको अन्तिम अक्षर भएकाले यो अन्तिम पुस्ता हो भन्ने हुन्छ । त्यसो भए के अब यसपछि अर्को पुस्ता छैन, आउन्न र हुन्न ? यस्तो अबैज्ञानिक, अप्राकृतिक र लज्जास्पद झुटको रुपमा यो उमेरसमूहलाई प्रस्तुत गर्ने गरिएको छ । अझ त्यस समूहको नाम पनि नेपाल र विश्वमै आधिकारिकता दिइएको बेलायती अङ्ग्रेजीको अन्तिम अक्षर जेड (श) लाई अमेरिकीहरुले उच्चारण गर्ने जी को आधारमा जेनरेशन–जी (जेन–जी) नामाकरण गरेर पनि आफ्नो नाम र काममा अमेरिकी प्रभावलाई प्रस्तुत गर्दै अमेरिकी साम्राज्यवादको पक्षधरतालाई संकेत गरिएको छ । यो कुरालाई पुष्टि गर्ने आधारहरु बालेन लगायतका कैयौं मन्त्री, सांसद र नेताहरु नै अमेरिकी फण्डबाट संचालित अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेसन, त्इद्य ( तिब्बेतियन ओरिजिनल ब्लड), हामी नेपाल लगायतका लनय÷ष्लनय का संस्थापक र सदस्य भएको खुल्न आएको छ तर पनि यो नाम र यसको कामलाई यत्तिकै ठिक ठोकुवा गरिदिनु कति तर्कसंगत, तथ्यसंगत र सत्यसम्मत होला ? गम्भीररुपले विचारणीय छ ।

यसैगरी स्मार्ट फोन प्रयोग गर्न जान्ने प्राविधिक रुपले उन्नत डिजिटल युगका मानिसहरु नै जेन–जी समूह भन्ने कुरा छ, के यो नै अन्तिम विकास हो र विज्ञान र प्रविधिको ? होइन, पक्कै हुनै सक्तैन, विज्ञान र प्रविधिको निरन्तर विकास हुँदै जानेछ । त्यसैले यो उमेर समूहलाई यसरी मान्यता दिनु कसैले ’तेरो कान कागले लग्योझ भनिदिंदैमा आफ्नो कान आफैसँग भएको यथार्थ नबुझी लहलहैमा कागका पछि–पछि दौडेजस्तो हास्यास्पद हुँदैन र ? अर्काले भनेकै भरमा सही ठान्ने तर आफूले अध्ययन र अनुभव गरेर बुझेको कुरामा भर नगरी गलत भन्ने यो शैली, सोंच र सिद्धान्त भ्रमपूर्ण छ र षड्यन्त्रपूर्ण पनि छ । त्यसैले विदेसीहरुको यस किसिमको भ्रम र षड्यन्त्रमा फस्नु अन्ततः आफूलाई मात्र होइन नेपाल र नेपालीको हितलाई पनि घात हुनसक्नेप्रति सचेत हुनुपर्छ ।

