२०५९ असोज २८
कारागारको सुरक्षा इन्चार्ज सई हर्कबहादुर दशैँ बिदामा घर गएर फर्किएपछि उनको बोलिचाली, चालढाल धेरै फेरिएको छ । अड्डामा हाजिर भएको दुई दिनपछिको साँझ उनी आस्थाका बन्दिहरूको कोठामा आए । अघि अघि मादक पदार्थले मातेर आउने हर्के यसपटक साधु बनेर आउँदा अनौठो पनि लाग्यो । उनी दशैँ बिदामा घर जाँदा माओवादीहरूको घेरामा परेछन् । सायद सोधपुछ भयो कुराकानी भयो । सबिस्तार त खोलेनन् तर खुशी हुँदै भने ‘यसपाली तपाइँहरूका साथीहरूसित भेट भयो । मैले माओवादीको लक्ष्य बुझेँ । म सहमत भएँ । अब म तपाइँहरूको साथी ।’ सायद माओवादीबाट प्राभावित भएर वा डराएर हो अब तपाइँहरूलाई भोलीबाट बजारमा आएका सबै पत्रपत्रिका ल्याउन पाउनुहुन्छ, किन्न सक्नुहुन्छ । त्यसपछि हर्केको अनुहार साधुकोझैँ भयो । अस्पताल जान वा भेट्घाटमा अवरोध गरेनन् ।
२०५९/६/२८ चौथो पटकको रिहाइको पुर्जिसङ्गै कार्तिक १८ गते साँझ जेल बाहिर निस्कियौँ । हामी उही चौध जनाको समूह छौँ । मूल ढोका बाहिर खुला आँगनमा आएपछि सातवटा हत्कडी लिएर सई हर्कबहादुर थापाले आदेश दियो– ‘हत्कडी लगाओ ।’ सातजोर हातमा बाला भिरेर हामी हिरासत उकालियौँ । यो प्रकृया हाम्रा लागि नौलो हुन छोड्यो । हिरासत जानू, थुनुवा पुर्जी बुझेर कारागार आउनु नियमित प्रकृया बनिसकेको छ । हरेकपटक हिरासतको थुनुवा कक्षमा एकरात बिताएपछि जेल पुर्जी बुझ्यो जेल झ¥यो । तर यसपटक भने १९ गते दिउँसो महेन्द्र दल गणको गणपति प्रकाशजङ्ग रायमाझीको टोली प्रहरी कार्यालयमा मुकाम बनाएर बसेको छ । हामी थुनुवाहरू प्रहरीको बोलावट हुने बित्तिकै कार्यालयको छतमाथि पु¥याइन्छौं । मेरो नाम बोलाएपछि म छतमा पु¥याइएँ । लामो फेहरिस्त सहितको फाएल च्यापेर गणपति सहितको टिम कुर्चिमा विराजमान छन् । उनीहरूले फाएल पल्टाएर मसित प्रश्नोत्तर शुरु गरे । ‘तिमी कविता लेख्छौ ?’ मैले हो भनेँ ।
‘अहिले पनि लेख्न सक्छौ ?’
‘वातावरण मिले लेख्छु ।’
‘पार्टीको कुन तहमा छौ ?’
