कमरेड संसार, सपना र चार घुम्ती

कमरेड संसार, सपना र चार घुम्ती

संस्मरण

मानिस जन्मको लागि त्यति स्वतन्त्र छैन, जति ऊ मृत्युको लागि स्वतन्त्र छ । कुन भूगोल, कुन वर्ग, कुन जात, कुन समुदाय, कुन धर्म अहँ ! यी केही पनि मानिसले रोजेर प्राप्त गर्न सम्भव छैन । यी सब चिनारी उसले आफ्नो जन्मपछि मात्र प्राप्त गर्दछ । समाजद्वारा हरेक मानिसलाई कुनै न कुनै स्वत्व प्रदान गरिन्छ, जसलाई सामाजिक पहिचान भनिन्छ । सामाजिक पहिचानका दृष्टिले हाम्रो नेपाली समाज अत्यन्त विविधतायुक्त छ । मानिसहरू कोही पहाडे भनेर चिनिन्छन् त कोही मधेसी । कोही जुम्ली भएर चिनिन्छन् त कोही डोटेली । कोही पूर्वे भएर चिनिन्छन् त कोही पश्चिमे । हुने खाने र हुँदा खानेको विभाजन झन् हुने नै भयो । कहीँ नभएको जात्रा हाँडी गाऊँमा भनेझैं पानी चल्ने (कथित गैह« दलित) र नचल्ने (कथित दलित) जातको पहिचान पनि हाम्रै देशमा छ । थारु–मधेसी–जनजाति–खस–ब्राम्हण–नेवारी ईत्यादि दुनियाँ थरिका जात र हिन्दु, मुस्लिम, बौद्ध, इसाई आदि सम्प्रदायमा नेपाली समाज विभक्त छ । यो पहिचान, स्वत्व, चिनारी या अस्तित्व जे भने पनि त्यो सबै कृत्रिम रूपले खडा गरिएको हो र त्यसमा विभेदकारी अर्थसामाजिक प्रणालीले ज्यादा रङ्गरोगन गरेको छ ।

म यहाँ कमरेड संसारको बारेमा लेख्न गैरहेको छु । जाजरकोट जिल्लाको गाऊँले जनजीवनमा एउटा श्रमजीवी, पहाडे, दलित परिवारमा उहाँको जन्म भयो, जुन उहाँको स्वतन्त्रता नभएर एउटा प्राकृतिक संयोग थियो । परम्परागत संस्कारले दिएको उहाँको नाम बिरबहादुर कामी थियो । हिन्दु ब्राम्हणवादी समाजमा जन्म लिएको एउटा दलित बालकले जे–जे भोग्नुपर्ने हुन्छ त्यो सबै उहाँले बेहोर्नुभयो । जतिबेला बिरबहादुर कामी आफ्नो जीवनको किशोर वयमा पाइला टेक्दै हुनुहुन्थ्यो, त्यतिबेला जाजरकोटका कतिपय गाउँहरूमा फरक प्रकारको हलचल आरम्भ भैसकेको थियो । परम्परागत चालचलन भन्दा भिन्न, अझ भन्ने हो भने रुढ परम्पराका बिरूद्ध ती गाउँहरूमा चलिरहेको नयाँ हलचलले सिङ्गो जाजरकोट र उहाँको गाउँ लहँलाई समेत तिब्रतम तरङ्गीत गरिरहेको थियो । जनमोर्चाको नाममा शुरु भएको त्यो हलचल वि.सं. २०५२ फागुन १ सम्म आइपुग्दा माओवादी जनयुद्धमा बदलियो ।

जनयुद्धमा लामबद्ध
जनयुद्धको आरम्भ र विकाससँगै बिरबहादुर युवा अवस्थामा प्रवेश गरिसक्नुभएको थियो । त्यतिबेलासम्मको जीवन भोगाई र अनुभवले उहाँलाई सिकाइसकेको थियो कि नेपाली समाज कति शोषणकारी, रुढिग्रस्त र कुसंस्कारले जकडिएको छ ? उहाँले यो कुरा पनि बुझ्नुभयो कि माओवादी जनयुद्ध शोषण र कुसंस्कारका ती जञ्जिरहरू तोड्ने अचुक मुक्ति अस्त्र हो भन्ने । उमेरको परिपक्वतासँगै उहाँले आफूलाई स्वतन्त्रताको त्यो महासमरमा लामबद्ध गर्नुभयो । वि.सं. २०५६मा उहाँ जनयुद्धको एउटा पूर्णकालिन कार्यकर्ता घोषित हुनुभयो । उहाँको सपनाको संसार बदलियो । जीवनको गोरेटो बदलियो । त्यतिमात्र होईन उहाँको पहिचान र स्वत्व समेत बदलियो । उहाँ अब बिरबहादुर कामी होईन कमरेड संसारसेन पृथक बन्नु भयो ।

