ए हजुर यता सुन्नुस त…..।
यसो फर्केर हेर्छ, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन वेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तारमा चिन्न सक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ ।
मलाई पछिल्तिरबाट अचानक बोलाउने त्यस आकृतिको सबै बुँदा थाहा भइसकेपछि म भन्नथाल्छु, ‘आजभन्दा तीन बर्सअघि मैले तपाईंलाई यही याममा यही मोडमा भेटेको थिएँ, आज अड्डा जाँदैछु, त्यतिखेर पनि तपाईंले यही कोट लगाउनु भएको थियो । सायद मयलपोस सुरूवाल यो होइन, कोट अलिक खुइलिएछ तीन बर्समा त यति खुइलिन्छ नै ।’
त्यसपछि आफूले पनि त्यो साक्षात्कारदेखि आजसम्म त्यही स्वेटर लगाएको त्यही अनुपातमा खुइलिएको कुरालाई मन–मनमा स्वीकार्दै, लुकाउँदै भन्न थाल्छु ‘त्यस समय तपाईंं खाली खुट्टा हुनुहुन्थ्यो र आज चप्पलमा र म त्यस समय चप्पलमा थिएँ र आज यो… अँ… के भन्छ चाइनीज जुत्तामा छु । तपाईंंको अनुहारमा कुनै खास परिवर्तन आएको छैन र तीनै बर्सको अन्तरालमा कुनै खास परिवर्तन आउँदैन पनि । ममा पनि आएको छैन, हामी दुवैजना अलिकति पुरानो छौं बस त्यति हो ।
ऊ अवाक भएर मलाई हेरिरहेको छ र उसको हेराइको भाव यस्तो अर्थात मप्रति उसको उत्सुकता क्रमशः मर्दैछ । अब म आफ्नो संस्मरणको अन्त अन्ततिर आइपुगेको छु, ‘त्यसदिन पनि तपाईंंले ‘ए हजुर यता सुन्नुस् त’ बाट नै आफ्नो सम्बोधन शुरू गर्नु भएको थियो । तपाईंले भन्नु भएका कुराहरू मलाई अक्षरशः थाहा छ । तपाईंंले भन्नु भएको थियो, ‘मेरो नाउँ चन्द्रधर उपाध्याय, घर पूर्व कोशीपारि । शहरतिर यसो सामान किन्न भनी आएको थिएँ, बाटैमा भरिया हरायो हजुर । साथमा दुई चार पैसा सिद्धिहाल्यो । जतासुकै मागु भने पनि यसो हेर्न हुने घरको उपाध्याय बाहुन । हजुरहरू जस्तो भलाद्मीहरूले यसो दुइ–चार रुपियाँ सहयोग गर्नु भयो भने घर फर्कौं भनेको ।’ त्यसपछि अनुहारमा करुणा भाव ल्याएर तपाईंंले भुइँतिर हेर्नु भयो अनि मैले तपाईंंको विवशतालाई मूल्याङ्कन गर्दै खल्तीको झिटी पाँच रुपियाँ दिएको थिए ।’
मेरो संस्मरण सुनिसकेपछि ऊ पहिले जस्तो आँखा झुकाउँदैन वा निमेषभरिलाई आँखा जुधाउँछ र चप्पल लगाएको दाहिने खुट्टा बेसकन बजार्दै भन्छ, ‘तपाईं पनि क्या वाहियात मान्छे रेछ ।’
हामी आफ्नो आफ्नो बाटो लाग्छौं । म सोच्न थाल्छु, यो त्यतिखेर ताजा पेशेवर थियो आज यसलाई काठमाडौंको हावाले जितिसकेछ । यस पेशाबाट कमाएको पैसाले ऊ आफ्नो लाला–बाला पाल्छ कि मद्यपान गर्छ ? यस प्रश्नको भने मसँग उत्तर छैन । उसको पछि जासूस लाग्ने समय पनि मसँग छैन । फेरि यो कति खतरनाक पेशा हो र यसको पछि जासूस लाग्नु आवश्यक छ । पेशा त आजभोलि