काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा सुकुम्बासीहरुमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरुाट विना विकल्प बलपूर्वक निकाल्ने बालेन्द्र सरकारको सूचनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै समुचित वैकल्पिक व्यवस्था नगरिकन सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरुमा डोजर लगाउने कार्यले सरकार फासिस्ट साबित हुँदै गएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “कठपुतली बालेन्द्र सरकारले थप सुकुम्बासी बस्तीहरूमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरूबाट सुकुम्बासी परिवारलाई पुनः बलपूर्वक लखेट्ने सुचनाले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । संघर्षरत सुकुम्बासीहरूसँग वार्ता तथा संवाद गरी वर्षौंदेखि भूमि, आवास र सम्मानजनक जीवनयापनको अधिकारबाट वञ्चित नागरिकहरुको समस्यालाई कानुनी प्रक्रिया र वैकल्पिक तथा न्यायोचित व्यवस्थापनबाट समाधान गर्नुपर्नेमा बलप्रयोग, त्रास र विस्थापन कार्यले सरकार फासिस्ट साबित हुँदै गएको प्रस्ट गर्दछ । त्यसकारण हाम्रो पार्टी समुचित वैकल्पिक व्यवस्थापन नगरिकन सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरूमा डोजर लगाउने कुकार्यको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन समग्र पार्टी पंक्तिलाई निर्देशन समेत गर्दछ ।”




























