यही भदौ २० गते हामी दुई (म र मेरी श्रीमति) त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियातर्फ लाग्यौं । त्यो पारिवारिक भेटघाटका लागि आयोजित भ्रमण थियो । गत पाँच वर्षदेखि अस्ट्रेलियामा रहँदै आएका छोरा–बुहारीलाई भेट्न हामी त्यहाँ गएका थियौं । पारिवारिक रुपमा आयोजना गरिएको भए तापनि त्यो हाम्रा लागि एउटा महत्वपूर्ण शैक्षिक भ्रमण थियो । भ्रमणका क्रममा हामी अस्ट्रेलियाका विभिन्न शहर र पर्यटकीय स्थलहरुमा पुग्यौं । अस्ट्रेलियाको प्रमुख व्यापारिक शहर सिड्नीको अत्यन्त व्यस्त जीवन, त्यहाँका विभिन्न पर्यटकीय गन्तव्यहरुको भ्रमण, विभिन्न ठाउँमा घुमफिर गर्दा भएका छलफल, अन्तत्र्रिmया र त्यहाँ रहेका नेपालीहरुसँगको कुराकानी, ताजमानियाको मनमोहक प्राकृतिक भू–बनोट तथा शान्त परिवेश र पूर्णिमाको दिन नेपाली समाजद्वारा लन्चेस्टनमा आयोजित दशैं परेडमा सहभागी हुँदा एउटा नयाँ अनुभूति भएको छ । यो छोटो रचना त्यही अनुभूतिको लिपिबद्ध सँगालो हो ।
यात्राको प्रमुख उद्देश्यनै पारिवारिक भेट भएको हुनाले ताजमानियको लन्चेस्टन एयरपोर्टमा नपुग्दासम्म हामीमा लामो समयदेखि विछोड भएका छोरा–बुहारीसँग कतिबेला भेट होला भन्ने लाग्नु स्वाभाविक थियो । बुहारीको भरखरै बैङ्कमा नयाँ काम सुरु भएको र त्यही बेला तालिम चलिरहेको हुनाले हामीलाई लिन छोरोमात्र आउने सुचना हामीले पहिल्यै पाएका थियौं । तीन बजे प्लेनबाट ओर्लिएपछि लगेज लिएर यताउता हेरिरहेको बेला बुुवा नमस्कार भन्दै छोरो सामुन्ने उभिएको क्षण निकै शुखद रह्यो । आमाले आलिङ्गन गरेर छोरालाई सुम्सुम्याउँदाको दृश्यले मलाई अलि भावुक पनि बनायो । करिब ४ बजे हामी घरमा पुग्यौं । साँझ ६ बजे तिर बुहारी पनि आइपुगिन् । बुवा नमस्कारको आवाज पछि सासु–बुुहारीको लामो आलिङ्गनमा अभिव्यक्त पारस्पारिक आत्मीयता आमा–छोरीको भन्दा फरक थिएन । पाँच वर्ष अघि विछोड भएका बा–आमा र छोरा–बुहारीको भेट अत्यन्त सुमधुर र भावनात्मक रह्यो । शायद यसलाई गत वर्ष सात दिनसम्म पाटन अस्पतालमा रहँदाको कोरोना आतङ्क र अहिलेको शुखद मिलनले थप मार्मिक बनाएको थियो । अनुभूतिका यी शव्दहरु कोर्दासम्म हामी अस्ट्रेलियामा पारिवारिक जीवन बिताइरहेका छौं ।
अस्ट्रेलिया आर्थिक पूर्वाधार तथा सामाजिक संस्कारयुक्त विकसित पुँजीवादी देश हो भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । तर प्रत्यक्ष देख्दा हुने अनुभूूति सुनेको भन्दा नितान्त फरक हुने कुरा स्वाभाविक हो । श्रमप्रतिको सम्मान, सामाजिक समानता र पारस्पारिक सहयोगको भाव यहाँका जनताको परिचय रहेको पाइयो । विभिन्न रुप, रङ्ग र जातका मानिसहरुको मिश्रित बसोबास रहेका ठुला–ठुला शहरहरुमा पनि जनस्तरमा सामाजिक तथा जातीय विभेदको कुनै अनुभूति भएन । खासगरी बाटो, बजार, बगैँचा तथा विभिन्न सार्वजनिक स्थलहरुमा म होइन तपाइँ पहिले भनेर अरुलाई सम्मान गर्ने अस्ट्रेलियन जनताको सामाजिक संस्कार र व्यवहार साँच्चिकै स्मरणीय एवम् अनुशरणीय लाग्यो । यो एउटा सभ्य समाजको परिचय हो । अरुको खुट्टा तानेर भए पनि आफुु अगाडि देखिनु पर्ने नेपालको सामन्ती संस्कारमा हुर्किएका हाम्रा लागि यो व्यवहार निकै अनपेक्षित थियो ।
