नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले मंसिर ४ गतेको आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने भएको छ । बिहीवार बर्दघाट–४ जिमिरेभारमा एक कार्यक्रमको आयोजना गरेर क्रान्तिकारी माओवादीले संसदीय निर्वाचनको औचित्य नभएको बताएको हो ।
निर्वाचन सक्रिय बहिष्कार अभियान उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले संसदीय निर्वाचनले देश र जनतालाई झन् कंगाल बनाउदै लगेको बताउदै चुनाव राष्ट्रघात गर्ने हतियार रहेको बताए । उनीहरुले चुनावबाट जितेकाहरुले संसदबाट एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेको, महंगी , भष्ट्रचारी, कमिशनखोरी जस्ता जनघात गरेको हुदाँ जनताले राष्ट्रघाती जनघातीहरुलाई भोट दिएर उनीहरुको मतियार बन्न नहुने बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने बेला आएको बताउदै यो ब्यवस्था मिटरब्याजी तथा दलाल पुजीपतिवर्गको ब्यवस्था रहेको औल्याउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले गाउँघरमा जनताका दुश्मनहरु पसेको भन्दै यस पटकको चुनावमा उम्मेदवारहरुलाई भोट नभई चोट दिनुपर्ने दावी गर्नुभयो ।
उहाँले मिटरब्याजी र लघुबित्त पीडितहरुको मागलाई राज्यले सम्बोधन गर्न नसके क्रान्तिकारी माओवादीले त्यसको भण्डाफोर गर्ने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले राज्यले नो भोटको प्राबधान नराख्दाँ स्वतन्त्रहरु जन्मिएको बताउदै भोट हाल्ने वा नहाल्ने बिषय ब्यक्तिगत स्वतन्त्रताको बिषय रहेको बताउनुभयो । उहाँले क्रान्तिकारी माओवादी लगायतका चारदलले चुनाव बहिष्कार गर्नु उनीहरुको अधिकार रहेको स्पष्ट पार्नुभयो । पत्रकार पाण्डेले अभिब्यक्ति स्वतन्त्रताको बिरुद्ध राज्य पक्ष लाग्न नहुने समेत बताउदै जनपक्षीय पत्रकारिताको पक्षमा आफूहरु रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मिटर ब्याज ठगी बिरुद्धको संर्घष समितिका सदस्य टिका परियारले मिटर ब्याज पिडितहरुको न्यायको पक्षमा क्रान्तिकारी माओवादी मात्र रहेको बताउनुभयो । कार्यक्रममा लघु बित्त संर्घष समिति बर्दघाट नगर समितिकी संयोजक धनमाया तामाङलगायतको आतिथ्यता रहेको थियो । सो अवसर चुनाव बहिष्कारको आब्हान सहित लघु बित्त एंव मिटरब्याज ठगी बिरुद्ध नाराबाजी गर्दै प्रर्दशन समेत गरिएको थियो ।
कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष चुडामणी भण्डारीको संचालनमा भएको थियो ।