तँ हिजो कहाँ थिईस्
तँ आज कहाँ पुगिस्
थाहा छ तँलाई ?
सहिदको रगतले
जनयोद्धाको वलिदानले
घाईते, अपाङ्ग अनि
तितरवितर भएका परिवारका त्यागले
तँ आज सिंहदरबार फेरि ताक्दैछस्
घाईते, बेपत्ता परिवार, सहिदको
विश्वासको दस्तावेजलाई धुजाधुजा पार्दै
टाउकाको मोल तोक्नेहरूसँग
मितेरी लगाउँदै
आफ्ना सहकर्मिलाई छक्याउँदै
पाखा लगाउँदै
प्रगतिशीलता र प्रतिकृयावादको परिभाषालाई
पुनर्लेखन गर्दै
आज फेरि थप प्रतिगमनको मतियार बन्दै
प्राप्त उपलब्धिलाई प्रभुहरूको पाउमा विसर्जन गर्दै
एमसिसि, विप्पा र एसपिपिको मतियार बनेर
आज तँ फेरि आउँदैछस् ।
खबरदार !
तैँले आफैलाई बिर्से पनि
आफ्नो हैसियतलाई धुलिसात पारे पनि
तँलाई जनताले बिर्सेका छैनन्
अझ प्रष्ट चिनिसकेका छन् ।
रक्तरञ्जित क्रान्तिको झण्डा हातमा लिएर
गर वा मरको युद्धभूमिमा होमिन तयार
परिवर्तनका बाहक
आन्दोलनका सिपाहीहरू
योद्धाहरू तेरा भ्रमपूर्ण
फोस्रो आश्वासनका पुलिन्दालाई
धुजाधुजा पार्दै
देश लुट्ने लाईसेन्स लिन
गरिएको नाटकीय निर्वाचन
वहिष्कार गर्न तयार छन् ।
होसियार छद्मभेषी आत्मसमर्पणवादीहरू !
मतदानको नाममा
देश लुट्ने अनुमतिपत्रको नविकरणलाई
जनताले वहिष्कार मार्फत रद्द गर्दैछन् ।