अस्ट्रेलिया एउटा पुँजीवादी देश भएको हुनाले यहाँ श्रम र पुँजीका बीचमा अन्तर्विरोध विद्यमान छ । श्रमजीवि वर्गकोे श्रमको शोषण नै सबै देशका पुँजीपति वर्गले सम्पत्ति आर्जन गर्ने श्रोत हो । यसमा कुनै विवाद छैन । तर यहाँको पुँजीवादी अर्थ–राजनीतिक प्रणाली यसरी व्यवस्थित बनाइएको पाइयो कि बाहिरबाट झट्ट हेर्दा श्रमजीवि तथा पुँजीपति वर्गको सामाजिक जीवनमा खासै अन्तर रहेको अनुभूति नै भएन । यहाँको पुँजीवादी सत्ताले रोजगारीको ग्यारेन्टी गरेको छ, अशक्तहरुका लागि सामाजिक सुरक्षा भत्ता तथा जीवनयापनको व्यवस्था मिलाएको छ, कोही कुनै कारण बेरोजगार रहेमा भत्ता उपलब्ध गराएको छ, बैङ्कले काम र आम्दानीको आधारमा कम ब्याजदरमा ऋण उपलब्ध गराउँछ, प्राय: सबै आ–आफ्नै घरमा बस्छन् र सबैका एक–एक ओटा कार छन् । आम्दानी, खर्च तथा आयकर सबै राष्ट्रिय बैंकिङ् सञ्जालमा दर्ता छन् । कहीँ कतै पनि आर्थिक भ्रष्टाचारको गन्ध पाइँदैन । राजनीतिक नेतृत्वमा पदीय आडम्बर छैन । सीमित पुँजीपति वर्गलाई छाडेर श्रम जीउनका लागि अनिवार्य आवश्यकता बनेको छ । यही नै अस्ट्रेलियाको सङ्क्षिप्त परिचय हो । यस प्रकारको अर्थ–राजनीतिक व्यवस्थापन गरेर यहाँको सत्ताधारी पुँजीपति वर्गले श्रमजीवि वर्गलाई सन्तुलनमा राख्न सफल भएको छ ।
यहाँको पारिवारिक जीवन भने अत्यन्त यान्त्रिक र निरश रहेको पाइयो । श्रम गर्न योग्य जति सबै आ–आफ्नो काममा व्यस्त हुने, श्रीमान–श्रीमति मध्ये एक जनाको काम दिनमा र अर्काको रातमा पर्न सक्ने र त्यो अवस्थामा पारिवारिक जमघट र साथीभाइ सँगको भेटघाट कै लागि पनि हप्ता दिनसम्म कुर्नु पर्ने निरश जीवन यहाँको यथार्थ हो । सँगै भेट हुनकै लागि विदाको दिन कहिले आउला भनेर पर्खेर बस्नुु पर्ने स्थिति देखियो । त्यसमा पनि शनिवार र आइतबारको कामको ज्याला दोब्बर र सार्वजनिक विदाको दिन अढाइ गुना हुने हुनाले कतिपय परिवारमा त महिनौ भेटघाट नहुने सम्मको स्थिति रहेछ । यो यहाँको केही अप्ठ्यारो पक्ष हो ।
अस्ट्रेलिया मध्यम तथा निम्न मध्यम वर्गीय नेपालीहरुको श्रम गन्तव्यको देश हो । यहाँको सरकारी तथ्याङ्क अनुसार जुन २०२० को अन्तमा नेपालीहरुको जनसङ्ख्या १ लाख ३१ हजार ८१३ जना थियो । यो सङ्ख्या प्रतिदिन बढिरहेको छ । यहाँ कामगर्ने नेपाली श्रमजीविहरुको जीवन शैली पनि अस्ट्रेलियन मजदुरहरुहो भन्दा भिन्न छैन । बरु यो भन्दा बढी कठिन रहेको छ । घुमफिरको क्रममा जनयुद्धका बेला जनमुक्ति सेनामा कामगर्ने एकजना महिलासँग भेट भयो । उनले अस्ट्रेलियाको आफ्नो दिनचर्यालाई यसरी बताइन् । “एउटा सानो बस्ने कोठा भाडामा लिएकी छु । तर त्यहाँ बस्ने फुुर्सद हुँदैन । हप्ताको दुई दिनमात्र पुग्छुु । कुनै दिन बाहिर १८ घण्टासम्म काम गर्छु । एउटा काम सकेर अर्को काममा जाने क्रममा करिब २/३ घण्टा समय बित्छ । सुत्ने त फुर्सद नै हुँदैन । यात्राको बेला लोकल