६. विदेसी प्रभाव, दवाव र षड्यन्त्रबारे 
सन् १८१६ को सुगौलीसन्धिको वरिपरिदेखि नेपाललाई सताउन सुरु गरेको विदेसी वायुको मात्रा बढ्दै आएको छ । अहिले विभिन्न देसहरुमा समेत यो हवाहुरी यस्तरी आएको देखियो कि सामाजिक संजाल, एल्गोरिदम, सफ्ट पावर, डिजीटल प्रविधिलगायतका पछिल्ला प्रविधि, प्राविधिकहरु र तिनका मालिकहरुको माध्यमबाट साम्राज्यवादले चाहेको आधारमा जनमत बनाउने वृत्ति र प्रवृत्ति शीघ्र र पूर्ण सफल हुने गरेको छ । यससन्दर्भमा हाम्रो देसमा पनि उसले सफलता पाएको सहजै अनुमान गर्न सकिन्छ । छर्लङ्ग छ कि उसले मानिसहरुका दिल–दिमाग, बानी–बेहोरा, सोंच–संस्कार, विचार–आचार र शैली–संस्कृति नै उल्टाउने गरी परिणाम ल्याइदियो । यस्ले गर्दा स्वअध्ययन, स्वबुद्धि, स्वविवेक, स्वदृष्टि, स्वसिद्धान्त र सुसंवाद आदिको आधारमा अध्ययन, चिन्तन, मनन र मन्थन गरेर मत बनाउने कार्यलाई पछि पार्दै निस्काम जस्तै बनाइदियो । भाद्र २३ मा जेन–जीहरुको अत्यन्तै सान्दर्भिक, सही र सामान्य समस्या सम्बोधनको लागि सुरुभएको स्वाभाविक, सरल र शान्तिपूर्ण संघर्ष सुरुमा आवरणमा ठिक ठान्नु सहज ज्ञानको कुरा हो तर त्यसका आधारमा त्यसभित्र रहेको षड्यन्त्रलाई बुझ्न तर्कसंगत र तथ्यसंगत ज्ञान आवश्यक पर्छ । त्यसैदिन सुनियोजित तवरले त्इद्य लेखिएका ज्याकेट लगाएका हरिमुस्ले बन्दुकधारी प्रवेश गरेर आन्दोलनलाई हाईज्याक गरी गलत दिशा दिएर आन्दोलनको शान्तिपूर्ण स्वरुपलाई हिंसात्मक रुप दिए । नितान्त शान्तिपूर्ण आन्दोलनको ’फूलसम्म पनि न चुंड्ने र गमला पनि नफोड्नेझ स्वरुपलाई १२–१ बजेतिरबाट अस्वाभाविक र अवांछित तरिकाले विकृत पारिएको त्यो बीभत्स स्वरुप र भाद्र २४ को महाविध्वंशलाई समेत ’जे पायो सो खायोझ गरेझैं अथवा नेपाली उखान “भगवान जे गर्छन् असलै गर्छन्“ भनेझैं गरेर ठिक ठहराउनु के विवेकसम्मत होला र ? आफ्नै अगाडि यस्ता ताण्डव नृत्य र राष्ट्रिय महाविध्वंस हुँदा पनि तिनको रक्षार्थ बसेको नेपाली नामको सेनालगायतका सुरक्षा निकाय र कर्मचारीतन्त्रका नेतृत्वहरुका गैरजिम्मेवारी र गडबडी पनि एकदमै ठिक ठहराउनेहरु हावी हुनु र अझैपनि ती हावी–प्रभावी नै हुनु के स्वाभाविक नै हुन्छ र ?

