काठमाडौं । डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा साम्राज्यवाद र फासिवादका विरुद्ध नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार साँझ सम्पन्न भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाहरुमा आबद्ध जनकलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रक्तिम साँस्कृतिक परिवार र सामाना सांस्कृति परिवारका कालाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिएका थिए । लेकै फुल्यो लाली गुराँस, सागर तर्ने, प्रतिबन्ध, सानो सानो, क्रान्ति सम्भव छ लगायत बोलको गीतमा सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य तथा अभिनय प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल कलाकार हिमांशुले पनि नृत्य प्रस्तुत गर्नु भएको थियो भने चर्चित जनकलाकार नारायण शर्माले गीति अभिनय प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी निकट सामना सांस्कृतिक परिवारका जनकलाकारहरुले टुट फुट खण्डित कुरा नगर, निकै नै टाढा, सलाम तिमीलाई र कसले भन्छ लगायत बोलको गीत प्रस्तुत गरेका थिए भने नेकपा (माओवादी) निकट सामनाका कलाकारहरुले सुन वालुवामा, एक जाति, मेचीकाली, जबसम्म लगायतका गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फिलिपिन्स, केन्या, अफगानिस्तान, पाकिस्तान, टर्की, जर्मनी, जापान, जोर्डन, फ्रान्स लगायत साम्राज्यवाद तथा फासिवादका विरुद्ध लडिरहेका विभिन्न कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सकै आयोजनामा काठमाडौंमै शुक्रबार र शनिबार साम्राज्यवाद र फासिवादका विरुद्ध अन्तर्राष्टिय सैद्धान्तिक सेमिनार समेत सम्पन्न भएको थियो । कार्यक्रममा साम्राज्यवाद र फासिवादका विरुद्ध अन्तर्राष्टिय ऐक्यबद्धता जाहेर गरिएको थियो ।



