ट्रेनमा वा प्लेटफर्ममा एकाध घण्टा निदाएर निद्रा पुरा गर्ने हो ।” यो अस्ट्रेलियामा कामगर्ने ती महिलाको मात्र दिनचर्या होइन, करिब सबै नेपालीहरुको अवस्था प्राय: यही हो । कसैले त दिनको २० घण्टासम्म काम गरेको पनि सुन्नमा आयो । अस्ट्रेलिया आउँदाको ऋणको बोझ, कलेजको चर्को शुल्क, यहाँको महङ्गो जीवनशैली र अस्ट्रेलियामा त रुखमा डलर नै फल्छ झैं गरी घरपरिवारले गर्ने आर्थिक अपेक्षाको भारीले किचिएका प्राय: सबै नेपाली युवाहरुको अवस्था माथि उद्धृत गरिए जस्तै निकै कष्टपूर्ण रहेको छ । खर्चेर बचेको थोरै डलर साट्दा धेरै नेपाली रुपिया पाइने हुनाले मात्र त्यो दु:ख विर्सिएको देखिन्छ ।
स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि सम्मको डिग्री हासिल गरेर मरिमेट्दा पनि आफ्नो देशमा मासिक २० हजारको रोजगारी नपाएर भौंतारिएका नेपाली युवाहरुले प्रतिसाता रु १ लाख भन्दा बढी कमाउन पाइने अस्ट्रेलियालाई आकर्षक श्रम गन्तव्य मानेका छन् । यो अस्वाभाविक होइन । भेटघाट कै क्रममा माओवादी जनयुद्धपछि देशमा ठुलो आर्थिक समृद्धिको अपेक्षा गरेका एक जना युवाले प्रचण्डले सिकाएको साम्यवाद उनको नेतृत्वमा सरकार बनेपछिको नेपालमा आएन बरु अस्ट्रेलिया आएपछि प्रत्यक्ष देख्न र भोग्न पाएको दावी गरे । “शाषक र शाषितका बीचमा कुनै सामाजिक विभेद छैन, देशमा भ्रष्टाचार छैन, सबैले काम र माम पाएकै छन्, अशक्तहरुको व्यवस्थापन सरकारले गरेको छ, यही त हो साम्यवाद” उनको तर्क थियो । साम्यवादको अन्तर्वस्तु के हो भन्ने कुरा राम्ररी नबुझेका ती युवाले अस्ट्रेलियामा साम्यवाद देख्नु वस्तुत: साम्राज्यवादद्वारा उत्पीडित सामन्तवादी देश भन्दा पुँजीवादी देश प्रगतिशील हुन्छ भन्ने कुराको द्योतक हो, अस्ट्रेलियामा साम्यवादी व्यवस्था भएर होइन ।
विभिन्न ठाउँको भ्रमण र कार्यक्रमहरुमा हुने भेटघाटमा धेरै नेपालीहरुसँग अन्तक्र्रिया र छलफल भए । प्राय: सबैको विदेश आउन रहर नभएको तर देशमा कुनै उपाय नलागेका कारण मात्र आउन बाध्य भएको भन्ने एउटै तर्क छ । यसो हुनुुको कारण उनीहरु राजनीतिक नेतृत्वको असक्षमता र तिनको भ्रष्टीकरण नै ठान्दछन् । काङ्ग्रेस र एमालेले केही गरेनन् भनेर राजनीतिक तथा आर्थिक क्रान्तिका लागि जनयुद्धका क्रममा त्यत्रो बलिदान गरेको माओवादीले समेत देश र जनताको पक्षमा कुनै काम नगरेको र माओवादी नेता प्रचण्ड र बाबुरामको नेतृत्वमा बनेका सरकारहरु पनि विदेशीको दलाली र भ्रष्टाचार मै लिप्त भएकोले अधिकांश युवाहरु अव नेपालमा केही हुँदैन भनेर निराशा व्यक्त गर्छन् । त्यसमाथि पछिल्लो पुस्ताका युवाहरुमा त राजनीतिक नेतृत्व प्रति मात्र होइन राजनीति प्रति नै घृणा जागेको पाइन्छ । अस्ट्रेलिया आएका मध्ये ठुलो सङ्ख्यामा रहेका युवाहरुको उद्देश्य स्थायी बसोबास अर्थात् पिआरको अधिकार लिएर सरकारी सुुविधामा दावी गर्ने र यहीँको नागरिकता लिएर नेपाल नफर्कने रहेको छ । यसले नेपाली युवाहरु देशका शाषकहरु देखेर कतिसम्म निराश छन् भन्ने दर्शाउँछ । केही युवाहरुमा भने यहाँ केही कमाएर भोलि नेपालमा फर्किने र आफ्नै देशमा केही गर्ने हो भन्ने सोँच रहेको पाइन्छ । यो राम्रो पक्ष हो ।