काठमाडौँमा… कस्ता कस्ता छन् । कोटा, परमीट, पासपोर्ट, लेटरबक्स, टेलिफोन, नागरिक प्रमाण–पत्र अनि अरू खतरनाक पेशाहरू, अरू नसोचौ अहिले मेरो पनि एउटा पेशा छ अर्थात म छु ममाथि अर्को छ, त्यसमाथि अर्को त्यस्तै त्यस्तै विगत तीन बर्सभरिको मेरो जीवनक्रममा कुनै परिवर्तन आएको छैन । छोरो तीन बर्स पुगेको छ, रोगी छ सधैं पहेंलो र ख्याउटे, स्वास्नी जागीर खान लायक छैन । डेरा जमाना हेरी सस्तै मान्नपर्छ कारण घर थोत्रो छ । घरपति काठमाडौं साविक घरपतिहरू जस्तै कहिलेकाहीँ खुशी पारिदिनु पर्छ, बढ़ी सहिदिनु पर्छ । तलब घर बहाल र रोगी छोरोको जोड़–घटाउको परिणाम मेरो खुइलिएको स्वेटर त्यो पेशेवरको कोट जस्तै ।
प्रायः एक्लै हिँड्छु, बानी भनौं । यसरी एक्लै हिँड्दै कहिलेकाहीँ म सम्भावित तर निकै डरलाग्दा कुराहरू सोच्ने गर्छु । यदि डाक्टरले तेरी छोरीलाई ब्लड क्यान्सर हुन्छ भनी दिए, म रातारात छोरीलाई विदेश पु¥याउन सक्दिनँ, जसरी यहाँका पहुँचवालाहरूले पु¥याउने गर्छन्, जसरी पहुँचवालाहरूले रगत साटेर आफ्ना छोराहरूलाई बचाउने गर्छन् मलाई पनि त्यसरी छोरा बचाउने चाहना हुन्छ । मायाको हिसाब एउटै हो । कहिले सोच्छु, मेरी स्वास्नी दोस्रोपल्ट भारी जिउकी भएकी छे यदि डाक्टरले तेरी स्वास्नीको पाठेघरमा बच्चो अप्ठ्यारो किसिमले बसेको छ यहाँ उपचार हुन सक्दैन अन्त लैजाऊ भनिदिए ? म उसलाई रातारात पु¥याउन सक्दिनँ, जसरी पहुँचवालाहरू सक्छन् । यहाँ पनि माया र चाहनाको हिसाब एउटै हो । म यसरी धेरैपल्ट आतङ्कित भएको छु । मैले जीवनलाई ‘उठ् जोगी फट्कार छाला’को रूपमा लिन सकेको छैन । जीवनप्रति म लबस्तरो हुनै सक्दिन ।
यसरी म मनभित्र थुप्रै शंका–उपशंका पालेर आतङ्कित हुँदै बाँचेको छु । मोडमा आएपछि आज बाध्य भएर म अर्का संसारमा दोहो¥याउन गइरहेछु । संस्मरण कुनै महत्वपूर्ण र सुखदायी पनि छैन । दुई बर्सअघि ठीक यही बाँसघारीनेर साँझ एकजना गरीब पहाडिया जस्तो देखिने मान्छेले अचानक मेरो बाटो छेक्यो र भन्यो, ‘मेरी सुत्केरी स्वास्नी विचेत छे त्यो बागमती पाटीमा, ओढ्ने ओछ्याउने केही छैन, लौन हजुर मर्दै होली मुखमा माड़ हाल्ने पैसा पनि छैन ।’ त्यसपछि ऊ धोत्रे स्वरले रोएको थियो । उसको आँशु सक्कली थियो कि नक्कली के जानु, अति सम्भव ऊ पनि पेशावाल नै थियो । त्यसदिन मेरो खल्तीमात्र खल्ती थियो । कसै छामेदेखि ऊ विसंगत नै हुन्थ्यो होला त्यसै हामीबीच लिनु दिनु केही भएन । विशेष त म उसको नाटकप्रति बढ़ी सचेत पनि थिएँ । यो छोटो संस्मरण यहीं टुगिन्छ ।
