नेपालीमाथि भारतीय ज्यादति रोकिएन, विरोधमा बोल्दैन सरकार

नेपालीमाथि भारतीय ज्यादति रोकिएन, विरोधमा बोल्दैन सरकार

काठमाडौँ । भारतको सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकमाथि भारतले एकपछि अर्को ज्यादति गरिरहेको छ । भारतीयहरुको अमानवीय ज्यादतिको शिकार बनेर नेपाली नागरिकहरुले आफ्नो ज्यान गुमाइरहँदा पनि नेपालको सरकार बोल्दैन, विरोध गर्ने सामथ्र्य राख्दैन । निरिहता प्रदर्शन गरिरहन्छ । भारतीयको पछिल्लो ज्यादतिमा परेर शुक्रबार महाकाली नदीको सीमापारि एक नेपाली नाबालकले ज्यान गुमाएका छन् । शुक्रबार (कात्तिक १०) मा दुई मुलुकको सीमा नदी महाकाली पारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भयो । उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

यस्तै, ढुंगा लागेर हिक्मत महराकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेको उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए । उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो ।

उक्त क्षेत्रमा भारतीय पक्षबाट भएको यो पहिलो अमानवीय ज्यादति होइन । यस अघि २०७८ साउन १५ मा दार्चुलाको मालघाटमै महाकाली नदी तर्न लाग्दा भारतीयले तुइनको खुस्काइदिए, जसले गर्दा व्यास गाउँपालिका–२ स्थित खाङदाङका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भए । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले उक्त तुइन खुस्काइ दिएको गृह मन्त्रालयले गरेको छानबिनबाट पनि पत्ता लागेको थियो । तर सरकारले न त छानबिन प्रतिवेदन नै सार्वजनिक ग¥यो, न त भारतलाई घटनामा संलग्नलाई कारवाही गर्दै बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पहल नै ग¥यो, बरु उल्टो नेपाल सरकारले नै धामीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटनालाई सामसुम पारियो ।

भारतीयले सीमा क्षेत्रमा गरेको ज्यादतिका कारण नेपालीहरुले धेरै नै पीडा र क्षति पनि बेहोर्नु परिरहेको छ । गल्ती स्वीकार गर्नु र धामीको परिवारलाई क्षतिपूर्ति दिनुभन्दा भारतले महाकाली नदीमा मोटरेबल पुल बनाइदिने भन्यो । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच उक्त पुल निर्माणका लागि २०७८ माघ १८ मा सम्झौता भयो । त्यही सम्झौताअनुसार उक्त पुलको शिलान्यास पनि भइसकेको छ । तर निर्माण कार्य भने अगाडि बढेको छैन ।

भारतीय ज्यादतिबाटै ज्यान गुमाउने अर्को नेपाली नागरिक हुन्, कञ्चनपुर पुनर्वास–८ स्थित आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतम । उनलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले २०७३ फागुन २६ मा गोली हानी हत्या गरेका थिए । तर त्यो घटनाको भारतले न त कुनै जिम्मेवारी लियो, न त गल्ती नै स्वीकार ग¥यो । न त नेपाल सरकारले नै भारतीय ज्यादतिको विरोध गर्न सक्यो । पछि नेपाल सरकारले गौतमको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएर सहिद घोषणा गरिदियो ।

अन्तर्राष्ट्रिय सिमाना, सार्वभौम र स्वतन्त्र देशको सम्मान गर्नुपर्ने भावना भारतीय पक्षमा नदेखिएको नेपाल–भारत सम्बन्धमा विज्ञहरु बताउँछन् । उनीहरु नेपाल सरकारले यस्तो संवेदनशील घटनामा छानबिन गर्ने र त्यसपछि कूटनीतिक नोट पठाउनुभन्दा पनि तुरुन्तै भारतलाई प्रोटेस्ट नोट पठाइहाल्नु पर्ने सुझाव दिन्छन् तर सरकार भने भारतको यति ठूलो मानवताविरुद्धको अपराधमा पनि चुँ सम्म बोल्दैन ।
यसैबीच, चौतर्फी रुपमा विरोध भएपछि दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको घटनामा भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भारतीय निर्माण कम्पनी मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ । निर्माण कम्पनीले रु १० लाख दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेका छन् ।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरुप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । निर्माण कम्पनी गर्ग एण्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ ।
छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले शनिबार भारतको धारचुला गइ छलफल गरेको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक(पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ । भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए । भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमासमेत क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ ।

‘घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौं”, प्रजिअ उपाध्यायले भने । तर देउवा सरकार भने यसबारे यो समाचार तयार पार्दासम्म बोलेको छैन ।