कमरेड संसारको जनयुद्धमा आबद्धता रुढिग्रस्त सामाजिक परम्परा बिरूद्धको एक सशक्त बिद्रोह थियो । आजका दिनसम्म पनि हिन्दु वर्णाश्रम सांस्कृतिक प्रणालीको अति प्रभावका कारण नेपाली समाजमा दलित समुदायमाथि चरम ज्यादती व्याप्त छ भने त्यो बेलाको ग्रामिण नेपाली समाज कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । कथित छुत र अछुतको नाममा जाजरकोटका गाऊँ बस्तिहरू पनि ‘हिन्दू उच्च जातीय अहङ्कार’ को ज्यादतीमा दन्दनी जलिरहेका थिए ।

जनयुद्धको प्रभावस्वरूप त्यो बेला जाजरकोटी भूमिमा राज्य आतङ्कको डढेलो पनि व्यापक भएर सल्किरहेको थियो । प्रहरीले ‘किलो शेरा टु’ नामको फासिवादी अभियान चलाइरहेको थियो । दुर्गम गाउँहरूमा भिडन्तको नाममा निहत्था र निर्दोष जनताको हत्या भैरहेको थियो । गाउँमा युवाहरू देखिनै हुँदैन्थ्यो । बूढाबूढी, बच्चा र महिलाहरू समेत सुरक्षित थिएनन् । कमरेड संसारको गाउँ लहँ, यो आतङ्कबाट सबैभन्दा ज्यादा प्रभावित मध्येको एउटा थियो । त्यहाँ काङ्ग्रेसको नेतृत्वमा जनयुद्धका बिरूद्ध खुकुरी दल नामको गुण्डा दल समेत गठन भएको थियो । त्यसको काम प्रहरीलाई माओवादीको सुराक दिने, बाटो देखाउने, माओवादी समर्थक जनतालाई चिनाउने, गाउँमा लुटपाट र ज्यादती गर्ने आदि हुन्थ्यो । त्यो स्थितिलाई मध्यनजर गरेर २०५६ को जेठमा माओवादी जनसेनाको आक्रमणमा लहँ स्थित ईलाका प्रहरी कार्यालय ध्वस्त पारियो । प्रहरी चौकीमा आश्रय लिएर बसेको खकुरी दलको समेतको त्यहाँ पूर्ण नामेट भयो । ती सम्पूर्ण घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहनुभएको कमरेड संसार जनयुद्धको अभियानमा लामबन्दी हुनुभयो, जुन प्रतिक्रियावादी राज्यसत्ताका बिरूद्धको समेत बिद्रोह थियो ।

अन्तरजातीय बिबाह
माओवादी जनयुद्ध एउटा नयाँ समाज र एउटा नयाँ राज्य थियो । जनयुद्धको आफ्नै सांस्कृतिक मूल्य थियो । त्यहाँ कुनै जात थिएन । कुनै वर्ग थिएन । कुनै धर्म थिएन । गरीव र धनिको वर्ग थिएन । महिलाहरू माथिको अन्यायपूर्ण व्यवहार थिएन । मानिसहरू एकअर्काप्रति समर्पित र उत्तिकै जबाफदेही थिए । सुन्दा आनन्दित र आश्चर्यचकित लाग्ने त्यो नवनिर्माण त्यति सजिलै निर्माण भएको थिएन । निकै ठूलो त्याग, बलिदान र समर्पणको मूल्यबाट मात्र त्यो सम्भव भएको थियो । सामन्ती र रुढिवादी संस्कारबाट अपहेलित जनजाति, दलित र महिलाहरू उन्मुक्तिको महाअभियानमा आत्मविश्वास, गौरव र स्वाभिमानका साथ क्रमशः लामबद्ध बन्दै गैरहेका थिए । शोषण र अत्याचारका किल्लाहरू गाऊँ गाऊँ र घर घरबाट भत्किँदै थिए । मानिस, समाज र राज्यमा एउटा भयङ्कर उथलपुथल भैरहेको थियो ।