अब मेरो अड्डा आइपुगिसकेको छ । यो अड्डा मेरो परिभाषामा म जस्ता मान्छेका भावनाहरूको वधशाला हो । नभए पनि समय बिताउँदै बूढो हुँदै जाने यन्त्रशाला हो । यहाँ कुर्सीहरूको आफ्नो आफ्नो तह छ, अरू ठाउँ जस्तै र… मेरो पनि एउटा निश्चित कुर्सी छ दर्ता फाँटमा घुम्ने होइन भाँचिने सम्भावना भएको । कुनै समय म अलिक दुब्लाएको बेला म यस कुर्सीमाथि बसेर शारीरिक यातना खप्छु, जुन यातनालाई मेरो कामको व्यस्तताले एकरती पनि भाँड्न सकेको हुँदैन ।
अति नीरस, एकरस काम हो यो । हात बसिसकेपछि गाह्रो भने छैन । यो विभाग नै यस्तो, यहाँ कुर्सीमा बसिसकेपछि आफूलाई प्राकृतिक आवश्यकता नपरेसम्म उठ्न पाउँदैन । साथीको घडीमा हेर्छु साढ़े दश भइसकेछ । मेरो सामुन्ने फेरि उही अनुहार देखापर्छ । हो तीन दिनअघि त्यो यही नीलो ट्र्याक सुटमा आएको थियो र हातमा याक चुरोटको बट्टा यसरी नै समातेको थियो ।
अनावश्यक आत्मीयता देखाउँदै ऊ भन्छ, ‘अस्तिको काम भइसक्यो ?’
‘अस्तिको काम त अस्ति नै भइसक्यो’
‘यो आज फेरि दर्ता गरिदिनुस् है’
‘हवस’
‘यहाँबाट यो फाइल कहाँ जान्छ ?’.
उसलाई मन मनमा खप्पीस नभइसकेको मान्छे ठान्दै म जवाफ दिन्छु, ‘उत्ता’ ।
मैले सङ्केत गरेको देब्रेतिरको कोठा हेर्दै ऊ सोध्छ, ‘त्यसपछि ?’
म फेरि आफ्नो शिरमाथि सङ्केत गर्दै भन्छु, ‘माथि’
‘त्यो कागत त्यहाँ पुग्नलाई कति लाग्छ ?’
मलाई आफैभित्र कता कता केही अस्तव्यस्त हुँदैछ जस्तो लाग्छ । त्यसैले केही झर्को मानेर भनिदिन्छु, ‘घटीमा छ महिना’ ।
तीन शब्दको मेरो प्रत्युत्तरले उसलाई निकै अत्याएछ क्यारे । ऊ अचानक त्यस्तो काममा हाँस्नपर्ने प्रचलित हाँसो हाँस्दै भन्छ, ‘होइन अलिक चाँडो गरिदिनोस् न धन्दा किन मान्नुहुन्छ, तपाईंं हाम्रो छँदैछ नि ।’
अब म दर्ता फाँटको कुर्सीवाल विशुद्ध मान्छे भएर आफैबाट बाहिर निस्कन्छु र भनौँ एक किसिमले विस्फोट नै भइदिन्छु, ‘तपाईं हाम्रो छँदैछ नि, के छ तपाईंं हाम्रो ? खोई के छ ? त्यो वाक्य यहाँ प्रयोग हुँदैन ज्यू, उता हुन्छ, माथि हुन्छ, यहाँ हुँदैन । नयाँ मान्छे जस्तो लाग्नु हुन्छ नि ।’
मेरो पड़्काइले एकछिन त उसलाई विस्मित पार्छ । त्यसपछि मलाई केही थाहा हुँदैन । अघि निस्केको विशुद्ध मान्छे म फेरि दर्तावालको खोलभित्र पसिसकेको हुन्छु समय बित्छ थाहै नपाई, आखिर चारै बज्नु न हो । वधशाला बाहिर निस्केपछि यसो खल्ती छाम्छु र शंका उपशंकाहरूले ग्रस्त हुँदै एकपल्ट घर सम्झन्छु । छोरालाई बदाम लैजाऊँ र रायोको साग… ।
ठीक त्यति नै खेर पेटीमा उभिएको एक जोड़ा युवकलाई म गम्भीर कुराकानी गरिरहेको सुन्छु । मेरो कान त्यतै एकाग्र हुन्छ । सामान्य परिस्थितिमा दुवैजना एकसाथ त बोल्दैनन् त्यसैले एकजना, जो दुईमध्ये बढ़ी व्यक्तित्वशाली देखिन्छ बोलिरहेको छ । ‘कुनै बस कम्पनीको मालिक चिन्नु भएको छ ?’