अस्ट्रेलिया बसाइको यो छोटो अवधिमा नेपालीहरुको देशभक्ति र आफ्नो राष्ट्रिय पहिचान, परम्परा, भेषभूषा एवम् संस्कृतिको रक्षाका लागि उनीहरुको क्रियाशीलता उल्लेख्य रहेको पाइयो । दशैको टीका पछिको पूर्णिमाका दिन उत्तर ताजमानियाको नेपाली समाज (ल्क्ल्त्)ले आयोजना गरेको परेडको कार्यक्रम निकै भावोत्तेजक थियो । दौरा सुरुवाल तथा क्रस–खुकुरी सहितको नेपाली कालो टोपी र सारी चोलोमा सजिएका युवा युवतिहरुले नेपाली र अस्ट्रेलियन झण्डा बोकेरे पञ्चेवाजा बजाउँदै लन्चेस्टन सिटीका सडकमा अयोजना गरेको दशैं–परेड र सहभागीहरु बाजाको तालमा छमछम नाचेको दृश्य निकै अविस्मरणीय रह्यो । करिब ३ घण्टासम्म चलेको उक्त परेडमा नेपाली ढाका टोपीले सजिएका लन्चेस्टनका मेयरको विशेष उपस्थितिले नेपाली र अस्ट्रेलियन जनताका बीचको सौहाद्र्र सम्बन्धलाई झल्काउँथ्यो । त्यो र्‍यालीको चित्र मेरो मष्तिस्कमा अझै पनि घुमिरहेको छ ।
त्यसैगरी नेपाली समाजले आयोजना गरेका द्यौसी–भैलोका कार्यक्रमहरु निकै आकर्षक र मार्मिक रहे । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएका कार्यक्रमहरुमा स–साना बाबु–नानीहरु पनि सहभागी हुन्थे । साथै समाजद्वारा सञ्चालित भाषालयमा आफ्ना बाल–बालिकालाई साताको एकदिन नेपाली भाषा पढाउने गरिएको पनि पाइयो । नेपाली भाषा, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको कुरा उद्घोषकले बताइ रहँदा नेपालीहरुको राष्ट्रिय स्वाभिमान प्रतिको गहिरो निष्ठाभाव झल्किन्थ्यो । यस प्रकारका कार्यक्रमहरु लञ्चेस्टनमा मात्र होइन अस्ट्रेलियाका अन्य शहरहरुमा पनि हुने गरेको कुरा एक जना सहभागीले बताए । यसले त्यहाँ रहने नेपालीहरुको अटुट देशभक्तिलाई दर्शाउँछ । यो अत्यन्त सराहनीय पक्ष हो ।
यस अनुभूति रचनाको अन्तिम तिर आइपुग्दा म अस्ट्रेलिया निवासी नेपालीहरुलाई एकचोटी निम्न प्रश्नहरुमा घोत्लिन अनुरोध गर्न चाहन्छु । के नेपालमा अस्ट्रेलियामा भन्दा प्राकृतिक सम्पदा र स्रोत साधनको कमी भएर नै हो त नेपाली युवाहरु जीविकोपार्जनका लागि अस्ट्रेलिया धाउनु परेको ? के नेपालीहरुमा शिप र जाँगर नभएर नै हो त हाम्रो देश पछाडि परेको ? मलाई लाग्छ यी प्रश्नमा तपाईहरु सबैको जवाफ होइन नै भन्ने आउँछ । र सत्य पनि त्यही नै हो । त्यसो हो भने यसको कारण के हो त ? हामी सबैले यसको जवाफ खोज्नु पर्दछ ।
बेलायती शाषकहरुले सन् १७८८ मा अस्ट्रेलिया माथि अतिक्रमण गरे । तिनले त्यहाँका आदिवासी जनताले खनजोत गर्दै आएको जमिन कब्जा गरी निर्वाहमूखी अर्थतन्त्रको अन्त्य गरे र देशले पुँजीवादी उत्पादन प्रणालीमा फडका मार्‍यो । फलत: अस्ट्रेलियामा पुँजीवादी क्रान्ति सम्पन्न भयो, उत्पादक शक्तिको विकास भयो र रोजगारीका प्रचुर अवसरहरु खुले । परिणामस्वरुप अस्ट्रेलिया समृद्धिको दिशामा अगाडि बढ्यो र अहिले हाम्रो जस्तो उत्पीडित देशका लागि एउटा श्रम गन्तव्य बनेको छ ।
