साताको कविता
भन्दै आउन आउँछन् हजुर हो, आयो नि निर्वाचन।
पोको भित्र विकास हुन्छ नुनकै,चर्को छ आश्वासन॥
तिम्रो त्यो लुटको विषालु धनमा, ठूलो अहङ्कार छ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
हात्ती दन्त उध्याउँदै पसिसक्यो, यस्तो यहाँ हाल छ।
भित्रै भित्र सखाप देश हुन गै,भो कष्ट बेहाल छ॥
थोत्रो भाषण सुन्नु छैन फुकुले, धिक्कार धिक्कार छ॥
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
हेर्दै लाज लाग्दछ देख्छु यिनको, ध्याउन्न सत्ता धन।
कस्तो छाँट र काँट मिलिजुली, आसन्न निर्वाचन॥
लुट्नेले हर बार लुट्छ जनता, कङ्गाल कङ्गाल छ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
देखिन्छन् अनुहार यी कुलतका, भिन्दै अहङ्कार छ।
भेटिन्नन् किन होनहार मनका,काले त बेकार छ॥
लाक्षीको सरकार मात्र छ यहाँ,जो हातले माग्दछ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
माग्ने हात जताततै अघि बढ्यो, मागेर ज्यूनार छ।
सत्ता भित्र रमाउँदै अनि बस्यो, स्वप्ना नि साकार छ ॥
मागेको सहयोगले मुलुक नै, चल्दो अहोरात्र छ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
यौटै देख्छु म आज भिन्न अणुका,भाले र सालहरू।
यस्ता धूर्तहरू मिले नि कसरी,माले र झालेहरू॥
कस्तो नाटक हो सगर्व कहने,नारा परिष्कार छ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
हेरी मङ्सिर जोखना तय भयो,आसन्न निर्वाचन।
ल्याएको धन वैरिका नजरले, बाँडेर आश्वासन॥
गर्दैछन् छलछाम चिन्नु गुलियो,पोको विषाक्तै र’छ।
त्यसैले त चुनाव हो फगतको,मेरो बहिष्कार छ॥
ल्याएको गणतन्त्र रक्त बलले,दुत्कार दुत्कार छ ।
के को उन्नति हुन्छ मात्र छलको, सँस्कार सँस्कार छ ॥
औँसी रात छ अन्धकार जगमा, व्यापार साकार छ।
त्यसैले त चुनाव हो फगतको, मेरो बहिष्कार छ॥
२०७९/०७/०७