खुट्टाहरू

खुट्टाहरू

ए ! खुट्टाहरू हो !
शिखर चढ्न जति सक्छौ, दौड
बाजी मार्न जति सक्छौ, कुद
भूपी शेरचनले भने जस्तै
एक दिन जीतको टीका थाप्ने त निधारले नै हो
एक दिन खुशीका माला पहिरिने त गलाले नै हो
फेँद छाडेर दौडिरहेका
ए ! खुट्टाहरू हो,
सिङ्गो शरीरको निधार र गला बोकेर
तिमीहरूले टेक्ने स्थान त उही भुईं न हो ।

थाहा छ, पृथ्वीको यो गोलाद्र्धमा
वल्लो कुनादेखि पल्लो कुनासम्म
नानाथरिका जिजिविषाहरू बोकेर
गन्तब्यसम्म पुग्ने खुट्टाका पाइतलाहरू नै हुन्
थाहा छ, समुन्द्रको सतहदेखि हिमालका चुचुरासम्म
अनगिन्ति सपना लिएर
अबिराम हिँडिरहने पनि
यही खुट्टाका पाइतला नै हुन्
अन्तिम सत्य यही हुन्छ,
कि हिमालझैँ उभिएर
जब चुचुरोमा अभिमान मुस्कुराउँछ शीरले
सँधै घोप्टो परेर पाइतलाले जमिनमा धसिनु पर्छ
बकमबेलीझैँ मुस्कुराएर
जब गन्तब्यमा जिजिबिषाहरू फक्रिन्छन्, ढकमक
प्रतिष्ठा र इज्जतले चौडा भएको छातीलाई बोकेर
सँधै खुट्टाको पाइतलाले जमिनलाई चुमिराख्नु पर्छ ।

कहिलेकाहीँ खुट्टाहरू
निधार बन्ने भ्रममा टीकाको सपना देख्छन्
गला बन्ने लोभमा मालाको जपना गर्छन्
ए ! क्रान्तिकारी खुट्टाहरू हो !
जति सपना देख, देख्न पाइन्छ
जति जपना रट, रट्न पाइन्छ
भूपी शेरचनले भने जस्तै
एक दिन जीतको टीका थाप्ने त निधारले नै हो
एक दिन खुशीको माला पहिरिने त गलाले नै हो
फेँद छाडेर दौडिरहेका
ए ! खुट्टाहरू हो !
सिङ्गो शरीरको निधार र गला बोकेर
तिमीहरूले टेक्ने स्थान त उही भुईं न हो ।

ए ! खुट्टाहरु हो !!
रहन्न समय सधै एकनास
कुनै समय त्यस्तो बिहानी खुल्नेछ जब
जहाँ खुट्टाको बलमा उभिएर नै
निधारले टीका लगाएको शाश्वत सत्य खुल्नेछ जहाँ पाइलाको आडमा ठडिएर नै
गलाले माला पहिरिनुको असली शक्ति बुझ्नेछ                  तब भुईंमा झुकेर शिरहरुले खुट्टाहरुलाई ढोग्नेछन् ।