वास्तवमा यी सबै हुनु–गराउनुका पछाडि एउटै वैदेशिक शक्तिकेन्द्रको सुनियोजित षड्यन्त्र रहेको छ । जुन शक्तिले एकातिर सरकारलाई ’सामाजिक संजाल दर्ता नगरी संचालन गर्न दिनुभनेको आफ्नो देसको अस्तित्व, स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भएकाले रोक लगाउनुनै उचित हुनेझ भन्दै सामाजिक संजाल बन्द गर्न उक्सायो उसैले अर्कोतिर सामाजिक संजालका संचालकहरुलाई ’चलिआएका यस्ता सूचना संजाल रोक्ने संवैधानिक अधिकार सरकारमा नभएको र भ्रष्टाचारको भयावह स्वरुप भएको यस्तो देसमा भ्रष्टाचार गर्नको लागि कर तिर्नु भनेको भ्रस्टाचारलाई प्रोत्साहन दिनु हुने भएकोले दर्ता नविकरण नगर्नझ सुझाव–दवाव दिएर उक्सायो । यसरी सरकार र सामाजिक संजाल संचालकहरु बीचमा द्वन्द्व बढाएर धमिलो पानीमा माछा मार्ने खेल भएको छर्लङ्ग छ । अन्यथा पढ्न स्कुल गएका बालबालिकालाई स्कुल समयमै, स्कुल ड्रेसमै, स्कुले ब्यागसहित आन्दोलनमा जान दिने विद्यालय (पृन्सिपल) र लिएर जाने र हिंसात्मक आन्दोलनमा प्रयोग गर्ने सुधन गुरुङ लगायतका जुलुसको रुट–परमिट लिने जेनजी आन्दोलनका आयोजकहरुले मात्र कसरी आँट गर्नसक्थे र ? त्यसैले यसप्रकारको शान्तिपूर्ण आन्दोलनको बहानामा हत्या, आगजनी र विध्वंश मच्चिनुबाट नेपालमा साम्राज्यवादीहरुद्वारा लामोसमयदेखि बढाउँदै लगिएको प्रभाव र दवावकाबीच रचिएको हाल यो षड्यन्त्र सफल गरिएको स्वतः स्पष्ट छ । भन्ने नै हो भने भाद्र २३–२४ को यस महाअपराधका लागि विदेसी शक्तिकेन्द्रको पैसा, पावर र प्रोत्साहन पाई प्यादा बनेर विध्वंसकारी जत्था तयार पारी प्रशिक्षण–तालिम दिएर प्रत्यक्षरुपमा विध्वंसको नेतृत्व गरेकाहरुलाई पहिलो कार्वाही हुनुपर्छ । आफ्नो स्वार्थको रोटी सेक्ने त्यस्तो जालसाजीपूर्ण र अराजक राजनीतिक आन्दोलनमा १३ बर्षे स्कुले बालबालिकालाई’हिंसात्मक होइन, फूल चुँड्ने र गमला फोड्नेसम्म पनि गरिंदैनझ भन्दै लगेर अन्ततः महाहिंसात्मक अग्निकुण्डमा होमिदिने जघन्य अपराध पनि त्यसै इन्डो–अमेरिकी शक्तिकेन्द्रका पालन–पोषण र डिजाइन–निर्देशनमा रविहरुका अन्धभक्तहरु, दलाई लामाका सन्तती–अनुयायीहरु, नेपालका गुम्बामा अमेरिकी र भारतीय पैसामा हुर्केका तालिमप्राप्त त्इद्य वालाहरु, अमेरिकी युथ काउन्सिलका सदस्यहरु र बारबरा फाउन्डेसनजस्ता अमेरिकी साम्राज्यवादी लनय÷ष्लनय लगायतमा कार्यरतहरुबाट भएकोमा के शंका छ र ? स्मरणीय छ कि यो शक्तिकेन्द्रले आफ्नो मुख्य प्रतिस्पर्धी–दुश्मन विचार र राष्ट्र नेपालको अनन्य मित्रराष्ट्र चीन र कम्युनिज्मलाई बताउँदै टार्गेट बनाएर षड्यन्त्रमूलक गतिविधिहरु गर्दै आएको छ । त्यसैक्रममा यस्ले नेपालमा निरन्तर अस्थिरता र अराजकताको खेती गरी नेपाललाई असफल राष्ट्र नै बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने दाउ गर्दै आएको थियो । यससन्दर्भमा कुख्यात खम्पा विद्रोह पनि यसै शक्तिकेन्द्रद्वारा गराइएको स्मरणीय छ ।आज पनि त्यही शक्तिकेन्द्रको नै यी सब घटनाहरु घटाउनुमा सुनियोजित षड्यन्त्र रहेको कुरा उपरोक्त तथ्यहरुले पुष्टि गर्दछन् ।

