पिँजडा

पिँजडा

कविता

ए चरी
एक्काईसौ शताब्दीमा झरी
पिजडामा परी
फरक्क फर्केर इतिहासमा हेरी
आफ्नो अस्तित्वको गणना गरी
पहिले पनि पिजडामै थिई
अहिले पनि पिजडा भित्रै छ उसको जीवन
पिजडाको बनावट हेरी
खिया लागेको फलामे पिजडा थियो पहिले
हेर्दा आकर्षण र फुलबुट्टाले भरिएको छ अहिले
तर पनि कैदी नै हो ऊ आजसम्म
अनि
पिजडा भित्रैबाट आफ्नो आँखाले
भ्याए सम्मको संसार नियाली
सुन्छिन् उनी पिजडा बाहिर
शिकारीहरुले ढुकेर बसेको छ
उड्ने सपना छ उसको
शिकारीको डर मनभित्र पसेको छ
छ उसँग पखेटा हावाको गतिसँगै आकाश छुने
आफ्नै फिजाउन नपाएको पखेटा हेर्दै
भन्छिन् बिकल्प भयो मात्र रुने
के उसँग भएका आकर्षक पखेटा
सजावटको लागि मात्र हो ?
अरुले निर्माण गरेको झ्यालखानाको
के ऊ कैदी पात्र हो ?
आफैसँग प्रश्न गरी
आफैसँग उत्तर मागी
अनि आफ्नो उडानको दायरा निर्धारण गरी
पिजडाबाट भूर्रर उडी
आज उसको सपनाको जित भएको छ
आज उसको उडानको चर्चा भएको छ ।