विना स्थायी विकल्प होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई हटाइए सशक्त संघर्ष गर्ने चार कम्युनिष्ट पार्टीका नेताहरुको चेतावनी

विना स्थायी विकल्प होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई हटाइए सशक्त संघर्ष गर्ने चार कम्युनिष्ट पार्टीका नेताहरुको चेतावनी

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको सुकुम्बासी विस्थापनका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उल्लेखित चारवटै कम्युनिस्ट पार्टीका नेताहरुले विना स्थायी विकल्प जबर्जस्त होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई विस्थापित गरिए देशव्यापी रुपमा सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता प्रकाश खतिवडा, नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले यस्तो चेतावनी दिएका हुन् ।


नेताहहरुले संसदीय व्यवस्था भनेकै सुकुम्बासीहरु उत्पादन गर्ने व्यवस्था भएको भन्दै नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्था नभएसम्म यो मुलुकमा सुकुम्बासी समस्याको स्थायी समाधान नहुने दावी गरे ।


वर्तमान दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था गरिब, निमुखा, किसान, मजदुर, सुकुम्बासीहरुको नभएको भन्दै सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले पनि यसलाई थप पुष्टि गरिसकेको बताए । यो सरकार जनघाती मात्रै होइन राष्टघाती समेत रहेको भन्दै उनीहरुले यो दलाल पुँजीवादी व्यवस्थाको समूल अन्त्य गरेर श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको राज्य व्यवस्था स्थापना गर्न र देशको स्वाधीनताको रक्षा गर्न आमूल परिवर्तनको लागि संघर्ष गर्न तयार हुनुपर्ने पनि बताए ।


नेताहरुले जेनजी विद्रोह नेपाली जनताको यही आकांक्षा पूरा गर्नका लागि भएको भए पनि नयाँ संसदवादी तथा विदेशी दलालहरुले हाइज्याक गरेर यही संसदीय व्यवस्थामा अल्झाउन पुगेको विश्लेषण गरे । जनताले व्यवस्था परिवर्तन चाहेको भएपनि नव सम्भ्रान्तवर्गले यथास्थितिमै अल्मल्याएको उनीहरुको ठहर थियो ।


सुकुम्बासीमाथिको बर्बरतापूर्ण दमन, होल्डिङ सेन्टरमा देखाइएको अमानवीय क्रूरता र राज्यआतंकले बालेन्द्र साह नेतृत्वको सरकारले फासिवादी उन्माद प्रदर्शन गरिरहेको भन्दै त्यसलाई मध्यमवर्ग र सहरीया सम्भ्रान्तवर्गले पनि मलजल गरिरहेकोप्रति आक्रोश व्यक्त गरे ।


कार्यक्रममा कीर्तिपुर लगायत होल्डिङ सेन्टरमा राखिएका सुुकुम्बासीहरुलाई विना स्थायी विकल्प नहटाउन राज्यका सरोकारवाला निकायहरुसँग माग समेत गरेका छन् र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि अमानवीय अत्याचार भइरहँदा मौनता साँधेर बसिरहेका पुराना संसदवादी दलहरु कांग्रेस, एमाले र माओवादीप्रति पनि उनीहरुले आक्रोश पाखेका थिए ।


कार्यक्रममा दलाल बालेन्द्र सरकार मुर्दावाद, होल्डिङ सेन्टरबाट हटाउने सूचना फिर्ता गर, विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई क्षतिपूर्तिसहित स्थायी बसोबासको ग्यारेन्टी गर, सुकुम्बासीमाथिको बर्बरतापूर्वक राज्य आतंकत बन्द गर, राष्टिय स्वाधीनता जिन्दावाद लगायतका नाराहरु लगाइएको थियो ।