७. वातावरण बनाउने संसदवादी दल र मुख्य नेताहरु

यो कुरा निश्चितै रुपमा सत्य हो कि वैदेशिक शक्तिकेन्द्र र तिनका दलालहरुलाई यसप्रकारको गतिविधि गर्ने सहज वातावरण बनाइदिने नेपालकै संसदवादी दल र तिनका मुख्य नेताहरु नै हुन् । उनीहरुले एकातिर देसमा जनविरोधी र राष्ट्रहितविरोधी कामहरु गरी आमजनतामा व्यापक असन्तुष्टि बढाउने गरेका थिए भने अर्कातिर ती विदेसी शक्तिहरुलाई दलाली, गुलामी र सलामी गर्दै आफ्ना सत्ता र भत्तादातालाई मातापिताका रुपमा भक्ति–स्तुति समेत गरेका थिए । यसक्रममा उनीहरुले नवउदारवादी अर्थनीति अवलम्बन गर्ने र समाजवादी मित्रराष्ट्रहरुले अनुदानमा बनाइदिएका सरकारी उद्योगधन्दासमेत कौडीको भाउमा बिक्री गर्ने र कमिसन हसुर्ने गरेका थिए । यतिमात्र होइन, उपरोक्त अनावश्यक संस्थाहरुलाई दर्तागर्ने, चलखेल गर्नदिने र तिनबाट मिलेसम्म आफू र आफ्नालाई पालनपोषण र शिक्षित–दीक्षित गर्नेदेखि राष्ट्रघाती mअअ र खुकुलो नागरिकता नीति पास गर्नेजस्ता ब्लन्डरहरु गरेका थिए ।

सरकार र संसदमा पटकपटक रहने–खाने गरेका नेका, एमाले, माओवादी (प्रचण्ड ) र मधेशकेन्दृत राजनीतिक दल र तिनका शीर्षपंक्तिका नेताहरुका यसप्रकारका भ्रष्ट, दुष्ट र निकृष्ट क्रियाकलापले गर्दा देस र जनताको हालत दिनानुदिन बदतर बन्दै–बनाइँदै गरिएको थियो । आफूलाई समाजवादी र साम्यवादी भन्ने यी दल र यिनका नेताले दुई तिहाईसम्मको बलियो मत पाई सरकार बनाएर पनि सामान्य सुधार र राहतसम्मका काम गर्न नचाहनु बरु आफूहरुले जे गरे पनि हुने दम्भ गर्नाले आफ्नै पार्टीभित्रका र बाहिरका आम जनसमुदायहरु असन्तुष्ट र आक्रोशित बन्ने र विद्रोह र विष्फोट हुने अवस्थामा पुराएका थिए । फलस्वरुप जेनजी समूहका भ्रष्टाचारको अन्त्य र सुशासन, नेपोटिज्म (आफन्तवाद)को अन्त्य र सामाजिक संजालमाथिको रोकको अन्त्य जस्ता जायज मागहरु लिएर सल्केको आगो भीषण, भयावह र भस्मासुरे डढेलोको रुपमा फैलियो र देससँगै उनीहरु स्वयंलाई नै डढाउने हदसम्म विकसित भएको–गराइएको थियो ।

