बाउको चितामा आमालाई
जिउँदै जलाउने इतिहास बोकेको
त्यही पितृसत्ताको ढोकामा उभिएर
मायाको भिक माग्दै
के सावित गर्न खोज्छौ ए छोरीहरू !
जसले तिम्रो मौनतालाई
संस्कारको नाम दियो,
जसले तिम्रो पीडालाई
कर्तव्यको नाम दियो,
जसले तिम्रो सपनालाई
घरको चौघेराभित्र थुनेर
त्यसैलाई मर्यादा भन्यो
उसैसँग प्रेमको प्रमाणपत्र खोज्दै
कति वर्ष बिताउने ?
तिम्रा आँसुहरू
युगौँदेखि बगिरहेका छन्
तर इतिहासका पानाहरू
आँसुले होइन,
विद्रोहका पाइलाले फेरिएका छन् ।
याद गर,
जब नारीले टाउको झुकाई
समाजले उसलाई अझै दबायो
जब नारीले टाउको उठाई
त्यही समाजले
नियम बदल्न बाध्य भयो ।
सके मशाल बन,
नसके कम्तीमा खरानी नबन
आफ्नो अस्तित्वलाई
अरूको दयामा नबँचाऊ ।
किनकि झुकेको टाउकोले
सायद दया पाउन सक्छ
तर उठेको टाउकोले
इतिहास बदल्न सक्छ ।
र सम्झ,
तिमी कसैको दयाले बनेकी होइनौ
तिमी त त्यो शक्ति हौ
जसले जन्म दिन्छ
हुर्काउँछ
र आवश्यक परे
अन्यायको जग नै हल्लाउन सक्छ ।
त्यसैले भिक होइन
आफ्नो अधिकार माग
मौन होइन
आफ्नो आवाज बोल
किनकि संसारमा
सबैभन्दा ठूलो परिवर्तन
आँसु झार्ने नारीले होइन
मशाल बोक्ने नारीले ल्याएकी छ ।






























