नेपालबाट शिलाङमा कामको खोजीमा गएका धन बहादुर कुनै पढे लेखेका मान्छे थिएनन् ।उनले आफ्नो नाम पनि ठिकसित लेख्न जानेका थिएनन् । कतै आफ्नो नाम लेख्नु पर्दा उनको हात थर थर काँप्दथ्यो । यस्ता अनपढ मान्छेले कुनै ठूलो काम पाउने कुरा भएन । उनले होटलमा भाँडा माझ्ने काम पनि बडो मुश्किलले पाएका थिए । दिन रात भाँडा माझ्दा पनि मालिकले भनेको बेलामा पैसा नदिने र पैसा दिए पनि गिलास फुटालेको भनेर महिनाको तलबबाट कट्टी गरेर थोरै पैसा मात्र दिने हुनाले धन बहादुरले एउटा नाम्लो बोकेर भारी बोक्ने पेशा समाते । उनी शिलाङको भाषामा भारी बोक्ने दाज्यू भए । भारी बोकेर केही पैसा जम्मा भएपछि उनले कोयलाकाे व्यापार गर्न थाले । हुँदा हुँदा उनी कोयलाका होल सेलर भए । मान्छेहरू उनलाई कोयलावाला महाजन भन्न थाले । यद्यपि उनले अन्य थुप्रै कारबारमा पनि हात हालेका थिए । यिनको साथमा पैसा थुप्रिएपछि यिनले शिलाङमा जमीन किनेर आलिसन भवन बनाए । ट्रक किने । गाडी किने । उनको नाम शिलाङका यिने गिने धनी मानिसमा गन्ती हुन थाल्यो । उनको गणना पूँजीपति ब्यक्तिमा हुन थाल्यो । उनी कति सङ्घ सङ्गठनका अध्यक्ष बनाइए भने कति सङ्घ सङ्गठनका सल्लाहकार पनि भए । सङ्घ संस्थालाई मागेको चन्दा दिने हुनाले मान्छेहरू उनलाई दानबीर समेत भन्न थालेका थिए । उनले चुनावको बेलामा पार्टीलाई मुठी फुकाएर चन्दा दिन्थे । यहाँसम्म कि कुनै सरकार चलाउन वा गिराउनमा यिनको ठूलो हात हुन्थ्यो । सरकारलाई उनको पैसाको आवश्यक पर्दथ्यो । सयौं व्यक्तिलाई यिनले रोजगार दिएका थिए ।
धनबहादुरलाई सरस्वतीले साथ नदिए पनि लक्ष्मीले साथ दिएको अवस्था थियो । तर लक्ष्मीले साथ दिएका व्यक्तिका सरस्वती पनि दाहिना हुने रहेछन् ।
साँचो कुरा गर्ने हो भने धनबहादुरका दरबाजामा उनको दर्शन गर्न नआउने लेखक कवि कलाकार पत्रकार समालोचक आदि बहुत कम हुन्थे । यहाँसम्म कि ठूला ठूला विश्व विद्यालयका प्रोफेसर पनि यिनका निवासमा आएर महिनौं डेरा जमाएर बस्दथे । उनले लेखेका लेख रचना र पुस्तकहरूको सम्पादन गर्नमा विद्वानहरूको होडबाजी हुन्थ्यो । प्रकाशनको लागि प्रकाशकहरू बिचमा लुछाचुँडी हुन्थ्यो । उनको नाम साहित्यको इतिहासमा पनि खोज्दा भेटिन्थ्यो ।
यिनै धनबहादुरलाई सरकारले रुसमा भएको ओलम्पिकको खेल हेर्न जाने टोलीमा सामेल गराएको थियो । त्यतिबेला उनलाई पुरै युरोपको भ्रमण गराएको थियो ।
त्यस भ्रमणबाट फर्केपछि पत्रकारले उनलाई युरोपको बारेमा प्रश्न गर्दै भनेका थिए – तपाईंलाई युरोप कस्तो लाग्यो । त्यसको जबाबमा धनबहादुरले भनेका थिए- इन्डिया पनि कतै बस्ने ठाउँ हो ।
२६-०७-२०७९