बेच

बेच

बेच मार्क्स–एङ्गेल्स बेच
बेच लेनिन बेच
बेच चेग्वेभारा बेच
बेच माओ बेच
बेच इमान जमान बेच
बेच झण्डा बेच
बेच सहिदको रगत
इतिहास बेच !

बेच पुष्पलाल बेच
बेच मदन बेच
बेच झापा, सुखानी र
बेच छिन्ताङ्ग बेच
बेच पिस्कर–पुर्तीघाट
बेच झोडा बेच
बेच इतिहास बेच
आदर्श नि बेच !

बेच थवाङ्ग बेच चुनवाङ्ग
घर्तीगाउँ बेच बेच
होलेरी–घोराही
बेच खारा बेच
बेच्न बाँकी के के छ त्यो
सबै कुरा बेच
ठूला ठूला सकिएमा
साना भुरा बेच !

लेनिनलाई जारशाहीको
दोकानमा बेच
माओलाई जापानको
पसलमा बेच
चेग्वेभारा न्यूयोर्कको
बजारमा बेच
होचिमिन्ह पेन्टागनको
सपिङ्ग मलमा बेच !

पुष्पलाललाई दरवारको
चाकरलाई बेच
मदनलाई हत्याराको
बधशालामा बेच
ईच्छुक प्रज्ञाप्रतिष्ठानको
डबलीमा बेच
पारिजात शासकको
हवेलीमा बेच !

झण्डा बेची तन्ना फेर
झोला बेची भोला
नदीनाला बेची खाऊ
पेप्सी–कोकाकोला
आदर्शलाई तस्करको
आँगनीमा बेच
निष्ठालाई निचहरूको
लगानीमा बेच !

बेच्दा बेच्दा बेच्न बाँकि
छैन केही टुङ्गो
आदर्श र इमानमा
भयौ तिमी बुङ्गो
घिनाउला भोलि तिम्रो
चिहानको ढुङ्गो
कुकुरले चढाउला
तिमीलाई फूलको थुङ्गो !
२०७९ कार्तिक २२ माइतीघर मण्डला