माओवादी जनयुद्धले अन्तरजातीय बिबाहलाई संस्थागत अविभावकत्व प्रदान ग¥यो । त्यो एउटा अत्यन्त ठूलो सांस्कृतिक क्रान्ति थियो । जनयुद्धकै यात्रामा २०६१ फागुनमा कमरेड संसार र कमरेड प्रतिज्ञा चौलागाईबिच अन्तरजातीय बिबाह सम्पन्न भयो । दलित समुदायको युवकले ब्राह्मण समुदायको युवतीसँग बिबाह गर्नु र त्यसलाई टिकाउनु कठिन मात्र होईन उत्तिकै जोखिमपूर्ण कार्य भए पनि उहाँहरू त्यसमा अडिग रहनुभयो । जनयुद्धको पछिल्लो समयमा वैचारिक स्खलन बढेसँगै सांस्कृतिक स्खलन पनि त्यसको चार दोब्बर बढेर गएको छ । तर, त्यो नै एउटा त्यस्तो जोडी बन्न गयो, जो हर कठिनाईका बाबजुद पनि अबिचलित रहिरह्यो ।

जनमुक्ति सेनाको जिम्मेवारी
युद्ध जीवन आफैमा एउटा कठिनाइको यात्रा हो । त्यसमा पनि सैन्य सङ्गठन युद्धको प्रमुख साधन भएकोले युद्धमा पैदा हुने हर कठिनाईको सामना गर्नु सैन्य सङ्गठनको आधारभूत विशेषता हुन जान्छ । जनयुद्धको महाअभियानमा सिंगो माओवादी कार्यकर्ता र शुभेच्छुक जनसमुदायको अपार योगदान रहेको छ । त्यसको अग्रपङ्क्तिमा रहेको जनमुक्ति सेनाले बलिदान र वीरताका अनुपम कृतिमानहरू कायम गर्नु परेको थियो । माओवादी जनयुद्ध जनमुक्ति सेनाको बलिदान र वीरताको महान्् गाथा हो भन्नु कुनै अत्युक्ति हँुदैन ।

माओवादी पार्टीमा कार्यकर्ताको भूमिका उसको इच्छाभन्दा आवश्यकताद्वारा बढि निर्देशित हुन्थ्यो । फेरि पनि जनमुक्ति सेनाको जिम्मेवारी सबैको इच्छा हुनु सम्भव थिएन । किनकि, जनमुक्ति सेना बलिदानको अग्रभागीय क्षेत्र थियो । जनयुद्धको पछिल्लो चरणमा जनमुक्ति सेनाबाट एउटै लडाइँमा कहिलेकाहीँ दर्जन होइन पचासौं जनाको बलिदान चुक्ता गर्नु परिरहेको थियो । अतः जनमुक्ति सेनाको जिम्मेवारी एउटा कठिन चुनौती समेत थियो । लामो समयसम्म कार्यकर्ताको जिम्मेवारीमा रहेर खटिनु भएको कमरेड संसार वि.सं. २०६२ असोजदेखि जनमुक्ति सेनाको जिम्मेवारीमा स्थानान्तरित हुनुभयो । उहाँले आफ्नो त्यो चुनौतीपूर्ण जिम्मेवारीलाई सहर्ष आत्मसात गर्नुको साथै कुशलतापूर्वक बहन गर्नुभयो । उहाँको त्यो दृढता र कुशलता आन्दोलन भित्रको आत्मसुरक्षावाद माथिको विजय थियो ।

वैदेशिक रोजगारीको यात्रा
वि.सं. २०६३ मङ्सिर ५ गते नेपाल सरकार र माओवादी पार्टीबिच बृहत शान्ति सम्झौता सम्पन्न भयो । त्यो सम्झौता अनुसार जनमुक्ति सेना क्यान्टोनमेन्ट नामको अस्थायी व्यारेकमा बस्नुपर्ने भयो । जनसेनाका प्रत्येक कमाण्डर र सदस्यहरूलाई क्यान्टेनमेन्ट महाभारतको ‘गुप्तवास’ जस्तै हो भनी सिकाईयो । जसरी गुप्तवासको अवधि समाप्त हुनासाथै कौरवहरू पाण्डवहरूको राज्य फिर्ता गर्न होईन बरू थप निहँु झिक्न ‘विराट युद्ध’ लड्न आएका थिए त्यसैगरी संविधानसभाको चुनाव या संविधान लेखन एक नयाँ विराट युद्ध हुने निश्चित छ र त्यो बेला माओवादी पार्टी र जनमुक्ति सेनाले न्याय, समानता र स्वतन्त्रताको अन्तिम युद्ध अवश्यंभावी लड्नु पर्नेछ भन्ने थियो ।

