विज्ञ र राजनीतिज्ञहरुको जोड : सुकुम्बासीहरुको न्याय र मुक्तिका लागि संघर्ष अपरिहार्य

विज्ञ र राजनीतिज्ञहरुको जोड : सुकुम्बासीहरुको न्याय र मुक्तिका लागि संघर्ष अपरिहार्य

काठमाडौं । क्रान्तिकारी किसान महासंघ, नेपाल, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल प्रगतिशील किसान संघको संयुक्त आयोजनामा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा बोल्ने विषय विज्ञ तथा राजनीतिक नेताहरुले संघर्षविना सुकुम्बासी र अव्यवस्थितमाथि लादिएको फासिवादी दमन, क्रूरता र अमानवीय अत्याचार नरोकिने र पीडितहरुले न्याय पनि नपाउने स्थिति देखिएको भन्दै राजनीतिक ‘सुकुम्बासी–अव्यवस्थितमाथि राज्यको दमननीति र न्यायपूर्ण निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा अन्तरक्रिया विषय शीर्षकमा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवधारणा पत्रमाथि टिप्पणी तथा सम्बन्धित विषयमा प्रमुख वक्ताको रुपमा बोल्ने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले अवधारणा पत्रले भनेजस्तै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या नयाँ जनवादी क्रान्तिबाट मात्र सम्भव स्पष्ट पार्नुभयो । तत्कालीन रुपमा राज्यले सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि लादेको फासिवादी क्रूर दमनको प्रतिरोध गर्न, मानवीय र उचित विकल्पसहित पुनर्वासको ग्यारेन्टी गर्न संघर्षलाई थप उचाइमा उठाउनुपर्ने बताउनु भयो ।

उहाँले देशैभर उठिरहेको सुकुम्बासी तथा अव्यवस्थितहरुको आन्दोलनप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको भन्दै संघर्षलाई एकीकृत रुपमा थप उचाइमा उठाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान, मजदुर तथा सम्पूर्ण श्रमजीवी वर्गमाथि भएको अन्याय र अत्याचारको विरुद्ध नलड्ने, संघर्ष नगर्ने हो भने कम्युनिस्ट पार्टीको औचित्य नै रहन्न । तसर्थ, सुकुम्बासीहरुको आन्दोलनप्रति हाम्रो पार्टी पूर्ण समर्थन व्यक्त गर्दछ । सुकुम्बासीहरु स्पष्ट नीति र नेतृत्वसहित संघर्षको पर्खाइमा छन् । त्यो खाली ठाउँ भर्न आजको यो अन्तरक्रिया कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएको छु ।’

देशका थुप्रै कम्युनिस्ट तथा वामपन्थी पार्टीहरू हुँदाहुँदै पनि सुकुम्वासी समस्या गम्भीर रहनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि यतिका ज्यादती हुँदा सदनमा अपेक्षाकृत कुरा नउठेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नयाँ जनवादी क्रान्तिपछि मात्रै सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान हुने बताउँदै उहाँले सुकुम्वासी आन्दोलनले नयाँ जनवादी क्रान्तिको तयारीमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भएको अन्याय र अत्याचारका विरुद्ध संघर्षमा जोड दिंदै भन्नुभयो, ‘तपाईंहरूले अहिले जे गर्नुभएको छ, त्यो ठिक छ’ उहाँले भन्नुभयो– ‘अब यसको आधारमा तपाईंहरूले तत्कालै सङ्घर्षको कार्यक्रम घोषणा गर्नुपर्छ ।’


तत्कालै कठोर कार्यक्रमको घोषणा गर्न नसकिए पनि यही अन्तरक्रिया कार्यक्रमलाई जिल्लास्तरमा पु¥याउनुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो– ‘हामीले सुकुम्वासी बस्तीमा गएर तथा उनीहरूका सङ्गठनलाई सहभागी बनाएर आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’


देशमा थुप्रै कम्युनिस्ट वा वामपन्थी पार्टी हुँदाहुँदै पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले समस्या व्यहोर्नुपरेको सन्दर्भमा उहाँले मुख्यतः साङ्गठनिक कमजोरीकै कारण त्यसो गर्न नसकिएको बताउनुभयो ।


अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालन तथा अखिल नेपाल प्रगतिशील किसान सङ्घका महासचिव राजन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित जनसमुदायलाई क्रान्तिकारी किसान महासङ्घका महासचिव धनेश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

अन्तरक्रियामा कार्यक्रममा धारणा राख्ने क्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारले आफ्नो वर्गीय चरित्रअनुसार नै सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि दमन चलाएको बताउनु भयो र भन्नुभयो, “सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि भएको दमन वर्गीय दमन हो ।”


पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ राखेको प्रसङ्ग अगाडि सार्दै उहाँले वर्तमान सरकार नेपालमा दलीय व्यवस्था अफापसिद्ध छ भन्ने पुष्टि गर्न लागिपरेको बताउनुभयो ।

गृहमन्त्रीमा पुनः सुधन गुरुङको नियुक्तिले बालेन्द्र सरकारको आगामी शासन कस्तो हुन्छ भन्ने सङ्केत मिलिसकेको उहाँको भनाइ थियो । मन्तव्यको क्रममा उहाँले सुकुम्वासी, अव्यवस्थित बसोबासीसहित देशमा सम्पूर्ण गरिब, किसान मजदुरले सङ्घर्षका लागि तयार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार इन्द्र राउतले सुरक्षा निकायसँगै डिजिटल माध्यम, सिआइडी र सेनालाई समेत संलग्न गराएर प्रधानमन्त्री बालेनले महानगरपालिकाकालीन प्रतिशोध साधेको बताउनुभयो ।
संसद्मा रहेका पार्टीहरूले पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसित ‘तिमीहरूले हामीलाई भोट दिएका थिएनौँ, ठिक्क भयो’ भन्ने हिसाबले व्यवहार गरेको बताउनुभयो ।

सरकारमा सामाजिक फासिवादी चिन्तन देखा परेको बताउँदै उहाँले तीन किसान सङ्गठनलाई सुकुम्वासी सङ्गठनसित सहकार्य गर्न सुझाव दिनुभयो । र, देशव्यापी छरिएका प्रतिरोध संघर्षलाई एकीकृत रुपमा उठान गर्न आवश्यक पहल गर्न पनि सुझाब दिनुभयो ।

अर्थविद् डा. डिल्लीराज खनालले सुकुम्वासी समस्यालाई आधारभूत रूपमा नै समाधान गर्नेतर्फ अहिलेसम्म सत्तामा पुगेका राजनीतिक दलहरूले ध्यान नदिएको बताउनुभयो ।

सुकुम्वासी र अव्यवस्थित बसोबासी विपन्न वर्गभित्र पर्ने बताउँदै उहाँले नेपालमा आयमाथि आधारित गरिबी ४० प्रतिशतभन्दा बढी भएकाले यसबारे राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन संघर्ष मात्र एक विकल्प रहेकोमा पनि जोड दिनुभयो ।

सरकारको बजेटको प्रसङ्ग उठाउँदै उहाँले अमेरिकाले राष्ट्रिय आत्मसंरक्षणवादी नीति अनाइरहेका बेला नेपालले भने नवउदारवादी नीति अपनाउनु उल्टो दिशातर्फ जानु भएको विचार व्यक्त गर्नुभयो ।
बजेटकै सन्दर्भमा उहाँले वर्तमान करप्रणालीकै कारण देशमा बिचौलिया जन्मने, हुर्कने र फैलिने वातावरण रहेको स्पष्ट पार्नुभयो ।

अखिल नेपाल किसान महासङ्घका संयोजक बलदेव चौधरीले संविधानमा जनता सार्वभौमसत्ताको मालिक हुन् भन्ने लिपिबद्ध भएकाले आवास जनताको मौलिक हक रहेको सरकारले हेक्का राख्नुपर्ने बताउनुभयो ।

जनताको बाँच्न पाउने हक कसैले खोस्न नसक्ने स्पष्ट पार्दै उहाँले संविधानमा व्यवस्था भएको समाजवादोन्मुख मुलुकको सट्टा व्यक्तिगत उन्नतितर्फ वर्तमान सरकार अघि बढिरहेको धारणा राख्नुभयो ।

संविधानमा उल्लेख भएका अधिकारको सूची तीनै तहका सरकारले समुचित प्रकारले उपयोग नगरेकाले अहिले देशमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या गम्भीर रहेको उहाँको भनाइ थियो । र, जारी आन्दोलनमा आफ्नो संगठन पनि सँगै रहेको स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालमा प्रत्येक आन्दोलन साम्राज्यवाद र साम्राज्यवादसँग सम्झौता गरेर टुङ्गिएकाले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या अहिलेसम्म यथावत रहेको धारणा राख्नुभयो ।

देश स्वाधीन नरहेकाले पहिलो कार्यभार सोही रहेको विचारसँगै उहाँले भन्नुभयो– ‘त्यसका लागि नेपालमा नयाँ जनवादी क्रान्ति हुनुपर्दछ ।’ उहाँले जल, जमिन र जङ्गलमा किसानको स्वामित्व हुनुपर्ने बताउँदै किसान बलियो नहुँदासम्म देश बलियो हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा हाउसबाट सुकुम्वासीहरू पवन गुरुङ र लघुमाया गोलेले सुकुम्बासीको पक्षमा अन्तरक्रिया कार्यक्रम राखेको भन्दै सुकुम्बासीहरुको मुक्तिको संघर्षमा पूर्ण रुपले आवद्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।