८. वर्तमान संविधान र व्यवस्थाका दुर्गुणहरु 
२०५२–६२ को महान् जनयुद्ध र २०६२–६३ को ऐतिहासिक संयुक्त जन आन्दोलनपछि सिमित सामयिक सुधारका बावजुद पनि वर्तमान संविधान र व्यवस्था मूलतः देसमा पटकपटक असफल र अफाप सिद्ध भएको उही पुरानै प्रतिक्रियावादी संसदीय व्यवस्था नै हो । यसमा वास्तवमा पुराना सामन्तवर्गदेखि नयाँ दलाल तथा नोकरशाही पुँजीपति वर्ग र तिनका प्रतिनिधि दल तथा नेताहरुले नै राज्यसत्ताको बाग्डोर चलाउँछन् । त्यसमाथि लोकतान्त्रिक व्यवस्था र बहुमतीय शासनको नाममा अल्पजनमत प्राप्त व्यक्ति, दल वा दलहरुले शासन गर्ने यो वेस्ट मिनिस्टर शासन प्रणाली र पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन पद्धतिका कारणले गर्दा यो व्यवस्था स्वयंमा अलोकतान्त्रिक समेत छ । फेरि एकपटक चुनिएपछि जेजस्ता जनविरोधी र देसहितविरोधी कामहरु गरेपनि न त प्रत्याह्वान ( Recall ) हुने प्रावधान छ न त मतदान गर्दा नै नो भोट भन्ने ठाउँ प्राप्त हुन्छ । फलस्वरूप यो व्यवस्थामा दल र नेताहरु पाँच बर्षसम्म गैरजिम्मेवार र स्वेच्छाचारी हुने गर्दछन् । त्यसैगरी मिश्रित निर्वाचन प्रणालीले एकातिर कुनै एउटा दलको मात्र बहुमत आउन कठिन हुनाले प्रायः तृशंकू संसद, अपवित्र गठबन्धनको सरकार र सत्ता स्वार्थका कारण सरकार, संसद र दलहरु नै दीर्घजीवी नभै बीचमै क्रमशः भङ्ग, विघटन र टुटफुट भै राजनीतिक तरलता र अस्थिरता हदैसम्म हुने गर्दछ र गरेको छ । विडम्बना त केसम्म हुने गरेको छ भने ’जनताबाट प्रत्यक्ष निर्वाचितलाई मात्र शासन गर्ने अधिकार हुनु नै लोकतान्त्रिक मान्यताझ भनिनाले प्रत्यक्ष निर्वाचन गरीबले लड्नै नसक्ने, लडे रीणमा डुब्ने र जिते रीण तिर्न भ्रष्टाचार गर्नुपर्ने र कथंकदा हारेमा ठग वा जोगी हुनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यस्तै समानुपातिक निर्वाचनमा पनि नेताहरुले आफ्ना मान्छेलाई माथिराख्ने र तल राखिएकालाई पनि नेताले चाहे पठाउन सक्ने धेरै लूप होल छन् एकातिर भने अर्कातिर जातीय समानुपातिक हुनाले यसबाट वर्गीय रुपमा शोषित–उत्पीडितहरु पारिंदैनन्, फलस्वरुप गरिब दुखीको न प्रतिनिधित्व हुन्छ न त समस्या नै समाधानमा बल पुग्छ । त्यसैले यो व्यवस्थाले न्याय, समानता र सम्मान दिन सक्तैन । जबसम्म गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत अधिकारहरु अनि न्याय, समानता, स्वतन्त्रता र सम्मानको ग्यारेन्टी हुंदैन तबसम्म विरोध, विस्फोट र विद्रोह भैनैरहन्छ । यो पृष्ठभूमि यही नयाँ भनिएका संविधान र व्यवस्थाले नै तयार गरेकोले पनि जेनजी विद्रोह र यसका अघिपछिका कारण र परिणामहरु पैदा भएका हुन् । यो कुरालाई समेत गहिरो गरी मनन गरेर नेपालमा हुने हरेक राजनीतिक घटनाहरुको मूल्यांकन गरी निष्कर्षमा पुग्नु सही हुन्छ ।

हाल सरकार बन्दानबन्दै संविधान संशोधन गर्न यस्ले गरिरहेको प्रयासले पनि संविधान र व्यवस्थामा प्रशस्त त्रुटि रहेको प्रमाणित हुन्छ । जुन त्रुटिका कारण पुराना दल र नेताहरुले चाहेर पनि केही गर्न नसक्ने अवस्था हुन्थ्यो, यदि तिनलाई पहिचान गरेर संशोधन नगर्ने हो भने अहिलेको सरकारको पनि विगतकाहरुको जस्तै हालत हुन सक्छ । तर यो संविधान र व्यवस्थाका माथि उल्लिखित खोटलगायतका विद्यमान सबै कमीकमजोरीहरुलाई सच्चाएर जनता र देसको हितका पक्षमा गराउन सक्ने अनि इमानदारी र साहसपूर्वक काम गर्ने–गराउने दम हुने हो भने पनि धेरै हदसम्म देसमा परिवर्तनको अनुभूति हुनसक्छ ।