‘समर्थक हुँ सदस्य होइन ।’
उसले तयार पारेको बिबरण पढ्यो । पार्टी प्रवेश मितिदेखि साङ्गठानिक हैसियत घरायसी अवस्था आनिबानी यी सबैकुरा उसले सुनायो ।‘तिमी किन ढाँट्छौ तिम्रा कति मान्छे हामिसित छन् ।’ सङ्कटकालको शुरुमै शिव लामिछाने सेनासित आत्मसमर्पण गरेर सैनिक पोशाकमै सेल्टर र समर्थक पक्रन हिँडेको कुरा बाहिर आएको थियो । पछि उपक्षेत्रीय ब्युरो सेक्रेटरी शङ्कर घिमिरेको त अन्नपुर्ण रेडियोमा अन्तरवार्ता समेत आइसकेकोले हरेक पार्टी कार्यकर्ताको हुलिया कर्नेलले सुचना पाउनु सामान्य भैहाल्यो । अहिले जो जो माओवादी भनिएका कार्यकर्ता सैनिक ब्यारेकमा छन् यी सब सेनासँग आत्मसमर्पण गरेका पात्रहरू हुन् । हिजो पार्टिभित्र ठुला कुरा गर्ने र आफू मात्र क्रान्तिकारी देखिनेहरू आज यो स्थितिमा आइपुग्नु पार्टीले बेलैमा चिन्न नसक्नु हो । शङ्कर होस् वा शिव उनीहरूले हामीजस्ता शिक्षक बुद्धिजीवीलाई पेटिबुर्जुवा र अवसरवादी भन्दै हैकम जमाउथे । तर जब समस्या आयो अनि लुते कुकुर जस्तो बन्दै डोरिँदै गाउँगाउँ सुराक दिँदै हिँडेका छन् ।
कर्णेल रायमाझीले नाना प्रश्न ग¥यो । कतिपय बिषयमा मौन रहँदा पनि बोल्नै पर्ने हुन्छ । अगाडि टेबुलमा तर्साउने थुप्रै औजारहरू छन् । चार दिशामा बसेका सैनिकहरू एकैचोटी प्रश्नहरू सोध्छन् । कुनको उत्तर के दिनु । अलमल परिने हुन्छ । फेरि म सेनाको अघि जाँदै छु भन्ने पुर्वधारणा पनि नबनी सकेकोमा असमन्जस्यमा परिने रहेछ । तँ आतङ्ककारी नभए किन समातिइस् ? किन जेल पुगिस् ? परिवारका सदस्य किन माओवादी बनेर हिँडे ? कहाँ छन् ? बाउ आमाको किरिया किन गरिनस् ? आदि इत्यादि प्रश्नहरू कोण कोणबाट आउँछन् । उनीहरूका चार मुख छन् । म एउटा मुखले सबैको उत्तर कसरी दिनु । पहिले तिमीबाट शुरु भएको सम्वाद तँ सम्बोधनमा झरेको छ । शुरुमा नम्र देखिएको कर्णेल क्रुर बन्दै गएको छ । त्यस्तो बेला लाग्यो बरू कारागार नै ठिक । चार घण्टा लामो केरकारपछि जा भन्ने आदेश आयो । प्रहरीले पाखुरा समातेर थुनुवा कोठामा हुल्यो । साँझसम्म पनि जेल चलानको पुर्जी आएन । एक प्रकारको त्राश मनभित्र उठ्यो । जिउभर सिरिङ्ग काँढा उम्रियो । साँझ खाना आइपुग्यो । धेरै साथीहरूले जुठो मुख मात्र ग¥यौँ । रातभर तनाव मात्र भैरह्यो । एकातिर हिरासतका उपियाँ उडुस अर्कोतिर अज्ञात भयले ऐँठन गरिरह्यो । यो त्यही हिरासत हो, जहाँबाट २०५८ पौषमा दुई टोली लिई सेनाले बिरेन्चोक र छेबेटारको सिर्दी खोलामा सामुहिक हत्या गरेको थियो ।
रात डरैडरमा कट्यो । बिहान ताकुकोटमा अपरेशन सफल भएको समाचार प्रहरी कार्यालयमा फैलियो । को को साथीहरूको हत्या भयो हामी अन्जान छौँ । हिरासतमा आफन्त वा चिनजानका साथीहरू आउँछन् । तर केही सोध्ने बुझ्ने अवस्था छैन । दिनभर छट्पटी र औडाहमा बित्यो । साँझ जेल चलानको पुर्जी बुझेर कारागार आइयो । फेरि उही लय फेरि उही दैनिकी । जेल पुगेपछि थाहा भयो ताकुमा आशाकाजीको सहादत भएछ ।
२०५९/७/२० गोरखा कारागार