बेसीको चुलोमा आगो नबले पनि
चुचुरोमा घाम त बिहानै लाग्छ
सेपिलो पाखोमा धागो नचले पनि
महामहिमको सलामी सबेरै जाग्छ
यो चक्र पृथ्वीको घुमाइसँगै घुम्छ
फरक यति मात्र छ
थोरैलाई सदाबहार वसन्त
धेरैलाई नियमित शिशिर ।
एउटै आकाशमुनि बाँचिरहेका छौं
एउटै माटोमा टेकिएका पाइला छन्
कसैको घरमा उज्यालो थुप्रिन्छ
कसैको आँगनमा अँध्यारो नै बस्छ
कसैका रहरहरू सजिलै फक्रिन्छन्
कसैका आवश्यकता पनि ओइलिन्छन्
कसैलाई अवसर
आफैँ ढोका ढकढक्याउँछ
कसैले ढोका ढकढक्याउँदै जीवन बित्छ
उता महाधिवेशन चलिरहेको
न्याय र समानताको नारा घन्किरहेको छ
थालमा मासुका पहाड छन्
भाषणमा गरिबका आँसु छन्
आठ क्वीन्टल मासुको चर्चा छ
पनिर र च्याउको बहार छ
देश बचाउने योजना बनिरहेका छन् रे
तर भोकै पेटको आवाज कहाँ छ ?
यता सुकुम्बासी होल्डिङ सेन्टरमा
आलु र प्याज पनि गनेर खानुपर्छ
बुढाबुढीका आँखाले भोलि खोजिरहेका छन्
बालकको पेटले अझै उत्तर मागिरहेको छ ।
उता समानताको भाषण सकिँदा
तालीको गडगडाहट उठ्छ
यता खाली कटौरामा चम्चा ठोकिँदा
भोकको प्रतिध्वनि मात्र सुनिन्छ
एउटै देश
एउटै संविधान
एउटै झण्डा
एउटै आकाश
थोरैका लागि महाभोज सजिन्छ
धेरैका लागि राहतको शून्य
र अन्त्यमा पनि
फरक यति मात्र छ
थोरैलाई सदाबहार वसन्त
धेरैलाई नियमित शिशिर
हाम्रा लागि छुट्टिएको अंश
अझै पनि सङ्घर्षको योजना ।
