९. विदेसी हस्तक्षेपको इतिहास 
कुनै पनि देसको कुनै एउटा राजनीतिक घटनाको बारेमा निष्कर्षमा पुग्नको लागि त्यसदेसको राजनीतिक इतिहासको सापेक्षतामा अध्ययन गरिएमा सत्य अन्वेषणमा सघाउ पुग्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ठुला विद्रोह र आन्दोलन भनेका मुख्यतः २००७, २०४६ र २०६२–६३ नै हुन् । यी तीनवटै ठुला आन्दोलनको ईतिहास अध्ययन गर्दा पनि यी परिवर्तनकारी आन्दोलनहरुमा सुरुमै, बिचमै वा अन्त्यमै पनि वैदेशिक हस्तक्षेप हुने गरेको ईतिहास छ । यहाँसम्म कि नेपाल औपनिवेशिक शोषण–उत्पीडनमा परेकोले साम्राज्यवाद–विस्तारवादबाट राष्ट्रिय मुक्तिको लागि समेत भनेर नयाँ जनवादी क्रान्ति गर्ने भन्दै हतियार उठाएको प्रचण्ड नेतृत्वको जनयुद्धकारी माओवादी विद्रोहमा समेत यसको पछिल्लो अवधितिरबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा इन्डो–अमेरिकी हस्तक्षेप भएको जगजाहेरै छ । भारतीय डिजाइनमा प्रचण्ड–बाबुराम र गिरिजा–माधवको चाहना समेतमा दिल्लिमा सम्पन्न कुख्यात १२ बुँदे सहमती, विस्तृत शान्तिसम्झौता, अनमिनको प्रवेश र राजतन्त्र फाल्नमा भारतको दवाव आदिको निरन्तरतामा वर्तमानको जेनजी विद्रोहलाई हेर्नू वस्तुवादी हुन्छ । अझ यहाँनेर राष्ट्रवादी नेता मदन–आशृत हत्याकाण्ड र राजा वीरेन्द्रको वंशनासकारी दरबार हत्याकाण्डमा वैदेशिक शक्तिकेन्द्रकै हात रहेको पनि आम जनताले अझै बिर्सेका छैनन् । उपरोक्त घटनाक्रमका साथै नेपालमा प्रधानमन्त्री देखि तलतलसम्मका पदहरुमा भारतीय चासो हुने गरेको र mअअ पास गराउनमा अमेरिकी चलखेल र हस्तक्षेप पनि ताजै रहेको सन्दर्भमा अन्य केही प्रत्यक्ष प्रमाण र आधारहरु नदेखिएको अवस्थामा समेत जेनजी विद्रोह एकदमै स्वतन्त्र, स्वतस्फूर्त र मौलिक विद्रोह भन्न गाह्रो पथ्र्यो भने माथि उल्लिखित थुप्रै आधार र कारणहरुले समेत यसमा पनि विदेसी हस्तक्षेप भएकोमा शंका देखिंदैन । फेरि पनि विदेसी हस्तक्षेपप्रति झुक्ने, बिक्ने र चुक्ने कि देसको हितमा वाद–विवाद–संवाद गर्ने र आवश्यक परे प्रतिवाद–प्रतिरोध पनि गर्ने ? यो राज्यसंचालकहरुको छनोटको कुरा हो । फरक यत्ति छ, पहिलो बाटो छाने ईतिहास झन् निर्मम रुपमा दोहोरिन्छ; दोस्रो छाने देस, जनता र राज्यसंचालककै शिर र स्वाभिमान उंचो हुन्छ ।