न्याय, समानता र स्वतन्त्रताको प्रतिबद्धता स्वरूप जनमुक्ति सेना क्यान्टोनमेन्टमा थान्को लाग्यो । क्यान्टोनमेन्टका दिनहरू क्रमशः बित्दै गए । महिना होइन, बर्ष बित्दै जान थाले । पार्टी र आन्दोलनभित्र कहीँ कतै पनि जनताको मुक्ति र अधिकारको प्रश्न सेलाउँदै जान थाल्यो । नेताहरू, कमाण्डरहरू निजी जीवनको समृद्धिमा घुँडा धसेर लाग्न थाले । कार्यकर्ता र सेनाको आधारभूत पङ्क्तिमा निराशा र पलायनता शुरु भयो । मुक्ति र स्वतन्त्रताको सपना बिस्तारै धुमिल हँुदै जान थाल्यो । हुँदा हुँदै एउटा त्यस्तो दिन पनि आईपुग्यो जुन दिन पार्टीको आदेशमा प्रत्येक जनमुक्ति सेनाले आफ्नो हातको बन्दुक नेपाली सेनालाई बुझाएर घर फर्कनु प¥यो । १० बर्षको युद्ध यात्रा र ६ बर्षको क्यान्टोनमेन्ट बसाईले खण्डहर भएको घरको निशानी खोज्दै जनसेनाका व्यक्तिहरू घर फर्कन बाध्य भए । त्यतिबेलासम्म समाज पनि पुरानै रुढिवादी ढाँचामा फर्किसकेको थियो । अभाव र अपमानको कुहिरीमण्डलले समाजलाई कालो पर्दा लगाईसकेको थियो ।

सिङ्गो देशलाई मुक्त गर्ने महाअभियानमा लामबद्ध अभियानको एउटा योद्धा जब आफै रोजगारीको लागि देश छोडेर हिड्नु पर्ने स्थितिमा आईपुग्छ भने त्यो भन्दा पिडादायी क्षण अरू के नै पो हुन सक्छ र ? कमरेड संसार र अरू तमाम जनमुक्ति यात्राका योद्धाहरूले बेहोरेको यो तितो यथार्थ नेपाली राजनीतिको इतिहासमा अमिट भएर लेखिएको छ । आफ्नो आर्थिक दूरावस्थालाई व्यवस्थापन गर्न उहाँ वि.सं. २०७२ जेठमा मलेशियाको वैदेशिक रोजगारीमा जानुभयो ।

वैदेशिक रोजगारी प्रत्येक नेपाली युवाले सामना गर्नुपर्ने कठोर नियति हो । एउटा राम्रो घर, बालबच्चाको राम्रो पढाई र स्वास्थ्यको सपना कतिबेला काठको बाकसमा कैद हुन्छ ? त्यसको प्रबाह नगरी अहोरात्र काममा दलिएका नेपाली युवाहरू सयौंको सपना त्यसरी नै अधुरो रहन्छ जसरी कमरेड संसारसेन पृथकको सपना अधुरो रहन गयो । २०७७ को जेठमा उहाँको मलेशियामा निधन भयो ।

कमरेड संसार क्रान्तिप्रति सँधै आशावादी हुनुहुन्थ्यो । युद्धका आँधिमय दिन होउन् या क्यान्टोनमेन्टका पट्यारलाग्दा दिन उहाँ कहिल्यै निराश हुनु भएन । देशमा रहँदाको अवस्थामा होओस् या विदेशमा, उहाँ सदा क्रान्तिको पक्षमा दृढतापूर्वक उभिनुभयो । वास्तविकतालाई तर्कसङ्गत व्यक्त गर्न सक्ने क्षमता उहाँको पहिचान थियो । उहाँका यी गुणहरू हरकोही क्रान्तिकारी व्यक्तिका लागि पथप्रदर्शक हुन् । कमरेड संसारको क्रान्तिकारी सपनाको यात्रा निरन्तर जारी छ । संसदीय दलाल पूँजिवादको जनबिरोधी र देशघाती चेहरा जनताले बुझिसकेका छन् । संसोधनवादको नौटङ्कि एउटा भद्दा प्रहसन बनिसकेको छ । कमरेड संसारको क्रान्तिकारी आदर्श सदा स्मरणीय छ । अत्यन्त अल्पायुमै भएको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै हर घडिमा बलियो भरोसा प्रदान गर्ने उहाँको जीवन सङ्गीनी कमरेड प्रतिज्ञा र सम्पूर्ण परिवारजनमा श्रद्धासुमन व्यक्त गर्दछु ।