‘छैन’
‘कुनै स्टाफ ?’
‘अहँ’
‘कुनै बस ड्राइभर पनि ?’
‘ड्राइभर त खोजे चिनिएला’
त्यसो भए तपाईंं यसो गर्नुस्, बस पार्क जानुस् टिकटको दलाली गर्नुस् । केही गर्नु पर्दैन, टेक्निक ड्राइभर मार्फत सिकिहाल्नुहुन्छ । दिनको केही नभए पनि तीस रुपियाँ त कमाउन सक्नुहुन्छ ।
सुन्ने युवक केही सोचेर जुत्ताको नकले भुइँ कोट्याउँछ । बिना कुनै सार्थकताले प्रेरित म त्यो बोल्ने युवकसँग आफूलाई दाँज्न खोज्छु, दाँज्नै नपर्ने तर दाँज्छु । पहिरन, हावभावको बोलीचालीको छाँट केहीको पनि हामी दुइबीच सामञ्जस्य छैन, कारण म निरपेक्ष गरीबीको रेखामुनि परेको मान्छे हुँ ममा त्यस्तो व्यक्तित्व हुनै सक्दैन । तथापि म आज आफ्नो मानिसकतामा दश प्रतिशत आश्वस्त छु । साग र बदाम बोकेर फर्कन लाग्दा मलाई एउटा युवक आकृतिको सम्झना आउँछ, जो जीन बर्सदेखि बेकार छ, ठाउँ–ठाउँ जानु र काम खोज्नु नै उसको पेशा भइसकेको छ । हप्ताको एकपल्ट ऊ मकहाँ आउने गर्छ र भन्छ, ‘लौ न मलाई पनि तान्नुस् न तपाईंंको शाखातिर ।
मेरो शक्तिहीनताप्रति अचेत छैन ऊ, तथापि ऊ मलाई झिज्याउँछ । उसको आकृतिको सम्झना नै आजभोलि मलाई एउटा थप मानसिक पीड़ा भएको छ ।
घरमा पुगेर चिया दिइसकेपछि परिचित पाराले ढोका उघ्रन्छ र परिचित आवाज आउँछ, ‘आइपुग्नु भो दाइ ?’ म स्थिति सृजना गर्छु आफूलाई त्यस विशिष्ट युवकको नक्कल उतार्न तयार पार्छु, मलाई थाहा छ म गरीबको व्यक्तित्व कुनै बिन्दुमा पनि त्यस युवकको व्यक्तित्वसँग मेल खाँदैन तथापि सोच्छु, नक्कलसम्मै न हो कोशिश गरौं ।
एकछिन सोचे जस्तो गरी म भन्छु, ‘कुनै बस कम्पनीको मालिक चिन्नु भएको छ?’
‘छैन’
‘कुनै स्टाफ ?’
‘अहँ’
‘कुनै बस ड्राइभर पनि ?’
‘ड्राइभर भने… यसो हेरौँ’
‘त्यसो भए तपाईं यसो गर्नुस्, बस पार्क जानुस् टिकटको दलाली गर्नुस् । केही गर्नु पर्दैन ड्राइभर मार्फत् सिकिहाल्नु हुन्छ । केही नभए पनि दिनको तीस रुपियाँ त कमाउन सक्नुहुन्छ ।’
कुन्नि के सोचेर हो ऊ एकछिन घोप्टो प¥यो । मैले कसलाई कसलाई आश्वस्त पारें यस प्रश्नको अघि म निर्वाक छु । म एकाएक सोच्न पुग्छु । म जस्तो निरपेक्ष गरीबीको रेखामुनि परेको व्यक्तित्वहीन वधशाला खप्ने मान्छे यहाँ कति छन् ? एकपल्ट कतारमा उभिन पाए हुने ।