१०. आजको देसको प्रमुख आवश्यकता

विदेसीहरुले आफ्नो स्वार्थको निम्ति नेपाल र नेपाली लाई प्रयोग गर्न खोज्छन् । यसमा प्रयोग हुने मुख्य कमजोरी हाम्रा नेता र शासकहरुको हो । हाम्रा शासकहरुकै गल्ती, कम्जोरीमै टेकेर उनीहरु यहाँ हालीमुहाली मच्चाउन, हुकुम–हैकम चलाउन र हस्तक्षेप समेत गर्न सफल हुन्छन् । यो पछिल्लो घटनाप्रकरणमा पनि यही भएको छ । तर आशा गरौं जनताको अपार विश्वासका कारण बनेको यो सरकारका नेताहरुलाई हिजो शक्तिकेन्द्रले प्रयोग गरेको भएपनि आज जनताको ठूलो बल मिलेकोले वैदेशिक शक्तिकेन्द्रको दवाव बमोजिम यिनले देसघाती र जनघाती काम नगर्न पनि सक्छन् । अब रवि–बालेनहरु जनताले आफूहरुमाथि गरेको यो अगाध मायालाई विदेशीहरुको हितमा होइन स्वदेसीहरुकै हितमा प्रयोग गर्न सक्नुपर्छ । यो नै उनीहरुको चलाकी, बुद्धिमानी, जिम्मेवारी, देसप्रेम र जनप्रेमको पहिचान पनि हुनेछ ।

हाल सरकार बन्दानबन्दै संविधान संशोधन गर्न यस्ले गरिरहेको प्रयास यसदिशाको एउटा संकेत पनि हो । यस संविधान र व्यवस्थामा प्रशस्त त्रुटि रहेको र केही हदसम्म यिनै त्रुटिका कारण पुराना दल र नेताहरुले चाहेर पनि केही गर्न नसक्ने अवस्था हुन्थ्यो । यदि तिनलाई पहिचान गरेर संशोधन नगर्ने हो भने अहिलेको सरकारको पनि विगतकाहरुको जस्तै हालत हुन सक्छ । तर यो संविधान र व्यवस्थाका यावत खोटहरुलाई पहिचान गरेर सच्चाउने अनि जनता र देसको हितका विपक्षमा हिजो भएगरेका तमाम सन्धिसम्झौता, नियमकानुन र नीतिनिर्देशिका सच्चाउने अनि भ्रष्टाचारजन्य कामकार्वाहीहरुलाई विधिसम्मत, न्यायसम्मत र देस–जनताहितसम्मत तरिकाले इमानदारी र साहसपूर्वक कार्वाही गर्ने–गराउने दम हुने हो भने पनि धेरै हदसम्म देसमा परिवर्तनको अनुभूति हुनसक्छ ।

आशा गरौं यस्तै होस् ।MCC र १९५० लगायतका सम्पूर्ण राष्घाती सन्धीसम्झौताहरु खारेज गरियून् ; लिम्पियाधुरासम्म नेपालको भूभाग कायम गरियोस्; कालापानी क्षेत्रबाट भारतीय सैनिक क्याम्प हटाइयोस्; SPP जस्ता घातक सन्धिसम्झौता नगरियून्; संसद र पार्टीकाभन्दा सडक र दीनहीन जनताका आवाज सुनियून् ; मिटरब्याज, लघुवित्त र सहकारीलगायतका ठगहरुलाई गिफ्र्तार गरी तिनका नातागोताका सम्पत्तिबाट समेत पीडितहरुलाई क्षतिपूर्ति दिलाइयोस् ; गासबासकपास, शिक्षास्वास्थ्य र रोजगारको समुचित व्यवस्था होस्; देसीहरुका दवाव होइन सुझाव र स्वच्छ सहयोगलाई देसहितमा हुने गरी मात्र लिइयून्; संविधानप्रदत्त राष्ट्रियता, जनअधिकार र जनजीविकाहरु सुनिस्चित होऊन्; राष्ट्रिय स्वाधीता र असंलग्नता अक्षुण्ण रहोस्; देसमा शान्ति, न्याय, समानता, स्वतन्त्रता, सुशासन र विकास होस् ! यही आजको नेपाल र नेपालीको प्रमुख आवश्यकता हो, भनिरहन नपरोस् !!

२०८२ चैत्र २८