हाम्रो देश साम्राज्यवादबाट उत्पीडित रहिआएको छ र आजसम्म पनि सामन्तवाद जीवितै छ । २००७ सालदेखि यता धेरै पटक राजनीतिक व्यवस्था परिवर्तन हुँदै आए पनि राजनीतिक सत्ता परिवर्तन भएको छैन, राणाकालीन सत्ताको संरचना आजसम्म पनि यथावत छ । साम्राज्यवाद र सामन्तवादसँग नेकपा (माओवादी) को मूल नेतृत्वले आत्मसमर्पण गरेका कारण दश वर्षको जनयुद्ध बिना उपलब्धि टुङ्गियो । अहिलेसम्म नेपाल अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थाबाट मुक्त भएको छैन । पुँजीको केही विकास भए पनि त्यो दलाल तथा नोकरशाही पुँजी हो । यस प्रकारको पुँजीले सत्ताको आडमा सीमित व्यक्तिहरु मात्र धनी हुन्छन् तर राष्ट्र झन–झन गरिब हुँदै जान्छ । नेपालमा भएको यही हो । राष्ट्रिय पुँजीको विकास बिना देशको समृद्धि संभव छैन । त्यसका लागि पुँजीवादी जनवादी क्रान्ति अनिवार्य छ । देशमा आर्थिक विकास नहुनु र रोजगारीको ढोका नखुल्नुको मुल कारण यही हो ।
यहीँनेर बझ्नुपर्ने के हो भने आजको साम्राज्यवादी युगमा शान्तिपूर्ण विधिबाट नेपालमा त्यस प्रकारको पुँजीवादी क्रान्ति हुन सक्दैन । संसदवादी पार्टीका नेताहरु वैदेशिक शक्ति केन्द्रका दलाल बनिसकेका छन् र संसदीय निर्वाचन भनेको ती शक्ति केन्द्रले आफ्ना भरपर्दा दलाल छान्ने प्रक्रिया हो । अर्काेकुरा, उत्पीडित देशका पुँजीपति वर्ग पनि साम्राज्यवादका दलाल बनिसकेका हुनाले उनीहरु साम्राज्यवादको विरुद्ध जान सक्दैनन् । जति चर्कोगरी समृद्धि र देशभक्तिका कुरा गरे पनि चीन र भारत जस्ता विशाल अर्थतन्त्रसँग नेपाली अर्थतन्त्रले प्रतिस्पर्धा गर्न सक्दैन र विदेशी बजारको एकाधिकार नरोकेसम्म देशमा राष्ट्रिय पुँजीको विकास संभव छैन ।
यसरी वर्तमान साम्राज्यवादी युगमा कुनै पनि उत्पीडित देशको राष्ट्रिय पुँजीको विकास साम्राज्यवाद तथा सामन्तवाद विरोधी विचारधारा माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशन र सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व तथा आम उत्पीडित जनताको अधिनायकत्वमा व्यक्त हुने सङ्घीय जनगणतन्त्रको स्थापना पछि मात्र संभव छ । यस प्रकारको अर्थ–राजनीतिक क्रान्ति शान्तिपूर्ण विधिबाट हुन सक्दैन । यसका लागि सशस्त्र जनविद्रोह आवश्यक हुन्छ । जति तीतो माने पनि सत्य यही हो ।
बेरोजगार नेपाली युवाहरुका लागि वैदेशिक रोजगारी दीर्घकालीन विकल्प होइन । कल्पना गरौं कुनै कारणले वैदेशिक रोजगारीको अवसर बन्द भयो भने नेपालको हालत के होला ? देशको राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाकोे दीर्घकालीन समाधान पुँजीवादी जनवादी क्रान्ति हो, अर्को विकल्प छैन । रोजगारीका लागि केही समय देश छाड्नु परे पनि देशको माया गर्ने हरेक देशभक्त नेपाली कुनै न कुनै तरिकाले राष्ट्र निर्माणको प्रक्रियामा जोडिनु पर्दछ । यो अस्ट्रेलिया लगायत वैदेशिक रोजगारीमा गएका उत्पीडित नेपाली जनताले गम्भीर भएर सोच्नुपर्ने विषय हो ।
कार्तिक ७, २०७९

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर